Comments Add Comment

शुल्क विवादपछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा

८ मंसिर, काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् ।

तर काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी भने प्रहरीको थुनामा छन् । मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू सोमबार बिहानसम्म छुटेका छैनन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले तीनै जना विद्यार्थीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको जानकारी दिए । राठौरका अनुसार उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

कलेजले थप १८ विद्यार्थीविरुद्ध प्रहरीमा उजुरी दिएको अभिभावकहरूले जानकारी दिएका छन् ।

कसरी भयो विवाद ?

कोरोनाका कारण विद्यार्थीहरूले यसपटक सम्बन्धित विद्यालयमै कक्षा १२ को परीक्षा दिँदैछन् । मोर्गनका विद्यार्थीहरू गत साता प्रवेश पत्र लिन विद्यालय पुगे ।

सम्बन्धित विद्यालय र अभिभावकबीचको विवादको नाममा विद्यार्थीलाई परीक्षा दिने अधिकारबाट बन्चित गर्न नमिल्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको भनाइ छ

तर मोर्गन व्यवस्थापनले शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिन मानेन । त्यसपछि अभिभावक र कलेज व्यवस्थापनबीच छलफल भयो तर सहमति जुटेन ।

महामारीका कारण शुल्क तिर्न नसक्नेहरूलाई परीक्षा दिने व्यवस्था गर्नुपर्ने र ढिलोमा प्रमाणपत्र लिनुअघि नै शुल्क चुक्ता गर्ने अभिभावकको माग थियो । तर तत्काल शुल्क चुक्ता नगरी कुनै पनि हालतमा प्रवेश पत्र नदिने अडानबाट कलेजपछि हटेन ।

अभिभावकहरूले भने कतिपयको तिरिसकेको शुल्क पनि फेरि मागेको, आंशिक परीक्षा दिने विद्यार्थीसँग पनि पैसा मागेको र सेनिटाइजर शुल्क मात्रै प्रतिविद्यार्थी ६ हजार रुपैयाँ मागेपछि विवाद बढेको आरोप लगाएका छन् ।

विवाद बढ्दै जाँदा केही विद्यार्थीले विद्यालय भवनमा ढुंगा हानेको मोर्गन कलेजको आरोप छ । कलेजले उजुरी दिएको नभइ विवाद बढ्दै जाँदा आफैं थाहा पाएर प्रहरी त्यहाँ आएको एक शिक्षकको भनाइ छ । अभिभावकहरूले भने १८ विद्यार्थीविरुद्ध कलेजले किटानी जाहेरी दिएको बताएका छन् ।

‘६० पूर्णाङ्कको १२ हजार’

निजी विद्यालयहरूले सामान्तया प्रवेश पत्र वितरण गर्ने बेलामा सम्पूर्ण शुल्क माग्ने गर्छन् । तर यसपटक महामारीका कारण किस्ताबन्दीमा शुल्क बुझाउन पाउनुपर्ने अभिभावकले माग गरेका थिए ।

तर विवादको मुख्यकारण भने आंशिक परीक्षा दिन लागेका विद्यार्थीको शुल्क भएको एक अभिभावक बताउँछन् । ती अभिभावकका अनुसार आंशिक परीक्षा दिने विद्यार्थीहरूलाई प्रतिविषय कलेजले १२ हजार रुपैयाँ मागेको थियो । ‘विद्यार्थीलाई एक मिनेट पनि नपढाइकन त्यत्रो शुल्क मागेपछि हामीले तिर्न सक्दैनौं भन्यौं,’ ती अभिभावक भन्छन् ।

यसपटक ४० प्रतिशतको मात्रै परीक्षा हुन लागेको हो । बाँकी ४० प्रतिशत कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने व्यवस्था गरिएको छ ।

विद्यार्थी पढ्न नआए पनि विगतमा कक्षा ११ को परीक्षा दिएको र २० प्रतिशत आन्तरिक मूल्यांकनको अंक पठाएबापत हरेक विषयमा १२ हजार रुपैयाँ लिन लागेको मोर्गन कलेजका शिक्षकले जानकारी दिए ।

आंशिकको शुल्क लिन मिल्दैन : बोर्ड

विद्यार्थीले परीक्षा शुल्क आवेदन दिने बेलामै बुझाएको हुन्छ । त्यसबाहेक थप शुल्क लिन नमिल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल आंशिक परीक्षार्थीसँग अतिरिक्त शुल्क लिनु गलत भएको बताउँछन् । ‘पढ्ने बेलाको कुनै शुल्क तिर्न बाँकी छ भने कलेजले माग्नु स्वाभाविक हो,’ उनी भन्छन्, ‘त्यसबाहेक आन्तरिक मुल्यांकन वा अरु बाहनामा शुल्क लिन पाइँदैन ।’

सम्बन्धित विद्यालय र अभिभावकबीचको विवादको नाममा विद्यार्थीलाई परीक्षा दिने अधिकारबाट बन्चित गर्न नमिल्ने उनको भनाइ छ । अर्याल भन्छन्, ‘केही समस्या भए छलफलबाट समाधान गर्न सकिन्छ तर जुनसुकै विद्यार्थीलाई परीक्षाबाट बन्चित गराउन पाइँदैन ।’

प्राथमिकता विद्यार्थीको परीक्षा

मोर्गन कलेज रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसी दुवै पक्षलाई राखेर विवाद समाधान गर्ने प्रयास गरिएको बताउँछन् । विद्यार्थीलाई कुनै पनि हालतमा परीक्षामा बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

अभिभावकहरूले विद्यार्थीलाई निःशर्त रिहा गर्नुपर्ने बताएका छन् । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी गैरकानूनी शुल्क लिएको विवाद आएकाले मोर्गन कलेजको घटनामा सरकारी निकायले छानविन गर्नुपर्ने बताउँछन् ।

‘परीक्षाको मुखमा आएर विद्यार्थीलाई मनोवैज्ञानिक दबाब दिन पाइँदैन,’ भण्डारी भन्छन्, ‘एउटा पनि विद्यार्थी परीक्षाबाट बन्चित भयो भने त्यसको जिम्मेवारी कलेजले लिनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment