+
+
Shares

उभिएका टावर, गिरेको सोच

तुलसी निरौला तुलसी निरौला
२०७७ मंसिर १५ गते २०:०८

आज राजनीतिशास्त्रको परिभाषा फेरिएको छ । पहिले अलि कम थियो, अहिले झन् बढी हुँदै गएको छ : असम्भव सपनाहरु बेचेर आफू बन्ने शास्त्रलाई राजनीतिशास्त्र भनिन्छ । र, अहिलेका पावरवालाहरुको टावरमोहले पनि यसलाई प्रमाणित गर्दै गएको छ ।

इच्छा र सपना अग्ला टावरजस्ता अनि सीप र गुण सिमसार जस्ता देखिएका छन् । टावर क्षणिक र भ्रमित सुखको बिम्ब मात्र हो । आफ्नै खाद्यान्न उत्पादन, सही शिक्षा, राम्रो स्वास्थ्य अनि सद्भाव र प्रेमभावको संस्कार फराकिलो र अग्लो हुनु दीर्घकालीन विकास अनि सुख हो ।

टावरको इतिहास केलाउँदा यो प्रष्ट हुन्छ कि अरु देशहरु कृषि, शिक्षा अनि स्वास्थ्यमा आत्मनिर्भर बनेर मात्र देखाउने समृद्धितिर उक्लेका छन् । तर, हामी अरुको घोडा देखेर धुरी चढिरहेका छौं । तर किन त ? यो केको कमी हो ?

नेपालमा बनिसकेका अनि बनिरहेका टावरहरुको सालाखाला तथ्यांक मात्र संकलन गर्ने हो भने अचम्म नै परिन्छ । विभिन्न पत्रपत्रिकाहरु तथा केही खोजमुलक लेखहरुबाट संकलन गर्दा यस्तो प्रारम्भिक परिणाम निस्कन्छ–

नेपालभर टावर निर्माण सिकोको रुपमा चल्दैछ । धनकुटामा चौबिसे, साँघुरिगढी, शहिदभूमि गाउँपालिकामा बनेका अनि अन्य ठाउँहरुमा देखासिखी गरिएका टावरहरुको निकै चर्चा देखिन्छ । धनकुटा नगरपालिका पनि यो भिडबाट टाढा रहेको छैन । प्रदेश १ सरकारले काँकडभिट्टामा बनाउने योजना बनाएको सबैभन्दा अग्लो बुद्धको मूर्तिले एकताका निकै हल्ला मच्चाएको थियो ।

मोरङको सुन्दर हरैँचा नगरपालिकामा बन्ने भनिएको विशाल गाईको मूर्ति उत्तिकै चर्चित छ । केपी ओलीले नै निकै गर्वका साथ उद्घाट गरेको ढुकुरपानी दमकको अठार तले भनिएको टावरलाई देशकै शान ठानिएको छ । टुप्पामा घुम्ने होटल रहने भनिएको टावरको लागत झन्डै चार अर्ब पुग्ने अनुमान छ । एकताका धरानको चिन्डे डाँडामा अनि खोटाङ्गको दिक्तेल बजारमा बन्ने भनिएका टावरको चर्चा पत्रपत्रिकामा चुलिएको थियो ।

टोकियोको टावरबाट प्रभावित बनेर काठमाडौंको पुरानो बसपार्कमा बनिरहेको टावर पनि अर्को सबैले कुरिरहेको हावाको महल हो । त्यो पनि उपत्यकाको शान नै हुने ठानिएको छ । २९ तलाको बनाउने योजना भएको यो टावरको सुरुवाती लागत तीन अरबबाट ६ अरब पुग्ने अनुमान भैसकेको छ ।

प्रदेश ३ र प्रदेश १ को टावर बनाउन छुट्याएको बजेट केलाउने हो भने ताजुब नै लाग्छ । साना भनाउँदा योजना नै दुई अंकका करोडवालाहरु छन् भने ठूला योजना अरब घटीका छैनन् ।

उदयपुरको लिम्चुबुङ्ग गाउँपालिका अनि प्रदेश २ को सर्लाहीमा बन्न लागेका टावरले के सिकाउँदैछन् अनि के बुझाउँदैछन् होला ?

कचौरामा हाल्दा अटाउने जनसंख्या भएको ठाउँमा करोडका टावर बन्दैछन् । अझै थप्ने हो भने महेन्द्रनगरमा बन्ने भनिएको २० मिटर अग्लो नेपाल आमाको शालिक, ब्यास नगरपालिकामा योजना बनाइएको ३० मिटरको ऋषि ब्यासको सालिक, प्रदेश ५ ले बिशाल बुद्धका मूर्तिहरु कपिलवस्तुमा बनाउने हल्लाहरु सेलाएकै छैनन् । अझ, हेलम्बुतिरको नेपालको ग्रेट वाल बनाउने हल्ला कम रोचक थिएन । वन मासेर बनाइने सिमेन्टका संरचना । हरे ! यस्तो वुद्धि कसको किन अनि कताबाट पो पलाउँछ होला ?

पत्रकार वीपी अनमोलले निकै मिहिनेत गरेर यसै बिषयमा एक खोजमुलक लेख अंग्रेजीमा लेख्नुभएको छ । कोभिडको समयमा केही जोर आईसीयू सरकारी अस्पतालमा थप्न नसकेको सरकारले किन अरबौं रुपयाँ टावरमा हाल्दैछ ? अनमोलको प्रश्न छ ।

प्रदेश ३ मा त झन् प्रत्येक टाकुरा, एक टावर भनेर नारा नै बनाइएको छ अनि छुट्याइएको बजेट अर्बमा छ । किन ? समस्याको चुरो कमिसन र केही गरेजस्तो देखाउने खेलमा छ । कृषि, शिक्षा अनि स्वास्थ्यमा कुनै नयाँ विचार र सिर्जनात्मक ठोस योजना कसैको गुदीमा नआउनु अर्को विडम्वना छ ।

अरु थप यस्ता टावर नाटक कोट्याउने हो भने निकै पाना भरिन्छन् । देशभरि नै टावरको लावालस्कर लाग्दैछ । होचा, अग्ला, थुम्का, ढिस्का जतात्यतै ।

यस्ता अरु थप उदाहरणमा भुमीचुली, सुलीथुम्का, सिद्धबाबा चुचुरो काभ्रेमा, फुलचोकी गोदावरी, टावर र बुद्ध पार्क भुम्लु काभ्रे, टोप्लाङ्ग धादिङ्ग, चिम्टेश्वर नुवाकोट, घ्याम्पेडाँडा भक्तपुर, नागार्जुन नगरपालिका काठमाण्डौ, झिलमिला, बेदकोट, महाकाली नगरपालिका कञ्चनपुर, रमिते पाँचथर, झाँक्रीपानी म्याग्दी, तिलोत्तमा नगरपालिकाको एघार तल्ले टावर रुपन्देही, हिरालाल पार्क निजगढ, दशबिघा कोहलपुर, लाटीकोइली, देउती डाँडा, भोटेचुली सुर्खेत, सगरमाथा टावर सोलुखुम्बु, देम्बाडाँडा, बुढीथाम, मिक्लाजुङ्ग पाँचथर, मालिङ्गे ओखलढुङ्गा, बुद्धशान्ति झापा, माङ्गसेबुङ्ग इलाम, बुढिगंगा बाजुरा आदि ठाउँहरुमा पनि अनेक प्रकारका टावरहरु निर्माणाधीन छन् । अरु भावी योजनामा रहेका त कत्ति हो कत्ति ! गनीसाध्य छैन ।

यो के हो त ? के यो सबै अत्यावश्यक हो त ? के हामी खेतबाट माथि टावरमा उक्लिने हैसियतमा साँच्चै पुग्यौं त ? सोचनीय छ । यदि होइन भने यो भ्रमको खेती हो । तुरुन्त बन्द गरिनुपर्छ ।

नेपालमा विकास भनेको के हो नेताले बुझेकै छैनन् वा बुझेर पनि ठग्न मात्र खोजेका छन् । विकास भौतिक संरचना मात्र होइन, सही मूल्य मान्यता अनि बौद्धिकस्तरको सोचको विकास पनि हो । सही संस्कार अनि सकारात्मक चिन्तनको विकास पहिलो शर्त हो । शिक्षाको स्तर उकास्नु पहिलो हो । सैद्धान्तिक अनि सीपमुलक । दुवै अनि सन्तुलनमा । अझ त्यसमा ब्यबसायीक पनि सँगै लैजानसके अझ उत्तम ।

तर, खोई ? एक त नेपाल भूराजनीतिको कठपुतली बन्दैछ भने अर्को घरभित्रका घरमूलीहरु बिचको निरन्तर घम्साघम्सीले देशको छवि झन् गिराएको छ । अनि त चिनेजानेका सबैले हेपिहाल्छन् । खुट्टी देखेर मुटु र दिमाग छामिहाल्छन् । अनि सबैले सोच्छन् कि यी गुर्खेहरु त जतिमा पनि बिक्ने जात हुन् । दुई समोसामा पनि बिक्छन् अनि केही लाखमा त झन् सर्लक्कै । यिनीहरु बहादुर हुन् । तर, मूर्ख भएर न बहादुर बनेका हुन् । यिनीहरुलाई जे गराउन पनि सजिलो छ । यस्तै छ हाम्रो हाल । सगरमाथाकोे चाल अनि बुद्धको बेहाल ।

टावरको इतिहास

पावरवालाहरुले टावरमा अरबौं खन्याउनुले के संकेत दिन्छ ? टावरको इतिहास अलिकति कोट्याएर हेरौं ।

आइभरी टावरको बिम्बले असम्भव र उडन्ते भौतिक सपनाहरुको कल्पनालाई बुझाउँछ । टावरको कल्पना यही जराबाट नै पलाएको मानिन्छ ।

बाइबलमा ब्याख्या गरिएको ब्याबल टावरको कथा पनि निकै रोचक छ । मानिसहरु मिलेर एक यस्तो टावरको निर्माण गर्न लागे कि जसको टुप्पो स्वर्गमै पुग्थ्यो । भगवान् मानिसहरुको कार्य देखेर डराए अनि सबैको भाषा फरक–फरक बनाइदिए । उनीहरुले एक आपसलाई बुझ्न सकेनन् अनि अनेक दिशामा छरिन थाले । उनीहरुको स्वर्ग उक्लने ब्याबल टावरको काम स्थगित भयो ।

हिब्रु भाषामा ब्याबलको अर्थ हुन्छ, अन्योलमा पार्नु वा अलमल्याउनु । नेपालमा अहिले सही सोच र तयारी बेगर बनिरहेका टावरहरुले पनि त्यही संकेत गर्छन् । यी सबै साधारण जनता अलमल्याउने अनि एकछिन झुक्याउने चिज नै हुन् । बालकलाई कागजको फिरफिरे दिएर एकछिन मक्ख पारेजस्तै ।

आइरिस कवि विलियम बटलर यिट्स्ले आफ्ना कविताहरुमा टावरको बिम्वको खुब प्रयोग गरेका छन् । तर, उनको टावर नामक कविताले जीवनको क्षणभंगुरताको बिम्ब दिन्छ । कविताकोे मूल भाव यस्तो छ– हरेक मानिसको समग्र जीवन नै एकैछिन एक अग्लो टावर चढेजस्तै मात्र हो । यो एक छोटो भ्रम हो । यो एक प्रकारले झुक्याउने खेल हो । एक झेल हो । उनी आफ्नै जीवनको टावरबाट छिटै ओर्लिहाल्नु पर्ने देखेर चिन्तित बन्छन् ।

हाम्रा टावरहरु पनि भ्रम मात्र हुन् । केही छिनका । सत्यता अर्कै छ । यथार्थ भिन्नै छ । एक्काइसौं शताब्दीमा सबैभन्दा बढी टावरहरु बनाउने श्रेय जान्छ चीन, मध्यपूर्वका खाडी देशहरु अनि दक्षिण एसियालाई ।

विगत कोट्याउँदा टावरको इतिहास निकै पुरानो छ । लगभग ४००० बर्ष पहिले, सबै भन्दा अग्लो संरचना इजिप्टको पिरामिड थियो । त्यसपछि बेलायत र फ्रान्समा क्याथेड्रल अग्ला देखिए । सिकागो शहरको होम इन्सुरेन्स टावरपछि ताइपेई १०१ अनि मलेशियाको पेट्रोनस, अनि बुर्ज खलिफासम्म आइपुग्दा सबैभन्दा बढी टावर बनाउने देश हाम्रै छिमेकी चीन छ ।

संसारका कुल ३५० मिटर भन्दा अग्ला टावरहरु संकलन गर्दा ३७ वटा त चीनका मात्र पर्छन् । संसारका केही अरु प्रसिद्ध टावरको नाम लिने हो भने सांघाई टावर चीन, लोट्टे टावर कोरिया, वल्र्ड ट्रेड टावर अमेरिका, अन्तराष्ट्रिय ब्यापारिक केन्द्र हङ्गकङ्ग, लख्ता केन्द्र रसिया, लेन्डमार्क ८१ भियतनाम, अल हम्रा टावर कुवेत केही मुख्य पर्छन् ।

अरु मध्यम आकारका दुबई र चीनका टावरहरुको त नाम लिएर साध्य नै छैन ।

रातारात टावरहरु बनाउनेमा उत्तरी छिमेकी चीन नै अग्रपंक्तिमा छ । चीनतिरबाट चिसो हावा हिमाल ठोक्किँदै आएछ कि कसो, देशभर टावरको मोह जागेको छ । सबैको दिमागी गुदीमा पनि त्यै हावा भरिएर हो कि जतात्यतै हावामा महल बनाउने होड छ ।

के यो गतिमा टावर दौड आवश्यक छ ?

नेपाल शिक्षामा भिखारीवाला छ । स्वास्थ्यमा हरितन्नम छ । जवान युवाहरु घर र सन्तान छोडेर वर्षौंदेखि खाडीको गर्मीमा पसिनासँग पैसा साट्दैछन् । अलि बढी पढेका बेलायत, अमेरिका, क्यानडा अनि अष्ट्रेलियाको अर्थतन्त्रको पारो उकाल्दैछन् । नेपालका गरिव झन् गरिव बन्दैछन् । तर, बिचौलिया व्यापारी, ठेकेदार अनि तलदेखि माथिसम्म पाइपलाइन नै बिछ्याएका सानाठूला नेताहरुलाई मात्र मालामाल छ । हामी बीचकाहरु सानोतिनो जागिर खाएर जीवन निर्वाह गर्नेहरु पनि अब त्यै हिमालतिरबाट टावरहरु ठोक्किँदै आएको हावा मात्र खाएर बाँच्नुपर्ने बाध्यता आउला जस्तो छ ।

यी टावर कसका लागि ? के टावर गरिवका लागि हो ? के उसलाई यी टावर चढ्न जाने फुर्सत होला ? के उसँग त्यसरी घुम्ने पैसा होला ? के गरिवले मेडिसीटी, एमएनसी अनि ग्रान्डी टावर चढेर उपचार गर्न सक्छन् ? उनीहरुका छोराछोरी रातो बंगला, युलेन्स, राजर्षी गुरुकुलमा गएर पढ्न ? पाउँछन् ? हैन भने राज्यले उनीहरुलाई के दियो ? के दिँदैछ ?

सबै सरकारी स्कुलहरु अनि हस्पिटलहरु गरिवहरुको दुःख देखिने थलोको रुपमा परिणत भएका छन् । अनि सरकारी स्कुल र अस्पतालहरु यति अव्यवस्थित बन्दै गइरहेका छन् कि मानौं ती सबै सडकमा कुदिरहेका टुहुरा बालबालिका हुन् । प्रायः देश चलाउने नेताहरु नै घुमाई फिराई निजी अस्पताल र स्कुलहरुका सञ्चालक बनेपछि हुने यस्तै नै हो ।

कृषिको हालत केलाउँदा कर्कलोदेखि कागतीसम्म किनेर खानुपर्ने बाध्यता छ बिदेशबाट । तर, अब धेरै छैन अर्को क्रान्ति सुरु हुन । बन्दुक फेल भैसकेको छ । काम छैन । अब कलम उठ्छ । कलम अलि सुस्त होला, तर झन् बलियो हुन्छ । अबको क्रान्ति कलमले नै गर्छ । पहिलेका सबै क्रान्तिहरु सडकमा भुकेर अनि जंगलमा लुकेर भए भने अबको क्रान्ति ल्यापटप र मोबाइलबाट हुनेछ । सलेदो जल्दैछ । अक्षरको बारुद बिस्तारै बल्दैछ । होशियार !

कि यिनै भ्यू टावर, हस्पिटल अनि अग्ला स्कुलहरुमा चढ्नेहरुको भिड हेर्न रमिते बन्ने दर्शक हुने लाइसेन्स दिएको हो ? ताजुब लाग्छ !

के यो गतिमा टावर दौड आवश्यक अनि उचित छ त ? विचार अनि सचेतना जगाउन जरुरी देखिन्छ । जय होस् टावरदौड !

अनि त केही थान ब्यङ्य कविता लेख्न मन लाग्छ–

यो डुरे मुसाहरुको देश हो

बुढा गोरुहरुको देश हो

सिंहको भेषमा धूर्त स्यालहरुको देश हो

धनी सबै टावर चढिरहने अनि

गरिवहरु ढाड थापेर

कान्लामुनि लडिरहनेहरुको देश हो ।

यो नयाँ लुगा लगाएका

चटके राजाहरुको देश हो ।

(लेखक मोटिभेसनल स्पिकर हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?