Comments Add Comment

कृषि विश्वविद्यालयको वन संकायमा विवाद मिल्यो, धमाधम विद्यार्थी भर्ना

११ मंसिर, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत वन संकाय हेटौंडाको विवाद मिलेपछि विद्यार्थी भर्ना लिन थालिएको छ ।

वन संकायको आंगिक क्याम्पस कटारी र हेटौंडा संकायमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता मिचिएपछि उत्पन्न विवादका कारणले विद्यार्थी भर्ना रोकिएको थियो ।

१३ जना विद्यार्थीले सर्वोच्च अदालतमा दिएको मुद्धा फिर्ता लिन लगाएर सहमति कायम गरी विश्वविद्यालयको प्रचलित नियमअनुसार भर्ना लिन थालेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।

विश्वविद्यालयले हेटौंडामा ८० र कटारीमा ५२ जना विद्यार्थीलाई फरेष्टि विषय पढाउँदै आएको छ । यस्तै, गत बर्ष नै रोकिएको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको प्रवेश परीक्षा यथाशीघ्र सञ्चालन गरेर विद्यार्थी भर्ना लिने प्रक्रिया थालिने उपकुलपति प्रा.डा. रेग्मीले बताए ।

भेटेनरी काउन्सिलले विश्वविद्यालयले मापदण्ड नपुर्‍याएको भन्दै विद्यार्थी भर्ना गर्न अनुमति दिएको थिएन । ‘हामीले काउन्सिलले भने अनुसारकै मापदण्ड पुर्‍याउँदै विद्यार्थी पढाउँदै जाने विषयमा छलफल गरेर अघि बढेका छौं, मापदण्ड पनि पुग्छ, विद्यार्थी भर्ना पनि हुन्छन्’ उपकुलपति रेग्मीले भने ।

आफूहरु विश्वविद्यालयमा रोकिएका र हुन नसकेका काम धमाधम गर्ने र विश्वविद्यालयप्रति आशा र भरोसा जगाउने दबाबमा रहेको रेग्मी बताउँछन् ।

त्यसका लागि विभागीय अध्यक्षहरु रहेको एउटा कमिटी गठन गरिएको छ । सोही कमिटीको सिफारिसका आधारमा थप काम अघि बढाइने उपकुलपति प्रा.डा. रेग्मीले बताए । कोभिडका कारणले भौतिक रुपमा उपस्थित गराएर रोकिएको पढाइ तथा विद्यार्थीहरुको परीक्षा पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सञ्चालन गर्ने तयारी विश्वविद्यालयले थालेको छ ।

बन्द रहेका होस्टल मंसिर १५ देखि खोल्ने तथा मंसिर २३ देखि भौतिक रुपमा विद्यार्थीहरु नै उपस्थित गराएर बीएसी एजी पाँचौं सेमेष्टरको परीक्षा सञ्चालन गरिने उपकुलपति प्रा.डा. रेग्मीले जानकारी दिए ।

अघिल्ला बर्षहरुमा जस्तो परम्परावादी बजेट बनाउँदा पूँजीगत खर्च राम्रोसँग हुन नसकेकोले यसपटक विश्वविद्यालयको सिनेटमा लक्ष्य र कार्यक्रम तोकी त्यसलाई पूरा गर्ने गरी नतिजामूखी बजेट बनाउने तयारी थालिएको उपकुलपति प्रा.डा. रेग्मीले बताए ।

कुन विषयमा कति जनशक्ति उत्पादन गर्ने, कहाँ खपतको अधिक सम्भावना रहन्छ, उत्पादन कार्यसँग जनशक्तिलाई कसरी जोड्ने, तीनै तहका सरकारसँग कसरी समन्वयमा काम गर्ने भन्ने पाँच बर्षे योजना बनाएर अघि बढ्ने उनले बताए ।

विश्वविद्यालयका विभिन्न क्षेत्रलाई चलायमान बनाउन विभिन्न १५ वटा समिति बनाइएको छ ।

आवास व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, फार्म व्यवस्थापन, शैक्षिक पात्रो व्यवस्थापन, सरकारी तथा गैरसरकारी व्यवस्थापकीय परिषद् समन्वय समिति, अतिथि गृह, छात्रावास तथा कक्षाकोठा व्यवस्थापन लगायतका समिति गठन गरिएको विश्वविद्यालयका योजना निर्देशक प्रा.डा. अर्जुन श्रेष्ठले जानकारी दिए । ती समितिलाई २० दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment