Comments Add Comment

पाँच कविता संग्रह : पाठकलाई श्रवण मुकारुङको सिफारिस

कवि श्रवण मुकारुङ कविता र गीत लेखनमा लोकप्रिय नाम हो । उनी लोकतन्त्रप्राप्तिपछि सर्वाधिक चर्चामा रहेको कवितासंग्रह ‘बिसे नगर्चीको वयान’का लेखक हुन् ।

मुकारुङ कविता लेख्नेमात्र होइन, नेपाली कवितामाथि सूक्ष्म विश्लेषण गर्न सक्ने अध्ययनशील स्रष्टा हुन् । उनको विश्लेषणबाट आम पाठकलाई नेपाली कविताभित्रको भिन्नता छुट्याउन सहयोग पुग्छ ।

उनले लकडाउनको समयमा प्रत्येक आफूलाई मन परेका एकसय भन्दा बढी नेपाली कविता पढेर सामाजिक सञ्जालमा राखे । त्यसक्रममा उनले युवाकालमा आफूले पढेका सयौं कवितासंग्रह दोहोर्‍याएर पढे । तिनै संग्रहमध्ये आफूलाई जीवनकालमा मन परेका पाँच कवितासंग्रह मुकारुङले पाठकहरूलाई अनलाइनखबरमार्फत सिफारिस गरेका छन् :

१. आमाको सपना : गोपालप्रसाद रिमाल

‘आमाको सपना’ले मानिसलाई सपना देख्न सिकाउँछ । भविष्यप्रति स्वप्नशील बनाउँछ । यो संग्रहका कविता २००७ सातको क्रान्तिसँग बढी जोडिन्छ । सामाजिक न्याय र स्वतन्त्रताको पक्षमा जसरी अमेरिकामा वाल्ट ह्वीटमानलाई सम्मान गरिन्छ, नेपाली कवितामा रिमाललाई त्यस्तै आदर्श कवि मानिन्छ । उनी समाजलाई गति दिने क्रान्ति चेतनाका प्रखर कवि हुन् ।

रिमालले नै नेपाली कवितामा सर्वप्रथम मुक्त छन्द (गद्य शैली)को प्रारम्भ गरे अनि कविताको भाषालाई चमत्कारी बनाए । कवितासँगै व्यक्ति जीवनमा पनि उनी विद्रोही बने । उनका जीवनका चुनिएका कविताहरूको संगालो ‘आमाको सपना’ साझा प्रकाशनबाट प्रकाशित छ ।

२. घुम्ने मेचमाथि अन्धो मान्छे : भूपी शेरचन

जनताका कवि भनेर चिनिएका भूपी शेरचनका कविताले आलोचनात्मक चेत प्रखर बनाउँछ । उनको शक्ति भनेकै व्यंग्य–चेतना हो । नेपाली भाषा र नेपाली जातिको व्यंग्य स्वभावलाई उनले कवितामा टिपेर शिखरमा पुर्याए । बिम्ब–प्रतीक र लयमा अचुक उनका कविताभित्र आम मान्छेकै कथाव्यथा बढी पाइन्छ । मलाई भूपीको राजनीतिक कवितामा ‘हामी’ र दार्शनिक कवितामा ‘मैनबत्तिको शिखा’ हृदस्पर्शी लाग्छ । अन्य कविताहरू पनि मैले दर्जनौं पटक पढेको छु ।

भूपीका यस्तै बहुचर्चित कविता पढ्न ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ संग्रह नै एकमात्र पुस्तक हो । यसमा सुक्तिमय छोटा कवितादेखि लामो आयतनका कविता समेत समेटिएको छ । यो साझा प्रकाशनको सबैभन्दा बढी पुनःप्रकाशन भएको गद्य कवितासंग्रह हो ।

३. हिमचुली रक्तिम छ : मोहन कोइराला

नेपाली कवितामा शिल्पका दृष्टिले नयाँ आयाम दिने कवि हुन्, मोहन कोइराला । उनले चलिरहेको ढर्राभन्दा फरक संरचनामा कविता लेखे । अर्थात्, कविताको अर्को क्षितिजसँग हामीलाई साक्षात्कार गराए । छन्द कविता र लोक लयका कविताको दबदबा रहेको बेला त्यसबाट बाहिर गएर उनले आधुनिक शैलीका प्रयोगवादी गद्य कविता लेखे । गद्य शैलीबाटै कविताको गरिमा शिखरमा पुर्याए । आजीवन गद्य कविताकै साधनामा तल्लीन रहे ।

मोहन कोइरालाको यस्तो प्रयोग पढ्नका लागि ‘हिमचुली रक्तिम छ’ संग्रह सबैभन्दा सान्दर्भीक हुन्छ । सुरुमा यो संग्रह बुझ्न गाह्रो परेपनि गहिरिएर हेर्दा मोहन कोइरालाको काव्यिक सामर्थ्य अतुलनीय लाग्छ । यो संग्रह नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ ।

४. बैरागी काइँलाका कविता : बैरागी काइँला

बैरागी काइँला (तिलविक्रम नेम्बाङ) तेस्रो आयाम साहित्यिक आन्दोलनबाट उदाएका कवि हुन् । उनको कवितामा बौद्धिक विलास बढी पाइन्छ । उनले ग्रीक, अफ्रिकादेखि आफ्नै लिम्बु संस्कृतिबाट समेत मिथक, बिम्ब, प्रतीक ल्याएर कवितामा राख्छन् । यस्ता बिम्ब, प्रतीकले काइँलाको कविता अरूको भन्दा भिन्न र शक्तिशाली बनेको छ । उनका कविता पढ्दा हामीलाई समाजका, संस्कृतिका अझै धेरै किताब पढ्न बाँकी रहेछ भन्ने बोध हुन्छ । थप अध्ययनको भोक जाग्छ अनि विद्रोहको वेग उर्लन्छ ।

‘बैरागी काइँलाका कविता’ सर्वप्रथम २०३० सालमा साझा प्रकाशनबाट प्रकाशित थियो । यही संग्रह नै उनको जीवनको मानक कवितासंग्रह बनेको छ । अघिल्लो वर्ष ‘बैरागी काइँलाका सङ्कलित कविता’ भनेर काइँला दाइले लेख्नुभएका सबै कविता र गीतहरू समेटिएको पुस्तक पनि बजारमा आएको छ ।

५. भोलि बास्ने बिहान : कृष्णभूषण वल

कृष्णभूषण बलका कविता पढ्दा मलाई गीत सुनेजस्तो आनन्द लाग्छ । उनको कवितामा यस्तो संगीत पाइन्छ, जसमा हेलिँदै–हेलिँदै गइन्छ । म शान्त तालमा बहिरहेको डुंगामा सयर गरेजस्तो आन्नद बल दाइका कविता पढ्दा पाउँछु । यसर्थ उनी लय–विधानका विशिष्ट कवि हुन् भन्न कुनै अप्ठेरो हुन्न । लयमात्र होइन, सत्ता र अधिनायकत्वलाई उनको कविताले चुनौति दिन्छ । ‘काठमाडौं एक्लैले काठमाडौं बोक्न सक्दैन’ त्यस्तै एक मास्टरपिस कविता हो, जो यसै संग्रहमा संग्रहीत छ ।

युगको हुंकार बोल्ने कविताकृति ‘भोलि बास्ने बिहान’ साझा प्रकाशनबाट प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment