Comments Add Comment

अमेरिकामा टिकटक बिक्रीको समयसीमा डिसेम्बरसम्म लम्बियो

काठमाडौं । चिनियाँ भिडियो शेयरिङ एप टिकटकको अमेरिकास्थित व्यवसाय बिक्रीका लागि पूर्वनिर्धारित समयसीमा फेरि थप भएको छ ।

यसअघि अमेरिका सरकारले टिकटकलाई नोभेम्बर २७ सम्मको समयसीमा दिएकोमा त्यसमा १ हप्ता थप गरेको हो ।

टिकटकको मातृ कम्पनी बाइटडान्सले उक्त समयमा पनि अमेरिकास्थित टिकटकको शाखा बिक्री गर्न नसकेमा लोकप्रिय एप टिकटकले अमेरिकामा प्रतिबन्ध व्यहोर्नुपर्नेछ ।

टिकटकको अमेरिकामा रहेको व्यवसाय बिक्रीका लागि उसको मातृ कम्पनी बाइटडान्स अमेरिकी कम्पनी वालमार्ट र ओरेकलसँग महिनौंदेखि छलफलमा रहेको छ ।

गत अगष्ट महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गरी टिकटकले ९० दिनभित्रमा आफ्नो अमेरिकी व्यवसाय बिक्री गर्नुपर्र्ने र नगरेमा प्रतिबन्ध भोग्नुपर्ने निर्णय गरेका थिए ।

तर यस अवधिमा टिकटकले आफ्नो अमेरिकी व्यवसाय बेच्न सकेको छैन । सोही परिप्रेक्षमा अमेरिकाको वैदेशिक लगानी कमिटीले टिकटक बिक्रीका लागि उसको मातृ कम्पनी बाइटडान्सलाई नोभेम्बर २७ पछि थप १ हप्ता समय उपलब्ध गराउने निर्णय गरेको हो । कम्पनीद्वारा पछिल्लो पटक पेश गरिएको प्रस्तावको समीक्षाका लागि समय लाग्ने भन्दै कमिटीले समयावधि थप गरेको बताइएको छ ।

बाइटडान्स कम्पनीले टिकटकको अमेरिकी व्यवसाय बिक्री सम्बन्धी विभिन्न चारवटा विकल्पसहितको प्रस्ताव सरकारलाई पेश गरेको छ ।

तर प्रस्ताव पेश गरेको दुई महिना भैसक्दा पनि अमेरिकी सरकारबाट कुनै पनि पृष्ठपोषण प्राप्त नभएको गुनासो बाइटडान्सले गर्दै आएको थियो ।

टिकटक लगायतका चिनियाँ कम्पनीहरुमाथि कडा रवैया अपनाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेको र जो बाइडेन निकट भविष्यमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने चरणमा रहेको बेला अमेरिकास्थित टिकटक लगायतका चिनियाँ कम्पनीहरुप्रतिको उनको दृष्टिकोण के रहला ? भन्ने चासो सर्वत्र रहेको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

कृतीको व्यस्तता

Advertisment