१३ कात्तिक, बुटवल। विद्युत महसुलको बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेपछि थुप्रै उद्योग प्रभावित भएका छन् । उद्योग बन्द हुँदा मजदुरहरूको जीवन प्रत्यक्ष प्रभावित हुने नै भयो । बुटवल क्षेत्रका उद्योगमा कार्यरत मजदुर यो समस्याबाट गुज्रिएपछि बिहीबार सरोकारवालालाई झकझक्याउन भन्दै प्रदर्शन आयोजना भएको थियो ।
तीन दशकदेखि मजदुरका हकअधिकारको पक्षमा काम गर्दै आएका मजदुर नेता कमल गौतम कार्यक्रमलाई सम्बोधन गर्दै थिए ।
‘सरकारको कदमले २५ हजार मजदुरको रोजीरोटी खोसिँदैछ । यहाँका सीडीओ र बिद्युत प्राधिकरणका साथीहरूले यो आन्दोलनलाई सांकेतिक आन्दोलनको रूपमा लिन जरुरी छ,’ उनको आवाजमा केही बदलाव सुनियो, ‘हामी ती २५ हजार श्रमिकको रोजीरोटी गुमाउन चाहँदैनौं अत: यो कारणले…..’ यति भन्दा नभन्दै उनी ढले ।
तत्कालै उनलाई अस्पताल लगियो । १५ मिनेटभित्रै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको भए पनि त्यहाँ पुग्दासम्ममा उनको प्राण उडिसकेको थियो । ६४ वर्षीय गौतमलाई चिकित्सकले मृत घोषणा गरे ।
आखिर उनलाई भएको के थियो ? बोल्दाबोल्दै ढलेपछि धेरैले उनलाई हृदयाघात भएको आशंका गरे । समयमै अस्पताल पुर्याउन सकिने सम्भावना रहेकाले उनी केही समयपछि स्वास्थ्यलाभ गरेर फर्कने धेरैको अनुमान थियो ।
यही अनुमान गरेका थिए, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले पनि ।
तर, त्यस्तो भएन । केही समयपछि नै उनले गौतम नरहेको अपत्यारिलो खबर सुने । गौतमअघि कार्कीले आन्दोलनलाई सम्बोधन गरेका थिए । ‘गौतमजी अचानक ढलेपछि हृदयाघात भएको अनुमान गरेको थिएँ, अस्पताल पुर्याएपछि त सकुशल रहनुहुनेछ भन्ने सोचेको थिए । तर, यति चाँडो प्राण गएको पहिलोपटक देखेँ,’ उनले भने ।
कार्यक्रममै सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले पनि यस्तै सोचेका थिए । ‘हर्ट अट्याक भएको होला, अस्पताल पुर्याएपछि ठीक हुन्छ भन्ने नै सोचेका थियौं, तर १५ मिनेटभित्र अस्पताल पुर्याउँदा पनि बचाउन सकिएन,’–आचार्यले भने, ‘यस्तो देखेर हामी सबै स्तब्ध भएका छौं ।’
चिकित्सकका अनुसार गौतमलाई मुटुमा देखिने आकस्मिक समस्या ‘कार्डियाक अरेष्ट’ भएको थियो । जसका कारण उनलाई बचाउन सकिएन ।
अस्पताल पुर्याउने बित्तिकै गौतमलाई जाँच गरेका क्रिमसन अस्पतालका मुटु रोग विशेषज्ञ डा. लक्ष्मण दुवेले गौतमलाई ‘कार्डियाक अरेष्ट’ अर्थात मुटुमा देखिने आकस्मिक समस्या भएकाले घटनास्थलमै ज्यान गएको बताए ।
डा. दुवेका अनुसार कार्डियाक अरेष्ट हुँदा मुटुको धड्कन अचानक बन्द भई मुटुले काम गर्न छाड्छ र ज्यान जान्छ । यस अवस्थामा मुटुले रगत पम्प गर्न छोड्छ, जसले गर्दा केही सेकेन्डमै दिमाग, श्वासप्रश्वास र शरीरका अन्य महत्त्वपूर्ण अंगहरूमा अक्सिजन पुग्न बन्द हुन्छ । तुरुन्त उपचार भएन भने बिरामीको केही मिनेटमै मृत्यु हुन सक्छ ।
‘यो हृदयाघात भन्दा धेरै जोखिमपूर्ण समस्या हो, हृदयाघात हुने सबैको ज्यान जांदैन, तर कार्डियाक अरेष्ट भयो भने बाँच्ने सम्भावना एकदमै कम हुन्छ,’ डा. दुवेले भने, ‘नेपालमा मात्र हैन विकसित मुलुकमा पनि मुश्किलले एक प्रतिशतलाई बचाउन सकिन्छ तर त्यसका लागि तत्कालै डीसी सट दिन सक्नुपर्छ ।’
डा. दुवेका अनुसार डीसी सटको सुविधा भएका अस्पतालभित्र कार्डियाक अरेष्ट भयो र तत्कालै उपचार शुरु भयो भने मात्रै बचाउन सकिने सम्भावना हुन्छ । विदेशमा धेरै मानिस जम्मा हुने स्थानहरूमा पोर्टेबल डीसी सट राखिने गरेको हुन्छ । तर, नेपालमा हालसम्म त्यस्तो हुन नसकेको उनले बताए ।
को हुन् गौतम ?
गौतम २०३८ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीमा जोडिएर राजनीतिमा लागेका थिए । २०४३ मा अनेरास्ववियु रूपन्देहीको अध्यक्ष भएका उनी सोही साल नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध भएका थिए ।
२०४० सालमा संयुक्त वाम मोर्चामा आबद्ध भएका थिए भने २०४६ मा नेकपा (माले), २०४८ मा नेकपा एमाले बुटवल नगर कमिटी सचिव भए । २०५३ मा जिफन्ट, रिक्सा युनियन अध्यक्ष, २०५६ मा एमाले लुम्बिनी अञ्चल सदस्य, दुई कार्यकाल जिफन्ट अध्यक्ष र २०७८ मा एमालेको केन्द्रीय सदस्य चयन भएका थिए । गौतमका दुई छोरा र श्रीमती छन् ।
नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले श्रमिक वर्गको हक अधिकारमै तीन दशक बढी बिताएका गौतमको निधनले देशभरका मजदुर र एमाले पार्टी पंक्ति मर्माहत भएको प्रतिक्रिया दिए ।
‘गौतमको सादगी जीवन, स्वच्छ र प्रष्ट वक्ताको छवि, श्रमिकको न्याका लागि सदैव खटिने स्वभाव सबैले अनुशरण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ,’ गैरेले भने ।
प्रतिक्रिया 4