Comments Add Comment

अरुभन्दा किन महत्वपूर्ण बन्नेछ अक्सफोर्डको कोरोना खोप ?

१५ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि खोपको प्रतीक्षा विश्वभर छ ।

खोप आएपछि महामारी विस्तारै नियन्त्रण हुँदै जाने अपेक्षा छ । खोप विकास गरेका केही कम्पनीले खोप प्रभावकारी रहेको र अबको केही समयमा नै विश्व बजारमा आउने दाबी गरेका छन् ।

अहिलेसम्म फाइजर, मोडेर्ना र अक्सफोर्ड युनिभर्सिटीले आफ्नो खोपको अन्तिम चरणको मानव परीक्षणको नतिजा सार्वजनिक गरेका छन् । फाइजर र मोडेर्नाले विकास गरेको खोपले ९५ प्रतिशत संक्रमण रोक्ने दाबी गरिएको छ । तर, अक्सफोर्डले एक्स्ट्राजेनेका कम्पनीसँग मिलेर विकास गरेको खोप भने ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

यद्यपि अक्सफोर्ड युनिभर्सिटीका अनुसार परीक्षणका क्रममा खोपको डोजमा देखिएको समस्याका कारण प्रभावकारिता घटेको हो । डोज मिलाएपछि खोपको प्रभावकारिता ९० प्रतिशत छ । अरु खोपभन्दा कम प्रभावकारी देखिए पनि महामारी नियन्त्रणमा अक्सफोर्ड युनिभर्सिटीको खोप नै महत्वपूर्ण बन्न सक्ने अनुमान छ ।

यो खोपलाई कम्तीमा ६ महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ । यसको मूल्य पनि अरुको तुलनामा सस्तो छ, एक डोजको मूल्य तीनदेखि चार डलरको बीचमा पर्नेछ ।

किन महत्वपूर्ण बन्न सक्छ ?

१. प्रविधि

यो खोपको आवश्यक प्रविधि विश्वभरको महामारी नियन्त्रणमा सहयोग पुग्ने किसिमको छ । यो खोपलाई कम्तीमा ६ महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ ।

तर मोडेर्नाको खोपलाई माइनस २९ डिग्रीको तापक्रम आवश्यक हुन्छ र केवल एक महिनासम्म मात्र राख्न सकिन्छ । बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले बनाएको खोपको लागि भने माइनस ७५ डिग्री सेल्सियस तापक्रम आवश्यक हुन्छ । उक्त तापक्रमबाट बाहिर निकालेको पाँच दिनभित्र यो खोपको प्रयोग गर्नु जरुरी हुन्छ ।

फाइजर र मोडेर्नाको खोप भण्डारणको लागि निकै चिसो तापक्रम आवश्यक हुन्छ, जुन धेरै स्थानमा सम्भव हुँदैन । यद्यपि एक्स्ट्राजेनेकाको खोप भने पुरानै संरचनामा भण्डारण गर्न सकिन्छ ।

त्यस्तै एक्स्ट्राजनेका, जोन्सन एण्ड जोन्सन र रुसी कम्पनीले निर्माण गरेको स्पुतनिक भी खोप एउटै प्रविधिमा आधारित खोप हुन्, जसले मानिसको शरीरले चिन्ने भाइरसमा कोरोना भाइरस राखेर शरीरभित्र पुर्‍याउँछन् र शरीरले त्यसैको आधारमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता बनाउँछ ।

फाइजर र मोडेर्नाको खोपमा भने म्यासेन्जर आरएनए (एमआरएनए)को प्रयोग गरिएको छ, जसले शरीरभित्र गएर शरीरलाई नै कृत्रिम कोरोना भाइरस निर्माण गर्न सहयोग गर्छ र त्यसलाई परास्त गर्दै शरीरले कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास गर्छ । यो नौलो प्रविधि हो र यसरी निर्माण गरिएको प्रतिरोधी क्षमता कति लामो समयसम्म रहन्छ भन्ने विषयमा थाहा पाउन अझै पर्याप्त विवरणहरु उपलब्ध छैन ।

