१० मंसिर, काठमाडौं । एर्लिन हालान्डले दुई गोल गरेपछि जर्मन क्लब बरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह एफको खेलमा क्लब ब्रुगमाथि सहज जित हात पारेको छ । गउराति घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले बेल्जियन क्लब ब्रुगलाई ३-० ले पराजित गरेको हो ।
सिग्नल इडुना पार्कमा भएको खेलमा हालान्डले १८औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा जाडोन सान्चोले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे ।
६०औं मिनेट हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले ३-० को जित हात पारेको हो । हालान्ड च्याम्पियन्स लिगमा सबैभ्नदा छिटो १५ गोल पूरा गर्ने खेलाडी बनेका छन् । उनले १२ खेलमै उक्त उपलब्धी हासिल गरे । जुन यसअघि रड भान निस्टोरलय र रोवर्टो सोल्डाडोले २१ खेलमा पूरा गरेका थिए ।
जितपछि ४ खेलबाट ९ अंक जोडेको समूह एफको शीर्ष स्थानमा कायमै छ र अन्तिम १६ मा पुग्न एक जित आवश्यक छ ।
पराजित ब्रुग भने ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमै यथावत छ ।
यसै समूहको अर्को खेलमा इटालियन क्लब लाजियोले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई ३-१ ले पराजित गरेको छ । लाजियोको लागि सिरो इम्मोबायलले दुई गोल गरे । इम्मोबाइलले खेलको तेस्रो मिनेटमै गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए भने ५५औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरे ।
यस्तै मार्को पारालाले २२औं मिनेटमा लाजियोको लागि गोल गरे । पिटर्सवर्गका लागि अर्टेम ज्युबाले २५औं मिनेटमा एक गोल गरे ।
जितपछि लाजियो ४ खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा छ । १ अंक मात्र रहेको जेनिथ चौथो स्थानमा छ ।
प्रतिक्रिया 4