Comments Add Comment

पोखरामा भेन्टिलेटर जुटाउँदै निजी क्षेत्र

१५ मंसिर, पोखरा । गण्डकी प्रदेश सरकारले ३१ वटा भेन्टिलेटर किन्न भनेर बजेट विनियोजन गर्‍यो । तर, अझै १३ वटामात्र खरिद गरेको छ । गण्डकीमा सरकारी तथा निजीमा गरेर ६२ वटा भेन्टिलेटर रहेको हिसाब सरकारसँग छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड उपचार केन्द्रमा २ वटामात्र भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । सरकारले भेन्टिलेटर नपाएकै कारण कसैले ज्यान गुमाउनु नपर्ने सरकारले एकोहोरो दाबी गरिरहेको छ । तर, भेन्टिलेटर र आईसीयू अभावमै बिरामीले ज्यान गुमाउनु परेको तथ्य सार्वजनिक भइरहेको छ ।

भेन्टिलेटर र आईसीयू नभएको भन्दै अस्पतालले भर्ना नै नलिँदा पछिल्लो समय २ जनाले ज्यान गुमाएपछि सरकारको आलोचना भइरहेको छ । भेन्टिलेटर र आईसीयू नभएको भन्दै अस्पतालले भर्ना नलिँदा स्याङ्जाकी धनमाया गुरुङ र कास्की अन्नपूर्णका राजेश कार्कीले ज्यान गुमाए ।

पोखरामा अब भेन्टिलेटरको अभाव हुन नदिन निजी क्षेत्रले अभियानै थालेको छ । पोखरामा संस्था नै गठन भएर भेन्टिलेटर जुटाउने अभियान निजी क्षेत्रले चलाएको छ ।

नेपाल भेन्टिलेटर सोसाइटी कास्की गठन गरेर भेन्टिलेटर जुटाउने अभियान थालिएको अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

अध्यक्ष पालिखे आफैं पनि कोरोनामुक्त भएका हुन् । सोसाइटीमा अहिले एउटा भेन्टिलेटर र ३ वटा न्याजलफ्लो क्यानेला (शरीरमा पाइप नघुसाइ अक्सिजन दिन मिल्ने मेसिन) उपलब्ध भएको अध्यक्ष पालिखेले बताए ।

भेन्टिलेटर र अक्सिजन आवश्यक पर्ने बिरामीले सामान्य शुल्क तिरेर प्रयोग गर्न सक्ने सोसाइटीका सचिव रामकृष्ण ज्ञवालीले बताए । भेन्टिलेटर प्रयोग गर्ने सरकारी अस्पतालले १ हजार, सामुदायिकले २ हजार र निजी अस्पतालले ३ हजार शुल्क तिर्नुपर्ने छ । क्यानेलाबापत् सरकारी अस्पतालले ३ सय, सामुदायिकले ५ सय र निजीको लागि ७ सय रुपैयाँ शुल्क तोकिएको छ ।

बिरामी अस्पताल जाने तर भेण्टिलेटर नपाउने अवस्था नहोस् भन्ने हेतुले यो अभियान थालिएको सोसाइटीले जनाएको छ । गण्डकीमा २० वटा भेण्टिलेटरको व्यवस्थापन गर्ने सचिव ज्ञवालीले बताए ।

भेण्टिलेटर सोसाइटीले विभिन्न व्यक्तिको सहयोगबाट अभियान थालेको हो । आइतबार मात्रै युवा उद्यमी मञ्च, पोखराले २ लाख, अध्यक्ष विश्वशंकर पालिखेबाट १ लाख, बाराही ग्रुपको तर्फबाट विप्लव पौडेलले १ लाख, गोसली हाउसको तर्फबाट सुनीलकुमार गोसलीले १ लाख, रोटरी इण्टरनेसन डिष्ट्रिक्ट ३९२ का निवर्तमान गभर्नर किरणलाल श्रेष्ठले १ लाखभन्दा बढी रकम दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment