Comments Add Comment

काठमाडौं सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत

दोधारा चाँदनीको मास्टर प्लान बन्दै

१२ मंसिर, काठमाडौं । काठमाडौंको चोभारमा बन्दै गरेको सुख्खा बन्दरगाह निर्माणको काम ५५ प्रतिशत सकिएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । यद्यपि आगामी जेठसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको दाबी समितिले गरेको छ ।

कोभिडका बाबजुद पनि आयोजनाको काम तीव्र गतिमा अघि बढेको र ५५ प्रतिशतभन्दा बढी काम भइसकेको नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

आयोजनाको भित्री सडक, कार्यालय भवनलगायत संरचना निर्माण सम्पन्न भएको उनले जानकारी दिए । तोकेकै समयमा निर्माण सम्पन्न गरेर बन्दरगाह सञ्चालनमा ल्याउने उनले बताए । ‘बन्दरगाह निर्माणको काम तीव्र गतिमा अघि बढेको छ, तोकिएकै समयमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने छौं,’ कार्यकारी निर्देशक गजुरेलले भने ।

आयोजनामा पर्ने काठमाडौं–फर्पिङ सडकको नयाँ रुट बनाउने, लोड–अनलोडको संरचना निर्माण गर्ने तथा निर्माण सम्पन्न भएको भित्री संरचनाको अन्तिम काम सक्ने कार्य चलिरहेको पनि गजुरेलले बताए । भौतिक प्रगति चुस्त बनाउन समितिबाट नियमित अनुगमन भइरहेको पनि उनले बताए ।

आयोजना सम्पन्न भए काठमाडौं केन्द्रित व्यापारीहरुले आफ्नो सामान सोझै चोभारस्थित काठमाडौं बन्दरगाहमा ल्याउन सक्छन् । निर्यातजन्य सामग्री अन्य मुलुकमा पठाउन पनि यहीँबाट काम गर्न सक्छन् ।

काठमाडौं केन्द्रित व्यवसायीका लागि चोभारको सुख्खा बन्दरगाह निकै महत्वपूर्ण मानिएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत दुई सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको कामको भइरहेको छ ।

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा आयोजना अघि बढेको हो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । तर वातावरण प्रदुषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । स्थानीयको अवरोध र कोभिडका कारण आयोजनाले १३ महिना अनावश्यक समय गुर्जानु परेको जनाएको छ ।

टिमुरेको प्रगति १० प्रतिशत, दोधारा चाँदनीको मास्टर प्लान बन्दै

यसैबीच चीनले सहयोग स्वरुप निर्माण थालेको टिमुरे सुख्खा बन्दगाहको भौतिक प्रगति १० प्रतिशत भएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

कोरोना र बाढीका कारण आयोजना प्रभावित भए पनि अब छिट्टै गति दिने कार्याकारी निर्देशक गजुरेल बताउँछन् । ‘चिनियाँहरु अहिले कोरोना खोप लगाउन गएका छन्, मुआब्जा र सहजीकरणमा समितिले गर्नुपर्ने काम सकिएको छ, अब थप काम अघि बढ्छ,’ गजुरेलले भने ।

यस्तै उद्योग मन्त्री लेखराज भट्टले गत साता शिलान्यास गरेको सुदूरपश्चिमको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको मास्टर प्लान बनाउन सुरु गरिएको विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment