News Summary
Generated by OK AI. Editorially reviewed.- गत २४ भदौमा मन्त्रालयमा आगजनी भएपछि स्वास्थ्य मन्त्रालय अहिले तीन फरक-फरक स्थानबाट सञ्चालन भइरहेको छ।
- मन्त्रालयका विभिन्न शाखा छरिएर रहँदा कर्मचारी र सेवाग्राहीले समन्वय तथा प्रशासनिक कामका लागि सास्ती भोगिरहेका छन्।
- सरकारले स्थायी भवनको व्यवस्था गर्न नसक्दा कर्मचारीहरू अस्थायी टिनका संरचना र साँघुरो कोठामा काम गर्न बाध्य छन्।
६ साउन, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रशासन यतिबेला तीन वटा अस्थायी क्याम्पबाट सञ्चालन भइरहेको एउटा अभियान जस्तो देखिन्छ । मन्त्री, सचिव र कर्मचारी तीन फरक-फरक स्थानमा छरिएर बस्दा समन्वय त कता हो कता, ‘लोकेसन ट्र्याक’ गर्नै चुनौती बनेको छ ।
स्वास्थ्य मन्त्री निशा मेहता र उनको सचिवालय अहिले सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एउटा कुनामा आश्रय लिएर काम गरिरहेका छन् ।
उता, स्वास्थ्य सचिव डा. विकास देवकोटा भने सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा नेपाली सेनाको नरसिंह दल गणभित्र खाली जग्गामा बनाइएको टिनको अस्थायी संरचनाबाट मन्त्रालय चलाइरहेका छन् । सचिवसँगै केही महाशाखा र कर्मचारी पनि त्यही टिनको ‘डिम्बा’भित्र खुम्चिएर दैनिक कामकाज गरिरहेका छन् ।

मन्त्रालयका केही महाशाखा भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा अडिएका छन् । गुणस्तर मापन तथा नियमन महाशाखा, लेखा शाखा र एचओसीसँग सम्बन्धित काम भने रामशाहपथबाट सञ्चालन भइरहेको छ ।
यसरी एउटै मन्त्रालयका कार्यालय छरिएपछि कर्मचारी र सेवाग्राहीलाई फाइलभन्दा पहिले मान्छे खोज्नुपर्ने अवस्था आएको छ । कुनै निर्णयका लागि मन्त्री भेट्न एक ठाउँ, सचिवसँग छलफल गर्न अर्को ठाउँ र सम्बन्धित महाशाखामा पुग्न फेरि अर्को भवन धाउनुपर्ने बाध्यता छ ।
मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री र सचिवको कार्यकक्ष निकै टाढा हुँदा सामान्य समन्वय गर्नसमेत गाह्रो भइरहेको छ ।
‘अहिले त मान्छे नै खोज्दै हिँड्नुपर्ने अवस्था छ,’ ती कर्मचारीले भने, ‘अहिले स्वास्थ्य मन्त्रालय मल्टिपल लोकेसन मोडलमा चलिरहेको छ ।’
स्वास्थ्य क्षेत्रको नीति बनाउने मन्त्रालय आफैं अस्थायी टहरा, सापटीको कोठा र छुट्टाछुट्टै भवनमा विभाजित हुँदा कर्मचारीहरूबीच ठट्यौलीसमेत चल्न थालेको छ, ‘स्वास्थ्य मन्त्रालयमा काम गर्नुभन्दा पहिले अब जीपीएस अपडेट गर्नुपर्छ ।’

‘अघाएको भन्छ- डाँडापारि खाउँ, भोकाएको भन्छ- डाँडावारि खाउँ’
स्वास्थ्य मन्त्रालयको भवन आगलागी भएको करिब १० महिना बित्यो । तर मन्त्रालयले अझै आफ्नो भवन पाएको छैन । सरकारी संयन्त्र भने अझै ‘छलफल चलिरहेको छ’ भन्ने उत्तरमै सीमित छ ।
गत २४ भदौको जेनजी आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगजनीबाट पूर्ण रूपमा नष्ट भएको थियो । त्यसपछि मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा अस्थायी रूपमा काम सुरु गर्यो । पछि सिंहदरबारभित्र नेपाली सेनाको नरसिंह दल गण परिसरको भवन प्रयोग गर्ने व्यवस्था मिलाइयो । तर त्यहाँ पनि मन्त्रालयका सबै निकाय अटाउन सकेनन् ।
सरकारले स्थायी भवनको टुंगो लगाउन नसक्दा मन्त्रालयको प्रशासनिक संरचना नै तीन टुक्रामा विभाजित भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार अहिलेको अवस्थामा पनि मन्त्रालयको नियमित काम भने रोकिएको छैन ।
‘काम त चलिरहेको छ,’ उनले भने, ‘मन्त्रीज्यू सामान्य प्रशासन मन्त्रालयतिर हुनुहुन्छ । हामी टिनको डिम्बामा छौं । केही महाशाखा अनुसन्धान परिषद्को भवनमै छन् ।’
तर, मन्त्रालय कहिले एउटै भवनमा फर्किन्छ भन्ने प्रश्नमा उनीसँग पनि ठोस जवाफ छैन ।

उनका अनुसार केही चरणमा छलफल भएको भए पनि अहिलेसम्म कुनै निर्णय कार्यान्वयनमा पुगेको छैन ।
कुराकानीका क्रममा उनले अहिलेको अवस्थालाई गाउँघरको एउटा पुरानो उखानसँग तुलना गरे ।
‘भोको भन्छ– डाँडावारि खाउँ । अघाएको भन्छ– डाडाँपारि खाउँ जस्तै भएको छ ।’
उनले उक्त उखानको अर्थ पनि खुलाए ।
पहिला पहाडमा पैदल यात्रा गर्दा मानिसले समूहमा आफैं खाना, खाजा आफैं बोकेर हिँड्थे । भोको मान्छेले डाँडाको फेदीमा पुग्दै भन्थ्यो– यहाँ राम्रो छ । यतै खाउँ ।’
अघाएको मान्छेले ‘त्यो डाँडाको टुप्पोमा झन् राम्रो छ । त्यही बसेर खान मज्जा हुन्छ भन्थ्यो ।’
‘हामी अहिले त्यस्तै अवस्थामा छौं,’ उनले भने, ‘छलफल भयो भन्ने सुनिन्छ, फेरि अर्को छलफल हुन्छ । तर कहिले, कहाँ सर्ने भन्ने निर्णय अझै आएको छैन ।’
पछिल्लो समय मन्त्रालयलाई संघीय संसद् सचिवालयको भवनमा सार्ने चर्चा चलेको थियो । तर त्यसबारे पनि प्रवक्ता अधिकारी स्पष्ट छैनन् ।
‘पहिला त्यो भवन खाली हुनुपर्यो । त्यसपछि मात्रै सर्ने कुरा हुन्छ । अहिले त्यसबाहेक भन्न सक्ने नयाँ कुरा छैन,’ उनले भने ।
टिनको छाना, हिलो आँगन
अहिले स्वास्थ्य मन्त्रालयको अस्थायी कार्यालय (टिनको डिम्बामा) वर्षात् सुरु भएपछि कर्मचारीको दिनचर्या झन् कठिन बन्छ । पानी परेपछि कार्यालय परिसर नै हिलोमा परिणत हुन्छ । एक शाखाबाट अर्को शाखासम्म पुग्न नै चुनौती बन्छ । फाइल बोकेर हिँड्ने कर्मचारीका जुत्ता हिलाम्मे हुन्छन्, कतिपयले त छाता समाउँदै कागजात जोगाउनुपर्ने अवस्था आउँछ ।
‘पानी परेपछि परिसर पूरै हिलो हुन्छ । जस्ताको छानामाथि पानी पर्दा यति ठूलो आवाज आउँछ कि फोनमा कुरा गर्न पनि गाह्रो हुन्छ,’ मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘फाइल बोकेर एउटा शाखाबाट अर्को शाखामा जानु नै परीक्षा पास गरे जस्तै हुन्छ ।’
कार्यालयभित्र पस्दा अर्को दृश्य अझ रोचक देखिन्छ । साँघुरो कोठा, सीमित टेबल र त्यसैमा खुम्चिएर बसेका कर्मचारी । एउटा टेबल वरिपरि तीन–चार जना कर्मचारी अटेसमटेस बसेर काम गरिरहेका हुन्छन् । कसैले कम्प्युटर चलाइरहेका छन्, कसैले फाइल मिलाइरहेका छन्, त कसैले फोनमा समन्वय गरिरहेका छन् ।
कतिपय कर्मचारीका लागि आफ्नै कुर्सीसमेत छैनन् । फाइल, कम्प्युटर, प्रिन्टर र कर्मचारीलाई एउटै सानो कोठाभित्र अटाउन खोज्दा कार्यालय होइन, गोदाम जस्तो देखिन्छ । गोप्य कागजात सुरक्षित राख्ने ठाउँको अभाव छ भने बैठक बस्नसमेत छुट्टै कोठा छैन ।

‘काम गर्ने वातावरण नै छैन । एउटै टेबलमा धेरै जना बस्नु पर्छ । कहिलेकाहीँ त फाइल राख्ने ठाउँसमेत पाइँदैन,’ अर्का कर्मचारीले गुनासो गरे, ‘बाहिरबाट आएका कर्मचारी र सेवाग्राहीलाई बस्न दिने कुर्सीसमेत छैन ।’
यो समस्या कर्मचारीमा मात्र सीमित छैन । मन्त्रालयमा दैनिक सयौं सेवाग्राही स्वास्थ्यसम्बन्धी अनुमति, नीति, कागजात र प्रशासनिक काम लिएर पुग्छन् । तर उनीहरूलाई स्वागत गर्ने प्रतीक्षालय छैन, बस्ने कुर्सी छैन । पालो कुर्दाकुर्दै धेरैले घण्टौँ उभिएर समय बिताउनु पर्छ । स्वास्थ्य नीतिको निर्णय हुने मन्त्रालयमा सेवा लिन आएका नागरिक आफैं उभिएर थाक्ने दृश्य अहिले सामान्य बनेको छ ।
स्वास्थ्य सेवा सुधारका योजना बनाउने मन्त्रालय आफैं भने हिलो, साँघुरो कोठा, कुर्सी अभाव र अस्तव्यस्त कार्यकक्षबीच चलिरहेको छ ।
प्रतिक्रिया 4