
१७ मंसिर, गुल्मी । गुल्मीको अर्जैमा ५ बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । मालिका गाउँपालिकाले वडा नम्बर–६ मा निर्माण गरेको कोरोना अस्पतालको पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्ण बिष्टले एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बिष्टले अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएसँगै यस भेगका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने बताए । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीमा बच्न स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्न समेत उनले आग्रह गरे ।
अस्थायी कोरोना अस्पतालमा डक्टर सुवास पन्थीको नेतृत्वमा सेवा दिन सुरु गरिएको गाउँपालिका वडा नम्बर–६ का वडाअध्यक्ष तथा प्रवक्ता शोभाखर गिरीले बताए ।
जिल्लामा कुल कोरोना संक्रमित ८ सय ८० मध्ये ८ सय २ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा हाल ६६ जना मात्रै कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा हालसम्म ५ हजार ६८६ जनाको स्वाब संकलन गरिएको छ । जिल्लामा कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4