Comments Add Comment

कोरोना महामारीपछि सुधारको दिशामा अष्ट्रेलियाको अर्थतन्त्र

१७ मंसिर, काठमाडौं । अष्ट्रेलियाको समग्र अर्थतन्त्रमा सन् २०२० को तेस्रो त्रैमासमा अनुमान गरिएभन्दा धेरैको सुधार देखिएको छ । कोरोना भाइरस (कोभिड-१९) को कारण दुई त्रैमासमा संकुचनमा परेको अर्थतन्त्रमा तेस्रो त्रैमासमा सुधार देखिएको हो ।

सुरुआती नतिजाअनुसार तेस्रो त्रैमासमा अष्ट्रेलियाको अर्थतन्त्र तीन दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसअघि दोस्रो त्रैमासमा अष्ट्रेलियाको आर्थिक संकुचन सात प्रतिशत थियो ।

तेस्रो त्रैमासमा अष्ट्रेलियाको आन्तरिक खपत बढेसँगै अर्थतन्त्रमा पनि त्यसको सकारात्मक असर देखिएको हो । रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलपि लोवले अष्ट्रेलियाले कोरोना महामारी नियन्त्रणमा पाएको सफलताको कारण अन्तिम त्रैमासमा पनि अष्ट्रेलियाको अर्थतन्त्रमा उल्लेख्य आर्थिक सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

यद्यपि अष्ट्रेलियाको अर्थतन्त्रको समस्या भने अझै नसकिएको विश्लेषकहरुले बताएका छन् । विशेषगरी पछिल्लो समय अष्ट्रेलियाको सबैभन्दा धेरै व्यापार हुने मुलुक चीनसँगको बिग्रँदो सम्बन्धको असर पनि अर्थतन्त्रमा पर्न सक्ने उनीहरुको भनाइ छ ।

समग्रमा यस वर्षको तीन त्रैमासको नतिजालाई हेर्ने हो भने पनि अष्ट्रेलियाको अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ८ प्रतिशतको संकुचनमा परेको छ । त्यस्तै अझै अष्ट्रेलियाको बेरोजगारी पनि सात प्रतिशतभन्दा धेरै छ, जुन महामारीभन्दा पहिला पाँच प्रतिशतमा थियो । त्यसैले अझै अष्ट्रेलिया महामारीबाट बाहिर नआइसकेको विश्लेषकहरुले बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment