Comments Add Comment

अर्थतन्त्रमा कोभिडको प्रभाव न्यूनीकरणबारे संयुक्त संयन्त्र बनाउने तयारी

१४ मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावको न्यूनीकरणमा संयुक्त प्रयास गर्ने उद्देश्यले संयुक्त संयन्त्र बनाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्रीले पछिल्लो समय निजी क्षेत्रका प्रतिनिधिसँग भेट बाक्लो पारेका छन् ।

यस क्रममा सरकार र निजी क्षेत्रका प्रतिनिधि सम्मिलित एक संयुक्त संयन्त्र निर्माण गरी सोही संयन्त्र मार्फत छलफल तिब्र बनाउने तयारी अर्थ मन्त्रालयले गरेको हो । अर्थमन्त्री पौडेलले आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा यस्तो जानकारी गराएका हुन् । भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताए ।

उनले कोभिड १९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रसँग आहृवान गरे । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने बताए ।
उनले नीति-नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको प्रतिक्रिया लिएरै अगाडी बढ्ने बताए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्न निरन्तर दोहोरो संवादमा रहने आश्वासन समेत दिएका हुन् ।

उद्योगी तथा व्यावसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यावसायी निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताए ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले कोभिड-१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment