Comments Add Comment

पृथ्वीबाट ४०० किलोमिटर पर अन्तरिक्ष स्टेसनमा बस्नेको जीवनशैली

काठमाडौं । मान्छे अन्तरिक्षमा होस् या पृथ्वीमा, जहाँ गए पनि उसको जीवनशैलीमा धेरै बदलाव आउँदैन । अनुसन्धानको लागि पृथ्वीभन्दा ४०० किलोमिटर टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा जाने मान्छेहरूले पनि पृथ्वीमा जस्तै आफ्नो नियमित कर्म गर्नैपर्छ ।

समयमा खाने, समयमा शौच गर्ने, आफ्नो सरसफाइलाई ध्यान दिने जस्ता सबै कर्महरू अन्तरिक्षमा पनि नियमित तालिकाको रुपमा तयार पारिएका हुन्छन् । नासाले तयार पारेको अन्तरिक्ष यात्रीको जीवनशैलीलाई अध्ययन गर्दा उनीहरुको नियमित सरसफाइ, नियमित खानपान र अभ्यास जस्ता कर्महरु पृथ्वीमा जस्तै चलिरहन्छ ।

अन्तरिक्षमा बस्ने मान्छे पनि पृथ्वीका मान्छे जस्तै नियमित नुहाउँछन्, दाँत माझ्छन्, दाह्री खौरिन्छन् र नियमित शौच गर्छन् । बस् त्यहाँ पृथ्वीको गुरुत्वाकर्षण नहुँदा केही काम गर्न कठिन हुन्छ । माइक्रोग्राविटीका कारण अन्तरिक्ष यात्रीहरूले आफ्नो स्वास्थ्यमा भने केही हेरचाह गर्नुपर्ने नासाले जनाएको छ ।

सरसफाइको लागि हरेक अन्तरिक्ष यात्रीहरूसँग एउटा व्यक्तिगत स्वच्छता किट हुन्छ । किटमा व्यक्तिगत स्वच्छताका सामग्रीहरु राखिएको हुन्छ । यी सबै काम अन्तरिक्षमा पनि पृथ्वीमा जस्तै हुने गर्छ । माइक्रोग्राविटीका कारण स्पेस स्टेशनमा रहेका शौचालय पृथ्वीका मानिसहरूले प्रयोग गर्ने शौचालयभन्दा बढी जटिल खालको हुन्छ । अन्तरिक्ष यात्रीहरूले खुट्टाको टेको लगाएर शौचालयको सिटमा आफैंलाई बाँधेर राख्नुपर्छ ।

अन्तरिक्षमा खानपान

अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा अनुसन्धान गर्न जाने मान्छे प्रत्येक ६÷६ महिनामा परिवर्तन हुने गर्छ । ती मान्छेहरुले यात्राको क्रममा आफूलाई खान आवश्यक सबै वस्तुको बन्दोबस्त मिलाएर गएका हुन्छन् । जसरी एउटा साताव्यापी यात्रामा निस्कँदा हामीले पूरै यात्राभरिको लागि बन्दोबस्ती मिलाएर हिँड्छौं त्यसैगरी अन्तरिक्षमा जाँदा पनि पूर्वतयारी गरेर जाने गरिन्छ ।

अन्तरिक्षमा जाने मान्छेले आफू बस्ने समयसम्मको लागि खानाको बन्दोबस्त गरेर गएको हुन्छ । उनीहरुले विभिन्न किसिमका खानेकुरा लैजान्छन् जस्तै फलहरु प्राकृतिक रुपमा नै खान मिल्ने खालका हुन्छन् । अन्य केही खानाको लागि पानी आवश्यक हुन सक्छ । त्यसबाहेक तताएर वा पकाएर खाने खानाको लागि ओभनको व्यवस्था गरिएको हुन्छ ।

अन्तरिक्षमा रेफ्रिजरेटर जस्ता उपकरण लैजाने गरिँदैन । त्यसैले खाना सड्नबाट बच्नको लागि खाना भण्डारणको विधि अपनाइएको हुन्छ । नुन र खुर्सानी उपलब्ध हुन्छ तर तरल रूपमा मात्र । ढिक्का वा धुलो नुन खुर्सानी लैजाँदा त्यसले विभिन्न उपकरण र यात्रीको स्वास्थ्यमा असर पार्ने सम्भावना हुने भएकोले यस्तो गरिएको बताइन्छ ।

अन्तरिक्ष यात्रीहरू दिनको तीन पटक खाना खान्छन् । बिहानको खाजा, खाना र बेलुकाको खाना । अन्तरिक्ष यात्रीहरूको लागि आवश्यक क्यालोरी मान्छेको शारीरिक बनावट अनुसार भिन्दाभिन्दै हुन्छ । एक अन्तरिक्ष यात्रीको खानामा फलहरु, बदाम, बटर, कुखुराको मासु, समुद्री खाना, क्यान्डी आदिलाई समेट्न सकिन्छ ।

अन्तरिक्ष यात्रीको फुर्सद व्यवस्थापन

अन्तरिक्ष यात्रीहरुले पनि निश्चित कामका अलावा पनि विश्राम गर्ने समय पनि छुट्याइएको हुन्छ । उनीहरुले पृथ्वीबाट उँड्ने बेलामा नै तनाव व्यवस्थापनको लागि रमाइलो गर्ने समय छुट्याएका हुन्छन् ।

अन्तरिक्ष यात्रीहरुले फुर्सदको समयमा झ्यालबाट बाहिर पृथ्वीले गरिरहेको परिक्रमाको दृश्यलाई हेर्ने गर्छन् । स्पेस स्टेशनमा पनि सप्ताहन्तमा छुट्टी हुने नासाले जनाएको छ । सप्ताहन्तमा त्यहाँ जाने मान्छेहरुले पनि फिल्महरू हेर्ने, संगीत प्ले गर्ने, पुस्तकहरू पढ्ने जस्ता काम गर्ने गर्छन् ।

अन्तरिक्षमा व्यायाम

अन्तरिक्षमा जानेहरूले व्यायामलाई पनि महत्व दिएका हुन्छन् । स्टेसनमा रहेका अन्तरिक्ष यात्रीहरूले हड्डी र मांसपेशीको समस्याबाट बच्नको लागि दैनिक व्यायाम गर्ने गर्छन्। औसतमा अन्तरिक्ष यात्रीहरु दिनको दुई घण्टा व्यायाम गर्छन् । तिनीहरूले प्रयोग गर्ने उपकरणहरू पृथ्वीमा प्रयोग गर्नेभन्दा फरक हुन्छ ।

पृथ्वीमा २० केजीको सामान उठाउन जति मुस्किल हुन्छ गुरुत्वाकर्षणका कारण त्यही तौल उठाउन अन्तरिक्षमा धेरै सजिलो हुन्छ । यसको मतलब व्यायाम उपकरणहरू अन्तरिक्षमा प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको हुन्छ ।

नासाको वेभसाइटमा उल्लेखित विवरणको सहयोगमा तयार पारिएको 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment