Comments Add Comment

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको ‘साइत’

९ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला औपचारिक नेपाल भ्रमण सकेर दिल्ली फर्केको पर्सिपल्ट, आइतबार चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हे काठमाडौं उत्रँदैछन् ।

समाचार स्रोतका अनुसार काठमाडौँंमा उच्चस्तरीय भेटघाटका लागि केही घण्टा खर्चेर उनी बंगलादेश र पाकिस्तानको भ्रमणमा जानेछन् ।

चिनियाँ रक्षामन्त्रीको काठमाडौं भ्रमणको कार्यसूची के हो ? यस विषयमा परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावास अहिलेसम्म मौन छन् । कूटनीतिक मामिलाका जानकारहरुले भने रक्षामन्त्रीको भ्रमणको ‘साइत’ अलि नमिलेको टिप्पणी गर्न थालेका छन् ।

नेपालका तर्फबाट एक वर्ष पहिले तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले दुईपटक र प्रधान सेनापति पूर्णचन्द्र थापाले एकपटक चीनको भ्रमण गरेका थिए । यस दृष्टिकोणबाट हेर्दा चीनको तर्फबाट रक्षामन्त्रीले नेपालको भ्रमण गर्नु सामान्य नियमित भ्रमण हो ।

त्यसमाथि पनि पछिल्लो दशकमा चिनियाँ रक्षामन्त्री र अन्य उच्च अधिकारीहरुले लगातार नेपालको भ्रमण गरिरहेका छन् । तर, पछिल्लो एक महिनाको अवधिमा भारतबाट तीनवटा उच्चस्तरीय भ्रमणहरु भएको पृष्ठभूमिमा चिनियाँ रक्षामन्त्री काठमाडौं आउँदैछन् ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणको ‘टाइमिङ’ भने अलि नमिलेको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् । भारतीय विदेश सचिवको भ्रमणलगत्तै उनी नेपाल भ्रमणमा आउन लागेका छन्, जसले नेपालमा भारत र चीनवीचको हानाथाप परिरहेको हो कि भन्ने सन्देश जाने खतरा छ ।

दुई देशका अधिकारीहरुको भ्रमणको वीचमा किन ग्याप राखिएन भन्ने प्रश्न पनि उठेको छ । र, यो चीनको तर्फबाट नियमित भ्रमण हो भने उनी पहिल्यै किन आएनन् ? र, नेपालले चिनियाँ मन्त्री आउनुभन्दा दुई दिन अघिमात्रै भारतीय विदेशसचिवलाई स्वागत गर्ने तालिका किन बनायो ? यसबारेमा पनि हाम्रो परराष्ट्र मन्त्रालयको कूटनीतिक परिपक्वतामाथि प्रश्न उठेको छ ।

अर्काे विषय, चीनबाट उच्च स्तरको भ्रमण यतिबेला हुन लागेको छ, जतिबेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा छ र चिनियाँ मन्त्री आउने बेलामा सचिवालयको बैठक र रस्साकस्सी जारी छ ।

नेपालका दुई कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा -माओवादी केन्द्र) लाई मिलाएर नेपाल कम्युनिस्ट पार्टी निर्माण गर्न प्रोत्साहन गरेको चीन अहिलेसम्म नेकपा नफुटोस् भन्ने पक्षमा उभिँदै आएको छ । जतिबेला पार्टीभित्र विवाद चर्किन्छ, चिनियाँ राजदूतले नेकपाका शीर्षनेताहरुलाई भेट्ने गरेकी छिन् ।

त्यसैले नेकपा विवाद एकदमै संवेदनशील अवस्थामा पुगेकै अवस्थामा चीनका तर्फबाट उच्च तहको भ्रमण हुनुले दुईपक्षीय कूटनीतिक सम्वन्ध विस्तारसँगै नेपालको आन्तरिक मामिलामा चिनियाँ चासो अतिरिक्त रुपमा बढेको हो कि भन्ने प्रश्न जन्माउने  देखिन्छ ।

अर्काे विषय, पछिल्ला दिनहरुमा विशेष गरी उत्तरी सीमा विवादका कारण काठमाडौंमा चीनको पनि आलोचना भइरहेको छ । सीमा विवादकै विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र काठमाडौंस्थित चिनियाँ दूतावासवीच सवाल-जवाफसमेत भएको अवस्था छ ।

कांग्रेस नेता जीवनबहादुर शाहीले तयार पारेको स्थलगत प्रतिवेदनलाई आधार मान्दै काङ्ग्रेसले हुम्लामा चीनले नेपाली भूभाग मिचेको निष्कर्ष निकालेको छ । तर, नेपाल सरकार र चीन सरकारले यसको खण्डन गर्दै आएका छन् ।

अर्काेतर्फ, भारत र चीनवीच द्वन्द्व चलिरहेको र तत्काल समाधानको उपाय नदेखिएको समयमा चीनका रक्षामन्त्री नेपाल भ्रमणमा आउँदैछन् ।

यी समग्र पक्षहरुलाई हेर्दा चीनका रक्षामन्त्रीको भ्रमण सैन्य भन्दा पनि राजनीतिक नै देखिन्छ ।

यद्यपि रक्षामन्त्रीको भ्रमणमा क्रममा विगतमा चीनले नेपाली सेनालाई विपत् व्यवस्थापन र अन्य क्षेत्रमा दिने सहयोगका सम्बन्धमा कुराकानी हुने स्रोतको भनाइ छ । चिनियाँ रक्षामन्त्री र प्रधान सेनापति पूर्णचन्द्र थापाका वीचमा हुने भेटवार्तामा सैन्य सहयोगका विभिन्न पक्षहरुबारे छलफल हुनेछ ।

परराष्ट्र स्रोतका अनुसार चिनियाँ रक्षामन्त्रीको भ्रमणका बेला सगरमाथाको उचाईका विषयमा पनि कुराकानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment