Comments Add Comment

ललितानिवास प्रकरण : पूर्वमन्त्री जोशी तारेखमा छुटे

८ मंसिर, काठमाडौं । ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास प्रकरण के हो ?

बालुवाटार, ललिता निवास क्याम्पभित्रको २९९–९–२–० रोपनी सरकारी, सार्वजनिक तथा गुठी समेतका जग्गा भूमाफियाले विभिन्न प्रभावशाली व्यक्तिहरूलाई प्रभावमा पारेर बेचविखन गरेको भन्दै अख्तियारले अदालतमा मुद्दा दर्ता गरेको हो । बकाइदा मुआब्जा दिएर अधिग्रहण गरेको सरकारी जग्गा समेत राजनीतिकर्मी र सरकारी कर्मचारीले मिलोमतो गरेर बेचबिखन गरेको पूर्व समिति शारदाप्रसाद त्रिताल समितिको निचोड थियो ।

समितिको त्यही प्रतिवेदनलाई टेकेर अनुसन्धान बढाउँदा अख्तियारले १७५ जनालाई प्रतिवाद बनाएको हो । जसमा जोशी सहित पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार र डम्बर श्रेष्ठको समेत संलग्नता रहेको अख्तियारको ठहर छ ।

अख्तियारमा प्रमुख आयुक्त रहिसकेका पूर्वसचिव दीप बस्न्यात, पूर्वसचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदी लगायतलाई प्रतिवादी बनाइएको छ ।

अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई भने आफ्नो नाममा रहेको ललिता निवासको जग्गा फिर्ता गर्न तयार रहेको भन्दै मुद्दा चलाउनु नपर्ने अख्तियारको निष्कर्ष थियो । यो जग्गाको विषयमा निर्णय हुँदा प्रधानमन्त्री रहेकाहरूलाई पनि नीतिगत निर्णय भन्दै मुद्दा चलाइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment