
१८ मंसिर, दमक । झापाका पत्रकार खगेन्द्र घिमिरे समाचार संकलनका लागि मालपोत कार्यालय, दमक जाँदा कुटिएका छन् ।
जग्गा रोक्का गर्न जाँदा मालपोतका खरिदार इन्द्र राजवंशीले आनाकानी गरेर घुस मागेको खबर आएपछि माउन्टेन टिभी एवं अनुसन्धान अनलाइनमा कार्यरत उनी भिडियो खिच्न पुगेका थिए । त्यसक्रममा ५ हजार रुपैयाँ घुस सेवाग्राहीले राजवंशीलाई बुझाएका थिए । त्यसको भिडियो खिच्दा पत्रकार घिमिरे कुटिएका हुन् ।
घिमिरेका अनुसार सुरुमा खरिदार राजवंशीले सेवाग्रहीलाई २० हजार रुपैयाँ मागेका थिए भने अन्त्यमा ५ हजार रुपैयाँमा काम गरिदिने बताएका थिए । भिडियो खिचेको थाहा पाएपछि आत्तिएका राजवंशीले अन्य कर्मचारी र लेखापढी गर्ने व्यवसायीलाई बोलाएर आफूमाथि कुटपिट गरेको घिमिरेले अनलाइनखबरलाई बताए ।
घटनाबारे छानविन गरेर दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय, दमकमा किटानी जाहेरी दिइएको उनको भनाइ छ ।
यसैबीच, पत्रकार महासंघ झापाले प्रेस विज्ञप्ति निकाल्दै पत्रकार कुटपिट प्रकरणका दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ । विज्ञप्तिमा कारबाही प्रक्रियामा प्रहरीले गरेको ढिलासुस्तीप्रति आपत्ति समेत जनाइएको छ ।
पीडित पत्रकार घिमिरेले पनि प्रहरीले जाहेरी उपर अनुसन्धानमा उदासीनता देखाएको बताएका छन् ।
मातपोत कार्यालयले पनि बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकार र सेवाग्राहीसँग माफी मागेको छ । साथै, सत्यतथ्य छानविन गर्न प्रशासनलाई पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया 4