Comments Add Comment

सयदिन मास्क लगाइराख्न अमेरिकी नागरिकलाई बाइडनको आग्रह

Photo Credit : REUTERS

१९ मंसिर, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफूले पदभार ग्रहण गरेको एकसय दिनसम्म मास्क लगाइराख्न आफ्ना नागरिकलाई आग्रह गर्ने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मास्क लगाउनु आवश्यक रहेको बाइडनको भनाइ छ । उनले मास्क लगाएर मुख ढाक्नाले कोरोना संक्रमण निकै कम हुने बताए । साथै उनले सरकारी कार्यालयहरुमा पनि मास्क लगाउनुपर्ने नियम ल्याउने बताए ।

सीएनएनसँगको अन्तर्वार्तामा बाइडनले आफूले शपथ ग्रहण गरेको पहिलो दिन आफूले एक सयदिनका लागि अमेरिकी नागरिकहरुलाई मास्क लगाउन आग्रह गर्ने बताएका हुन् । उनले मास्क लगाउनुपर्ने नियम सधैंका लागि नभई केवल एक सयदिनका लागि हुने बताएका छन् । अहिलेसम्म अमेरिकामा एक करोड ४१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने दुई लाख ७६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । उनले सबैले यो नियम पालना गर्ने हो भने कोरोना संक्रमणमा ठूलो कमी आउने विश्वास व्यक्त गरे ।

संवैधानिक जानकारहरुले भने अमेरिकी राष्ट्रपतिसँग सबैलाई मास्क लगाउन नियम जारी गर्ने कुनै अधिकार नभएको बताएका छन् । तर, बाइडनले भने आफू र उपराष्ट्रपति कमला ह्यारिसले मास्क लगाएर सबैलाई मास्क लगाउनका लागि प्रेरित गर्ने बताएका छन् । बाइडनले सरकारी भवनका साथै यातायात क्षेत्रमा पनि मास्क आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टरको रुपमा एन्थोनी फाउचीलाई कायम राख्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment