Comments Add Comment

चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा कम

१९ मंसिर, चितवन । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय भन्दा कम रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मंसिर ११ गते यता सक्रिय संक्रमितको संख्या ५ सयबाट घटेर बिहीबारसम्म ४५८ पुगेको छ । अहिले होम आइसोलेसनमा ४१९, संस्थागत आइसोलेसनमा ३९ जना छन् ।

तीमध्ये भरतपुर महानगरपालिकाभित्रका मात्रै ३७८ जना छन् । रत्ननगर नगरपालिकामा ४०, खैरहनी र माडी नगरपालिकामा समान ६/६, राप्ती नगरपालिकामा ७, कालिका नगरपालिकामा १७, इच्छाकामना गाउँपालिकामा ४ जना सक्रिय संक्रमित छन् ।

जिल्लामा कुल संक्रमितको संख्या ५ हजार ८ सय ५९ पुगेको छ । जसमध्ये ५ हजार ३ सय ६ जना कोरोनामुक्त भइसकेका छन् । संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरमा ४ हजार १ सय ४८ जना संक्रमित भए । सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा ३६ जना भए । जिल्लामा ३ हजार ४ सय ९७ जना पुरुष र २ हजार ३ सय ६१ जना महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चितवनमा कोरोना संक्रमणबाट अहिलसम्म ९६ जनाको मृत्यु भएको छ भने तीमध्ये ५८ जना भरतपुर महानगरभित्रकै छन् । खैरहनीका ९, रत्ननगरका १२, राप्तीका ८, कालिकाका ८ र इच्छाकामना गाउँपालिकाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको माडी नगरपालिकामा हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनुपरेको छैन ।

स्वास्थ्य कार्यालय चितवनले संंक्रमणको इन्फेक्सन अनुपात घटे पनि संक्रमण भने अझै समुदायमा रहेको हुनसक्ने जनाएको छ ।

कार्यालयका प्रमुख दीपकबाबु तिवारीले अब फिल्डमा गएर थप केही परीक्षण गरेपछि यसको यर्थाथ अवस्था थाहा हुने बताए ।

‘कोरोना परीक्षण निशुल्क गर्ने की सःशुल्क गर्ने भन्ने अन्योलका कारण कन्ट्याक ट्रेसिङ बन्द हुँदा परीक्षण अनिवार्य भएन, जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण हुन पाएन,’ तिवारीले भने, ‘अब सरकारीमा निःशुल्क नै परीक्षण गर्ने भएपछि कन्ट्याक ट्रेसिङ सुरु गरेर अहिलेको अवस्था थाहा पाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment