Comments Add Comment
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण :

नेपाली पक्षसँग भएका कुराबारे यसो भन्छ चिनियाँ रक्षा मन्त्रालय

१५ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको बारेमा एकदमै कम जानकारी दिइएको छ ।

समाचार संकलनमा सरकारी सञ्चारमाध्यमलाई केही पहुँच दिइएको छ । भेटवार्तामा के–के विषयमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मित्रवत कुरा भएको र भेटघाट भएको भन्दा केही उल्लेख छैन ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणमा के–के विषयमा कुराकानी भयो भन्ने विषयमा चाहिँ आइतबार साँझबाट चिनियाँ सञ्चार माध्यममा केही विषय आउन थालेका छन् । अनि सोमबार चिनियाँ रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा रक्षामन्त्री वेई फेङहेको भ्रमणमा भएका कुराकानीको सम्बन्धमा अलिक विस्तृतमा राखेको छ ।

भेटघाटमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले कोभिड–१९ विरुद्धको लडाइँमा सफलता प्राप्त गरेकोमा बधाई दिएको र नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले गरेको दृढ सहयोगप्रति आभार व्यक्त गरेको उल्लेख गरेको छ ।

भण्डारीले नेपाल र चीन बिचको सम्बन्ध एकदमै पुरानो रहेको, नेपाल चीनको बेल्ट एण्ड रोडमा सक्रिय सहभागी भएको र दुवै देशका सेनाबिचको सम्बन्ध अझ प्रगाढ बनाउन र सहकार्य बढाउन चाहेको उल्लेख गरेकी छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षयता दुई देशको बिचमा वृहत र गहिरो कूटनीतिक सम्बन्ध स्थापना गरेको उल्लेख गरेका छन् । ओलीले सन् २०२१ म चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्ने र सीको नेतृत्वमा चीनले अझ विकास गर्ने विश्वास व्यक्त गरेका छन् । ओलीले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले दुई सेनाबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री

चिनियाँ रक्षामन्त्रीले गत वर्ष दुवै देशका राष्ट्रपतिले एकअर्का मुलुकको सफलतापूर्वक भ्रमण गरेको र द्विपक्षीय सम्बन्धलाई रणनीतिक सम्बन्धमा पदोन्नती गर्दै दीर्घकालीन मित्रवत सम्बन्ध कायम राखेर विकास र समृद्धिमा अगाडि बढेको उल्लेख गरेका छन् ।

उनले नेपालले अपनाएको चीन एक नीतिको प्रशंसा गर्दै नेपालको स्वायत्तता, सार्वभौमसत्तालाई पूर्णरुपमा सहयोग गर्ने बताए । उनले चिनियाँ पक्ष नेपाली पक्षसँग निरन्तर सम्पर्कमा रहने र सदाझैं नेपालको सैन्य विकासमा सहयोग गर्ने विचार व्यक्त गर्दै दुवै देशको हित, क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान गर्ने बताए ।

यसैगरी प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा अन्तरराष्ट्रिय र क्षेत्रीय अवस्था र नेपाली सेनासँगको सैन्य सम्बन्धको बारेमा कुराकानी भएको उल्लेख छ ।

यो पनि पढ्नुहोस चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा दुई घण्टा बिताउनुको अर्थ

चिनियाँ रक्षामन्त्री वेई फेङहे एकदिने भ्रमण सकेर आइतबार नै फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment