+
+
Shares

भारतले अन्तरिक्षमा पठायो साढे ४ हजार किलोको सञ्चार स्याटेलाइट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते २१:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले सञ्चार उपग्रह सीएमएस–०३ सफलतापूर्वक प्रक्षेपण गरेको छ।
  • इसरो अध्यक्ष वी. नारायणनले ‘एलवीएम३–एम५’ ले सीएमएस–०३ उपग्रह निर्धारित कक्षमा स्थापित गरेको जानकारी दिए।
  • सीएमएस–०३ उपग्रहले भारतीय भू–भागसहित समुद्री क्षेत्रमा सेवा दिने र नौ सैनिकको सञ्चार प्रणालीलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

१६ कात्तिक, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले सञ्चार उपग्रह (स्याटेलाइट) सीएमएस–०३ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इसरोका अध्यक्ष वी. नारायणनले ‘एलवीएम३–एम५’ ले सीएमएस–०३ सञ्चार उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको जानकारी दिए ।

उनले भने, ‘म सम्पूर्ण इसरो टीम र सबै सहयोगीलाई उनीहरूको भूमिका तथा योगदानका लागि बधाई दिन्छु । आजको मिसनले भारतका लागि थप एक गौरव लिएर आएको छ ।’

चालु आर्थिक वर्षको अन्त्यसम्म थप सात उपग्रह प्रक्षेपण गरिने उनले बताए । गगनयानको पहिलो मानवरहित मिसन पनि उन्नत तहमा पुगेको जानकारी इसरो अध्यक्ष नारायणनले दिएका छन् ।

इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस–०३ एक मल्टि ब्यान्ड सञ्चार उपग्रह हो । ४ हजार ४०० किलोग्राम वजन भएको यो उपग्रह भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै भारी उपग्रह समेत हो ।

यही क्षमताका कारण यसलाई ‘बाहुबली’ नाम दिइएको छ । रकेट बुस्टर लिफ्ट अफ, लिक्विड प्रोपेलेन्ट कोर र क्रायोजेनिक (सी२५) सहित ती चरणको यो रकेटले इसरोलाई ४ हजार किलोग्रामसम्मको भारी सञ्चार उपग्रहलाई कम लागतमै जीटीओमा प्रक्षेपण गर्नमा पूर्ण आत्मनिर्भर बनाएको छ ।

यो उपग्रह भारतकै सबभन्दा शक्तिशाली रकेट लञ्च भिकल मार्क ३–एम५ (एलवीएम३–एम५) मार्फत् नेपाली समयअनुसार आज साँझ ५:४६ प्रक्षेपण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीएमएस–०३ उपग्रहले भारतीय भू–भागसहित विस्तृत समुद्री क्षेत्रमा सेवा दिनेछ । यो उपग्रहले भारतीय नौ सैनिकको सञ्चार प्रणालीलाई निकै ठूलो सहायता पुर्‍याउने अपेक्षा गरिएको छ । यसले उच्च गतिको ब्याण्डविथ समेत उपलब्ध गराउनेछ, जसले दुर्गम क्षेत्रमा समेत डिजिटल पहुँच स्थापित गर्नेछ । साथै यसले नागरिक संस्था, रणनीतिक योजनामा समेत सघाउ पुग्ने अपेक्षा छ ।

रकेटको किनारमा रहेको दुई एस२०० ले टोस रकेट बुस्टर लिफ्ट अफका लागि आवश्यक थ्रस्ट प्रदान गर्दछ । एस२०० बुस्टरलाई विक्रम साराभाई अन्तरिक्ष केन्द्र तिरुवाअन्तपुरममा विकसित गरिएको हो ।

लिक्विड प्रोपल्शन सिस्टम्स सेन्टरमा डिजाइन र विकसित दुई ‘विकास’ इञ्जिनद्वारा एल११० लिक्विड चरण सञ्चालित हुन्छ ।

इसरोले एलवीएम३–एम५ को पाँचौ उडान हो । यसले चन्द्रमामा चन्द्रयान–३ जस्ता मिसनको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जसकै कारण सन् २०२३ मा भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफलतापूर्वक उपग्रह प्रक्षेपण गर्ने पहिलो देश बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?