Comments Add Comment

पिकअप भ्यान दुर्घटना : दुई जनाको शव भेटियो, एक जनाको खोजी जारी

११ मंसिर, चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको हो । उनीहरुको शव पिकअप भ्यानभित्रै भेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

१५ वर्षीया जिनिसा रोक्काको खोजी जारी छ । जिनिसा बिरामी थिइन् । उनलाई उपचार गर्न भनेर काठमाडौं जाँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशुलीमा नदीमा खसेको थियो ।

पिकअप भ्यानमा रहेका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने पौडिएर बाहिर निस्किएका थिए । उनी घाइते छन् । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

मुकुन्द राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । उनी खतरामुक्त छन् । बेपत्ता भएकी जिनिसा मुकुन्दकी छोरी र मृत फेला परेकी जमुना श्रीमती हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment