Comments Add Comment

पोखरामा राजासंस्थाको पक्षमा प्रदर्शन : धेरै राजा पाल्नुपर्‍यो, नेताले चेतेनन् !

१० मंसिर, पोखरा । केही महिनाअघि केही युवाले पोखरा मानवअधिकार चोकमा प्रदर्शन गर्दै भनें, ‘देश संकटमा पर्‍यो । केपी ओली हटाउन पाइँदैन् ।’ कोरोना कहरकैबीच असार १९ गते नेकपाको चरम विवादका कारण पार्टी र सरकार नै संकटमा परेको भन्दै प्रधानमन्त्री शर्मा केपी ओली सरकारको समर्थनमा प्रदर्शन भएको थियो ।

पहिले धेरै कार्यक्रम भइरहने त्यही मानवअधिकार चोकमा कोरोना कहरमा भने प्रधानमन्त्री ओलीको समर्थनमा भएको कार्यक्रमपछि बुधबार अर्काे प्रदर्शन भयो । तर, बुधबारको प्रदर्शन नितान्त फरक थियो । राजसंस्थाको पक्षमा नारा लगाउँदै मानवअधिकार चोकबाट प्रदर्शनकारीले भने, ‘संघीयता चाहिँदैन । राजा आउ, देश बचाउ ।’

नेकपाको विवाद र कोरोना कहरमा सरकारको काम प्रभावकारी नभएकै मौका छोपेर पोखरामा राजसंस्थाको पक्षमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले भनिरहेका थिए, ‘देशमा गणतन्त्र ल्याएको १४ वर्षसम्म पनि नेताले चेतेनन् ।’

अमरसिंह चोकबाट सुरु भएको मोटरसाइकल तथा गाडीको र्‍याली पोखराको विभिन्न ठाउँ परिक्रमा गर्दै चिप्लेढुंगास्थित मानवअधिकार चोक आइपुगेको थियो । र्‍यालीमा सयौं मोटरसाइकल तथा गाडी थिए । कोरोना संक्रमणको प्रवाह नगरी मानवअधिकार चोकमा संघीयता र सरकारको बिरोधमा नारा लागेको थियो ।

गणतन्त्र, संघीयता, धर्मनिपेक्षता खारेज गरेर हिन्दुराज्यसहितको राजसंस्थाको पक्षमा प्रदर्शनकारीले नारा लगाएका छन् । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका तस्वीर टाँसेर युवा र्‍यालीमा निस्किएका थिए ।

सरकार र विभिन्न पार्टीको ध्यानाकर्षण गराउन भन्दै तत्कालीन पश्चिमाञ्चल क्षेत्रबाट मानिसलाई प्रदर्शनकै लाथि पोखरा ल्याइएको हो । हिन्दुराज्य र राजसंस्था चाहनेहरुले यसलार्य आन्दोलनकै रुपमा लिएका छन् ।

‘देश संकटको अवस्थामा छ । अब देशलाई राजसंस्थाले मात्र निकास दिन सक्छ,’ शिवसेना नेपालका अध्यक्ष अनील बस्नेतले र्‍यालीपछि जम्मा भएको भीडलाई सम्बोधन गर्दै भने, ‘यो पार्टी बनाउने, संगठन बनाउने कार्यक्रम होइन । यो नेपाल र नेपाली बनाउने कार्यक्रम हो ।’

बस्नेतले १४ वर्षपद्धि अब यो व्यवस्थाको बिरुद्धमा आन्दोलन सुरु भएको बताए । ‘१४ वर्षपछि नेपाली जनता भ्रमभन्दा माथि उठेको बुझेका छौं । किनकि नेपाली जनता आन्दोलित हुनुभएको छ,’ बस्नेतले भने ।

राजसंस्थाको पक्षमा भएको प्रदर्शनमा अहिलेका पार्टी र सरकारको कामबाट चित्त नबुझेका मान्छेहरु पनि पुगेका थिए । ‘यो प्रदर्शन राजसंस्था चाहानेहरुको मात्रै हो भनेर बुझ्नु हुँदैन,’ तनहुँदेखि प्रदर्शनमा आएका अजय बस्नेतले भने, ‘यो त सरकारको काम र अहिलेको पार्टीप्रतिको बितृष्णा पनि हो ।’

समृद्धिको सपना देखाएर सरकार सत्ता र कुर्चिकै मोहमा रमाइरहेका बेला भएको यो प्रदर्शनले एक पटक दलहरुलाई झस्काउने राप्रपाका नेता हिक्मतजंग  कार्की बताउँछन् । ‘जनता सरकारसँग रुष्ट छन् । गणतन्त्र र संघीयतापछि सुखको आश गरेका जनताले दुखैदुख भोगेका छन् । त्यसैले पनि यो व्यवस्थाप्रति नै मान्छेहरु खुसी छैनन्,’ कार्कीले भने ।

यो आन्दोलन र प्रदर्शनले देशमा राजसंस्था सजिलै फर्किन सम्भव नभए पनि दलहरुले यो व्यवस्थालाई कसरी प्रयोग गरिरहेका झन् र त्यसले कस्तो परिणाम देखाइरहेको छ भन्ने सन्देश भने दिएको ज्ञानेन्द्र कार्कीले बताउँछन् ।

अहिलेको दलले जनताको विश्वास जित्ने गरी नयाँ राजनीतिक कुरा दिन नसकेका कारण पनि यस्ता प्रदर्शनलाई बल पुग्ने पृथ्वीनारायण क्याम्पसका राजनीति शास्त्र अध्यापक दीपक पराजुली बाए ।

‘राजनीतिक समाज पानीजस्तो हुन्छ । २०७२ सालको संविधानमा हाम्रा राजनीतिक ऐजेण्डालाई स्थापित गर्‍यौं । त्यसयता दलसँग नयाँ राजनीक प्रस्ताव भएन । सत्ता पक्षले नयाँ कुरा ल्याउन सकेन । सत्ता पक्ष आफ्नै घर झगडामा रुमलिइरहेका छन् । बगिरहेको पानी अगाडि जान पाएन भने पछाडि फर्किन्छ,’ अध्यापक पराजुलीले भने, ‘राजसंस्थाको पक्षमा लागेको नारालाई पनि त्यही रुपमा हेर्नुपर्छ । यसलाई दलहरुले गम्भीर रुपमा हेर्नुपर्छ ।

अबको बाटो अहिलेका दलले देखाउन र जनतालाई प्रष्टसँग बुझाउन नसकेकै कारण हिजोकै व्यवस्था ठिक थियो भन्ने धेरैलाई लागेको पराजुलीको भनाइ छ ।

दलको आन्तरिक कलह, विवादमै अल्झिरहनु, सरकारले प्रभावकारी काम देखाउन नसक्नु र कमजोर प्रतीपक्षी दल भएकै कारण पनि यो व्यवस्था बिरोधीलाई बल पुगेको विश्लेषकहरु बताउँछन् ।

को हुन प्रदर्शनमा उत्रने ?

राजसंस्थाको पक्षमा पोखरामा जस्तै केही समयअघि बुटवलमा पनि प्रदर्शन भएको थियो । यो सरकारको बिपक्ष र राजसंस्थाको जयजयकार गर्दै पोखरामा निस्किएको सयौंको भीडमा अधिकांश युवा थिए ।

बुधबार प्रदर्शनका लागि शिव सेना नेपालका अध्यक्ष अनील बस्नेत केही दिनअघि देखि नै पोखरा आएर तयारी थालेका थिए । प्रदर्शनका लागि खर्च र अन्य व्वस्थापनको प्रवन्ध उनैका माध्यमबाट भएको हो ।

प्रदर्शनमा अधिकांश शिव सेवा, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध थिए भने कांग्रेस र अन्य दलका पनि हिन्दुराज्य चाहाने मानिसहरु थिए । यो सरकार र नेतृत्वसँग असन्तुष्ट मानिसहरु पनि प्रदर्शन हेर्न पुगेका थिए ।

कास्की, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङलगायतका जिल्लाबाट गाडी र मोटरसाइकलसहित पोखरा बोलाइएको एक सहभागीले बताए ।

र्‍यालीमा प्रयोग भएका मोटरसाइकल, गाडीका निम्ति इन्धन र आते-जाते भनेर केही रकमको पनि व्यवस्था गरिएको उनले बताए । आयोजकले जतिसक्दो धेरै मानिसलाई सडकमा उतारेर राजसंस्थाको पक्षमा जनलहर देखाउन खोजेको हो ।

राजनीतिसँग नजोडिएको नयाँ पुस्तालाई जोड्ने र अहिलेको सरकार, पार्टीभन्दा त राजसंस्था नै ठिक भन्ने बुझाउन पनि यो कार्यक्रम सहयोगी बन्ने आयोजकको दाबी छ ।

तीन तहको सरकारले प्रभावकारी काम गर्न नसक्दा एउटा राजा फालेर देशमा धेरै राजा पाल्नु परेको धेरै जनताले महसुस गर्दै जाने खतरा बढ्दै गएको सुन्दर खनालले बताए । कसैले चाहँदैमा फेरि राजसंस्था आउँदैन भनेर हलका रुपमा नहेर्न दल र सरकारलाई उनको सुझाव छ ।

 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment