Comments Add Comment

बहुआयामिक सुविधासहित आयो नयाँ ‘राइड सेयरिङ’ एप

२०७२ सालमा भारतले गरेको नाकाबन्दीताका काठमाडौंमा ‘लिफ्ट कल्चर’ निकै फस्टायो । आफ्नो सवारीसाधनमा अर्को व्यक्तिलाई ‘लिफ्ट’ दिने अवधारणालाई केही संस्थाहरुले ‘राइड सेयरिङ’ का रुपमा व्यवसायिकरण गरी गरे । यसले धेरैलाई रोजगारी पनि दिइरहेको छ ।

अर्कोतर्फ कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा पनि डिजिटल युगको सुरुवात भयो । सरकारले हेल्थ होम सर्भिसलाई मान्यता दिएसँगै अब डिजिटल माध्यमबाट सम्पर्क गरेर घरमै स्वास्थ्य सेवा लिन सकिने भएको छ । यसप्रकार नाकाबन्दीदेखि लकडाउनको समयसम्म जनजिवनका यावत् क्षेत्रमा डिजिटल प्रविधिको विकास भइसकेको छ । तर सुविधा लिनकै लागि कतिवटा एप्लिकेसनको भारी बोक्ने त ?

धेरै एप हुँदा पासवर्ड विर्सने, मोबाइललाई बोझ हुने जस्ता समस्याबाट तपाईं पनि वाक्क बन्नुभएको भए अब यसको समाधान छ । सबै प्रकारका सेवाहरु एउटै छातामुनिबाट प्राप्त गर्न सकिने गरी नयाँ एप सञ्चालनमा आएको हो । ‘एटेण्ड एप‘ नामक सो एपले यातायात व्यवस्था विभाग र स्वास्थ्य सेवा विभागले बनाएको कार्यविधिद्वारा तोकिएका सुविधालाई समेटिएको छ एपका निर्देशक भिमकान्त भण्डारी बताउँछन् ।

के छ नयाँ ?

फुर्सदको समयमा यात्रुलाई गन्तव्यमा पुर्‍याउने काम गर्दा तीनै पक्ष (संस्था, यात्रु र चालक) लाई फाइदा हुने भएपछि ‘राइड सेयरिङ’को अवधारणाले अहिले काठमाडौं उपत्यकामा व्यापकता पाएको छ । कानून बनाउन ढिलासुस्ती, परम्परादेखि चल्दै आएको सिण्डिकेट र केही अत्यावश्यक सेवामा रहेको कमीका कारण बेलावखत व्यवधान आए पनि यसको प्रयोगकर्ताहरुमा कमी आएको छैन ।

तर नयाँ खुल्न लागेको एटेण्ड एपले विवादमा आइरहने विषयलाई समाधान गर्ने भण्डारीको दावी छ । सरकारले तयार पारेको कार्यविधिको अधिनमा रही दुईपांग्रे र चारपांग्रे सवारीको सुविधाका साथै उपत्यकाबाहिर नेपालभरि यस्तो सुविधा लिन सकिने उनी बताउँछन् ।

हाल यस्ता संस्थाबाट प्राप्त सेवामा बुकिङपछि तत्काल यात्रा गर्न सकिने सुविधा मात्रै छ । तर नयाँ एप्लिकेसनले आज बुकिङ गरेर धेरै दिनपछि यात्रा गर्न पनि सकिने व्यवस्था गरेको छ । यो एप्लिकेसनले इन्स्योरेन्स सुविधा समेत जोडेको निर्देशक भण्डारी बताउँछन् ।

‘हामीले आफ्ना यात्रुको लागि थर्ड पार्टी इन्स्योरेन्सको व्यवस्था गरेका छौं । दुर्घटना भएर मान्छे घाइते भएमा नेपाल सरकारको नियमानुसार ३ लाख रुपैयाँसम्मको इन्स्योरेन्स सुविधा दिइनेछ,’ उनले भने ।

आपतकालिन बटमको सुविधामा पनि यसमा छ । एप्लिकेसनमा रहेको रातो बटम थिचेपछि प्रहरीको हटलाइन १०० र आफ्नो एक जना निकटस्थलाई म्यासेज जाने सुविधा राखिएको छ । आफू कुनै ठाउँमा दुर्घटना हुँदा त्यहाँबाट उद्दार गर्ने, अन्य समस्या भएमा प्रहरी वा आफन्तसँग गुहार माग्ने जस्ता सुविधा यसमा रहेको भण्डारी बताउँछन् ।

अन्य सुविधाहरु

सो एप्लिकेसनले हाल घरघरमा चिकित्सकको सेवा पुर्‍याउने सुविधा पनि दिने तयारी गरेको छ । उदाहरणको लागि कसैलाई कोरोनाको सम्भावित संक्रमण देखियो र उसले बाहिर निस्कन नसकेको वा झण्झट मानेको खण्डमा उसलाई घरमै पुगेर पीसीआर टेस्ट गरिन्छ ।

राइड सेयरिङ जस्तै गरी एम्बुलेन्स सेवा समेत प्रदान गर्न लागिएको भण्डारीले जानकारी दिए । यो सेवा अनुसार आफूलाई चाहिएको समयमा नजिकै खाली रहेको एम्बुलेन्सबाट सेवा लिन सकिने छ ।

यसबाहेक यही एपबाट औषधि, लत्ताकपडा, फर्निचर आदिलाई समेत जोडेर यस्ता सेवा पनि घरघरमा पुर्‍याउन सकिने छ । एप्लिकेसनमा आफ्ना सेवाग्राहीलाई सबै बैंकको एटीएम नम्बर राखेर त्यहीँबाट भुक्तानी गर्न सक्ने सुविधा पनि राखिएको भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment