+
+
Shares

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन संशोधनको तयारीमा सरकार

मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गराएको हो ।

रासस रासस
२०८३ असोज २ गते २०:४२

२ असोज, काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थामा संशोधन प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गराएको हो ।

मन्त्रालयबाट अघि बढाइएको उक्त विधेयकलाई २९ भदौको मन्त्रिपरिषद्को बैठकले संसद्मा पेस गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि विधेयक संसद् सचिवालयमा दर्ता गरिएको हो ।

स्वास्थ्य सेवाको नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी प्रवाहका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा आवश्यक रहेको भन्दै मन्त्रालयले विद्यमान कानुनी संरचनालाई समयसापेक्ष बनाउन संशोधन प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मीको पेसागत सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित र सम्मानित कार्य वातावरण सुनिश्चित गर्न आवश्यक कानुनी सुधारलाई अघि बढाएको हो ।

विधेयक संसद्को प्रक्रियामा प्रवेश गरेसँगै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने बाटो खुलेको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्नु स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग प्रत्यक्ष जोडिएको विषय भएको बताइन् ।

‘स्वास्थ्यकर्मी सुरक्षित र सम्मानित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्नु स्वास्थ्य सेवाको गुणस्तर र निरन्तरतासँग प्रत्यक्ष जोडिएको विषय हो,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा बलियो बनाउन आवश्यक कानुनी सुधारलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको छ ।’

मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य कानुनलाई समेत समयसापेक्ष बनाउन तीनवटा संशोधन विधेयक अघि बढाएको जनाएको छ ।

तीमध्ये ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी ऐन’ संशोधनका विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद् सचिवालयमा दर्ता भएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?