
१९ मंसिर, दमक । झापामा पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिटमा संलग्न मालपोत कार्यालय, दमकका कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने खरिदार इन्द्र राजवंशी छन् ।
पीडित पत्रकारले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय, दमकले उनलाई पक्राउ गरेको हो । पीडित पत्रकार घिमिरेका अनुसार जाहेरी दिइएका मध्ये मुख्य आरोपी समातिएका छन् अन्य व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छैन ।
यसअघि जग्गा रोक्का गर्न जाँदा मालपोतका कर्मचारी राजवंशीले आनाकानी गरेर घुस मागेको खबर आएपछि माउन्टेन टिभी एवं अनुसन्धान अनलाइनमा कार्यरत उनी भिडियो खिच्न पुगेका थिए । त्यसक्रममा ५ हजार रुपैयाँ घुस सेवाग्राहीले राजवंशीलाई बुझाएका थिए । त्यसको भिडियो खिच्दा पत्रकार घिमिरे कुटिएका थिए ।
घिमिरेका अनुसार सुरुमा खरिदार राजवंशीले सेवाग्राहीलाई २० हजार रुपैयाँ मागेका थिए भने अन्त्यमा ५ हजार रुपैयाँमा काम गरिदिने बताएका थिए । भिडियो खिचेको थाहा पाएपछि आत्तिएका राजवंशीले अन्य कर्मचारी र लेखापढी गर्ने व्यवसायीलाई बोलाएर आफूमाथि कुटपिट गरेको घिमिरेले अनलाइनखबरलाई बताए ।
पत्रकार महासंघ झापा शाखाले प्रेस विज्ञप्ति निकाल्दै पत्रकार कुटपिट प्रकरणका दोषीलाई तत्काल कारबाही गर्न माग गरेको थियो ।
प्रतिक्रिया 4