२. क्षमता

क्षमताको आधारमा पनि एक्स्ट्राजेनेकाको खोप महत्वपूर्ण बन्नसक्छ । यो कम्पनीले आगामी वर्ष विश्वभर तीन अर्ब डोज खोप वितरणको लक्ष्य लिएको छ । मोडेर्नाले ५० करोडदेखि एक अर्ब डोजसम्म लक्ष्य लिएको छ भने फाइजरले एक अर्ब ३० करोड डोजको लक्ष्य लिएको छ ।

विश्वभर कोरोना खोपको माग हुनुले विश्वभरका खोप निर्मातालाई अवसर भने प्रशस्त रहेको देखिन्छ । तर, एक्स्ट्राजेनेकाका प्रतिस्पर्धीले आफ्नो क्षमता बढाउन सकेनन् भने एक्स्ट्राजेनेका सबैभन्दा ठूलो कम्पनी बन्ने देखिन्छ ।

३. सहयोगको वाचा

एक्स्ट्राजेनेकाले अहिलेसम्म ३० करोड डोज खोप कोभ्याक्स कार्यक्रमलाई दिने वाचा गरेको छ । यो कार्यक्रममा भारतको सेरम इन्स्टिच्युट र किल एण्ड मेलिण्डा फाउण्डेसनले २० करोड डोज एक्स्ट्राजेनेका वा नोभाभ्याक्सको खोप प्रदान गर्ने अधिकारीहरुले बताएका छन् ।

मोडर्ना र फाइजरले भने यो कार्यक्रमका लागि कुनै वाचा गरेका छैनन् । त्यसैले पनि यो खोप कोभ्याक्स कार्यक्रमबाट धेरैभन्दा धेरै मुलुकमा पुग्नेछ, जसले विश्वभर महामारी अन्त्यको लागि महत्वपूर्ण सहयोग पुग्नेछ ।

४. खोपको मूल्य

एक्स्ट्राजेनेकाले कम्तीमा सन् २०२१ को जुलाइसम्म यो खोपमा कुनै नाफा नलिने घोषणा गरिसकेको छ । विशेषगरी कमजोर आय भएका मुलुकले पनि खरिद गर्न सकून् भनेर यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ ।

एक्स्ट्राजेनेकाको खोप एक डोजको मूल्य तीनदेखि चार डलरको बीचमा पर्नेछ । तर, फाइजरको एक खोपको मूल्य करिब २० डलर पर्नेछ भने मोडेर्नाको खोपको मूल्य ३२ देखि ३७ डलरको बीचमा रहनेछ ।

अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ता अहिलेको महामारी अन्त्य गर्न खोपले अनुमति पाउनासाथ अहिलेको संरचनाअनुसार विश्वभर नै खोपको आपूर्ति गरिने बताएको छ ।

५. विश्वव्यापी योजना

अहिले देखिएको खोप खरिदको सम्झौताहरुले धनी र गरीब मुलुकबीच खोप वितरणमा असमानता देखिने स्पष्ट भएको छ । केहीले धनी मुलुकहरुले पनि गरीब मुलुकहरुलाई पनि खोप सुनिश्चित हुने गरी सहकार्य गर्नुपर्ने बताएका छन् भने केहीले धनी मुलुकहरुले आफ्ना नागरिकहरुका लागि खोप सुनिश्चित गर्नु स्वाभाविक भएको बताएका छन् ।

विश्वव्यापी रुपमा कोरोना नियन्त्रणका लागि सबै देशमा कोरोना खोप पुर्‍याउन कोभ्यास कार्यक्रम ल्याइएको छ । यो कार्यक्रमको लक्ष्य सन् २०२१ को अन्तिमसम्ममा दुई अर्ब डोज खोप वितरण गर्नु हो । यो संख्या कोभ्याक्स कार्यक्रममा सहभागी मुलुकहरुको कुल जनसंख्याको २० प्रतिशत हो ।

तर तेस्रो चरणको परीक्षण सफल भएका फाइजर, मोडेर्ना र फाइजरले भने खोपले सहयोगको वाचा गरेका छैनन् । यसरी हेर्दा कोभ्याक्स हालसम्म एक्स्ट्राजेनेकाको खोपकै भरमा छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment