+
+
Shares

चोभारको निकासमा समस्या आए काठमाडौंमा प्रलय हुनसक्छ, सुरुङको विकल्प सोचौं : मदनकृष्ण श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १२:३९

२८ भदौ, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन्।

चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उनले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न आग्रह गरेका हुन्।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले काठमाडौंमा विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताए।  ‘काठमाडौं उपत्यका जोखिममुक्त छैन, यहाँ ठूलो जनघनत्व छ र धेरै ठाउँबाट पानी आएर अन्ततः चोभारतर्फ निकास हुन्छ,’ श्रेष्ठले भने, ‘चोभारको निकास क्षमता पर्याप्त नभए ठूलो विपद् निम्तिन सक्छ। त्यसैले महानगरपालिकालाई मेरो सुझाव छ– चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे पनि अध्ययन गरौँ।’

चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्ने भन्दै उनले सम्भावित विपद् आउनुअघि नै वैकल्पिक उपाय खोज्नु बुद्धिमानी हुने औंल्याए।

सम्बोधनका क्रममा श्रेष्ठले पछिल्ला बाढीपहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै विश्वव्यापी औद्योगिकीकरणको असर नेपालले भोगिरहेको बताए। सोलुखुम्बुको थामेमा आएको बाढीले बस्ती र होटल बगाएको घटना स्मरण गर्दै उनले हिमताल फुट्ने जोखिमप्रति सतर्क रहनुपर्नेमा जोड दिए। ‘सोलुखुम्बुको थामेमा आएको बाढीले त्यहाँको बस्ती नै बगायो, होटलहरू र मानिसहरूको बाक्लो बस्ती भएको ठाउँ एकैछिनमा तहसनहस भएको दृश्य कल्पना गर्न पनि गाह्रो हुन्छ,’ उनले भने, ‘अत्यधिक औद्योगिकीकरण र वातावरण विनाशको असर अन्ततः नेपालजस्ता देशले पनि भोग्नुपरेको छ। नेपालमा हिमताल फुट्ने जोखिम पनि छ, त्यसैले हामी अहिले नै सतर्क र पूर्वतयारी अवस्थामा रहनुपर्छ।’

भारत, चीन र अमेरिकाजस्ता मुलुकमा बढेको औद्योगिक गतिविधिले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पुर्‍याएको र त्यसको असर नेपालीले भोग्नुपरेको उनको भनाइ थियो। विकास आवश्यक भए पनि त्यो व्यवस्थित र वातावरणमैत्री हुनुपर्नेमा उनले जोड दिए।

श्रेष्ठले कानुनी राज्यको आवश्यकतामा जोड दिँदै कानुनको पालना गराउने क्रममा काठमाडौं महानगर प्रहरीले सही काम गरेको बताए। ‘कानुनी राज्य बन्नुपर्छ र कानुनको पालना हुनुपर्छ। त्यसका लागि यहाँहरूले सही काम गर्नुभएको छ, त्यसमा कुनै पश्चात्ताप गर्नुपर्दैन,’ महानगर प्रहरीको मनोबल बढाउँदै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?