Comments Add Comment

मिस नेपालका आयोजक भन्छन् : यसपालि कार्यक्रम स्थलमा दर्शक हुँदैनन्

‘हामी मोडल होइन, रोलमोडल बनाउँछौं’

१८ मंसिर, काठमाडौं । मिस नेपाल प्रतियोगिताले रजत उत्सव मनाइरहँदा यसको आयोजक हिडेन ट्रेजरले नयाँ नेतृत्व पनि पाएको छ । पर्सि (शनिबार) आयोजना हुने मिस नेपालको २६ औं संस्करणको कमाण्ड सम्हालेका छन्, दिवाकर राजकर्णिकारले ।

यसपालिको मिस नेपाल आयोजना विभिन्न दृष्टिकोणले विगतको भन्दा चुनौतीपूर्ण छ । कोरोनाका कारण उत्पन्न प्रतिकुलताबीच यस ब्युटी पिजेन्टको तारतम्य मिलाउने त्यति सहज थिएन । तर, प्रतिकुलताहरुलाई चिर्दै दिवाकरले मिस नेपाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

कोभिडको सन्त्रासबीच यसपालि कसरी मिस नेपाल आयोजना हुँदैछ त ? आयोजक संस्था ‘दि हिडन ट्रेजर’का अध्यक्ष दिवाकर राजकर्णिकारसँग अनलाइनखबरले कुराकानी गरेको छ ।

अन्ततः कोरोना संकटबीच पनि मिस नेपाल हुने नै भयो ?

विगतमा विभिन्न प्रतिकुल अवस्था सिर्जना हुँदा पनि हामीले मिस नेपाललाई निरन्तरता दिँदै आयौं । विनासकारी भूकम्पको बेलासमेत यो प्रतियोगितालाई रोकेनौं । अहिले कोरोना संकट छ । यसबाट धेरै कुरा प्रत्यक्ष प्रभावित बनेका छन् । चाहे सामाजिक जनजीवनको कुरा गरौं वा उद्यम–व्यवसायकै । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर यो इभेन्ट गर्न लागिएको हो ।

मिस नेपालजस्तो इभेन्ट गर्दा भिडभाड हुने नै भयो, यसले कोरोनाको जोखिम बढाउँदैन ?

यस विषयप्रति हामी संवेदनशील छौं । त्यसैले पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर यो कार्यक्रम आयोजना गरिँदैछ । ११ जना निर्णयक, २० जना प्रतिस्पर्धीबाहेक सीमित प्राविधिक र सहयोगी मात्र कार्यक्रम स्थलमा रहने छन् । विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्षरुपमा मिस नेपालको प्रसारण हुने भएकाले सम्पूर्ण नेपालीले यसलाई घरमै बसीबसी हेर्न सक्छन् ।

ग्रान्ड फिनाले शनिबार परेकाले सबैलाई फुर्सद हुन्छ । त्यसैले आफूलाई सहज लाग्ने माध्यामबाट उहाँहरुले यो कार्यक्रम हेर्नुहुनेछ भन्ने हाम्रो विश्वास हो ।

त्यसो भए कार्यक्रम स्थलमा दर्शकको प्रत्यक्ष उपस्थिति हुँदैन ?

हो, यसपालि दर्शकबिना नै मिस नेपाल आयोजना हुँदैछ । हामीले बूढानीलकण्ठको पार्क भिलेजमा कार्यक्रम राखेका छौंं । अरुबेला जस्तो त्यहाँ भिडभाड हुँदैन । पार्क भिलेजको हलमा यसको आयोजना गरिने छ । सामाजिक दूरीको कुरा भएकाले प्रतियोगीहरुलाई नजिक राख्न सकिँदैन । सोहीअनुरुप स्टेजको डिजाइन गरिएको छ ।

यसपालि उपाधिहरुमा कुनै परिवर्तन वा थपघट भएको छ ?

यसपालि हामीले दुईवटा नयाँ टाइटल थपेका छौं । एउटा निकै महत्वपूर्ण टाइटल छ, मिस टुरिज्म । पर्यटन बोर्डसँगको सहकार्यमा यो टाइटल थपिएको हो । अब सम्पूर्ण मिस नेपालले पर्यटन विकासका क्षेत्रमा पनि ठोस सहयोग गर्नेछन् ।

यसपालि दर्शकबिना नै मिस नेपाल आयोजना हुँदैछ । हामीले बूढानीलकण्ठको पार्क भिलेजमा कार्यक्रम राखेका छौंं ।

त्यसैगरी अर्को क्याटगोरी छ, वुमन इन सस्टेन्स । महिला शसक्तीकरण र आत्मनिर्भरताका लागि यो टाइटल थपिएको हो । यो सबै महत्वपूर्ण ११ टाइटलको घोषणा शनिबार ग्रान्ड फिनालेमा नै हुनेछ । ‘ब्युटी विथ प्रपोज’ अन्तर्गत मिस नेपालहरुले आ–आफ्ना गाउँमा विभिन्न प्रोजेक्ट गर्नुभएको छ । यसबाट स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्छ भने सोही अनुरुप उनीहरुले तयारी गरेका छन् ।

तीन हप्ता भर्चुअल तालिम र दुई हप्ता क्लोज क्याम्पमा आवासीय तालिममा राखेर उनीहरुलाई विभिन्न कुरा सिकाइएको छ । यसबीचमा ४० वटा जति भर्चुअल तालिम दियौं । अहिले पनि पार्क भिलेजमा स्टेज पर्फमेन्स सम्वन्धी तालिम हुँदैछ ।

मिस नेपालका शीर्ष विजेताले के पाउँछन् ?

यसपालि प्रतियोगीले मुख्य चार टाइटलका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताहरुले चारवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जस्तो कि, मिस वर्ल्ड युकेको, मिस अर्थ फिलिपिन्सको, मिस इन्टरनेशनल जापानको, मिस ग्रान्ड इन्टरनेशनल पोल्यान्डको । शीर्ष चार टाइटल विजेताले नगद दुई लाख २५ हजार रुपैयाँ पनि प्राप्त गर्नेछन् । बाँकी टाइटल विजेताले २५ हजार रुपैयाँका दरले नगद पुरस्कार पाउनेछन् ।

अहिलेसम्म अन्तर्राष्ट्रिय प्लेटफर्ममा हामीले शीर्ष उपाधि हात पर्न सकेका छैनौं, कुनै दिन नेपालले पनि मिस वर्ल्डको ताज पहिरिनेमा कति आशावादी हुनुहुन्छ ?

त्यस्तो होइन । हामीले मिस वर्ल्डको प्लेटफर्ममा उपस्थिति मात्र जनाइरहेका छैनौं । विभिन्न उपाधी पनि हासिल गर्दै आएका छौं । बितेको दुई बर्ष लगातार श्रृंखला खतिवडा र अनुष्का श्रेष्ठले मिस वर्ल्डको सबैभन्दा महत्वपूर्ण टाइटल ब्युटी विथ पर्पोज जितेका छन् । मल्टी मिडिया अवार्ड जितेका छन् । उनीहरु टप टेनसम्म पुगिसकेका छन् ।

अब हामी जितको नजिक छौं । सहभागीलाई अझै राम्रो तालिम दिलाएर पठाउनुपर्छ । बितेका २५ बर्षमा हामीले जुन किसिमको आधार निर्माण गरेका छौं, त्यसले मिस नेपालको आयामलाई गरिमामय बनाइदिएको छ ।

कसरी ?

जस्तो कि कुनैबेला मिस नेपालमा सहभागी हुनुलाई अभिभावकले त्यति राम्रो मान्दैनथे । आमाबुवालाई मनाएर उनीहरुले आवेदन दिनुपर्ने स्थिति थियो । अहिले आमाबुबा नै यसका लागि पहल गर्न थालेका छन् । त्यसैगरी डाक्टर, इन्जिनियरहरु समेत मिस नेपालमा प्रतिस्पर्धा गरिरहेका छन् । यसपालि मात्र चिकित्सा क्षेत्रका चारजना सहभागी छन् ।

कुनैबेला मिस नेपालमा सहभागी हुनुलाई अभिभावकले त्यति राम्रो मान्दैनथे । आमाबुबालाई मनाएर उनीहरुले आवेदन दिनुपर्ने स्थिति थियो । अहिले आमाबुबा नै यसका लागि पहल गर्न थालेका छन् ।

यसै वर्ष मिस वर्ल्डका अध्यक्षले नेपाल भ्रमण गरे । मिस वर्ल्डकी विजेता टोनी एन सिंह पनि आइन् । उनीहरु ब्युटी विथ प्रपोजको कार्यक्षेत्रमा गएर विभिन्न गाउँमा गरेका परियोजना अवलोकन गरे । यत्ति ठाउँमा आएर पनि सहभागीहरुले यत्तिका राम्रा–राम्रा काम गरिरहेका रहेछन् भनेर उनीहरु प्रभावित भए । यसबाट के बुझ्न सकिन्छ भने हामीले गरेको काम सही दिशामा छ र त्यसको मूल्यांकन पनि भइरहेको छ ।

त्यसैले मिस वर्ल्ड वा अरु अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालले जित्न सक्दैन भन्ने होइन । विश्वका १ सय २० वा २५ मुलुकले भाग लिएको प्रतियोगिता हो । हामी पनि यही दौडमा छौं । हाम्रा प्रतियोगीहरु उनीहरुभन्दा कम छैनन् । सक्षम छन् ।

मिस नेपालको छनौटप्रति वर्षेनि असन्तुष्टिका आवाज पनि आउने गर्छन् । यसको छनौट निष्पक्ष हुन्छ भन्ने आधार के हुन् ?

मिस नेपालका प्रतिस्पर्धीहरुको समग्र पर्फमेन्सको आधारमा विजेता छनौट गरिन्छ । यसको सम्पूर्ण जिम्मा ११ जना निर्णयकलाई दिइन्छ । हामीले निर्णायकहरुको नाम खुलाउने गरेका छैनौं । यदि नाम खुलाइयो भने उनीहरुलाई पनि विभिन्न खाले दबाव आउन सक्छ । हामीले मिस नेपाललाई निष्पक्ष बनाउन कुनै कसर बाँकी राखेका छैनौं । यसमा ढुक्क भए हुन्छ ।

बितेका वर्षहरुमा मिस नेपालमा लगातार नेवार समुदायका युवतीहरु विजेता भए भनेर पनि प्रश्न उठाइयो नि ?

कुन जातिको, कुन भेगको, कुन समुदायको मिस नेपाल बनाउने भन्ने कुरा हाम्रो हातमा छैन । यो त प्रतिस्पर्धीहरुको पर्फमेन्सले निर्धारण गर्ने कुरा हो । हामीले त एक हिसाबले सहजीकरण गरिदिने हो । अर्को कुरा, अहिलेसम्म सबै जातजाति र भेगका युवतीले मिस नेपाल जितिसकेका छन् । नेवार समुदायकै किन बढी भन्ने जुन प्रश्न छ, त्यो हामीले गरेका होइनौं । प्रतियोगितामा उनीहरुले नै आवेदन दिन्छन्, भिड्छन् भने हामीले हस्तक्षेप गर्ने कुरा आउँदैन ।

मिस नेपालको औचित्यलाई लिएर पनि बेलाबखत लफडा हुन्छ, हैन ?

बितेका वर्षहरुमा अनेकन बाधा अड्चन आइलाग्यो । तर, हामी सुरुका वर्षदेखि नै के कुरामा स्पष्ट छौं भने मिस नेपाल भनेको केवल युवतीको रुपरंगको प्रतियोगिता मात्र होइन । खासमा यो त महिला सशक्तीकरणको एउटा अभियान हो ।

कसरी ?

मिस नेपालका विजेताले कुनै न कुनै रुपमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा आफुलाई समर्पित गर्छन् । समाजका हितमा काम गर्छन् । सामाजिक समस्याहरुमा हातेमालो गर्छन् । सामाजिक विकृतिमाथि प्रश्न उठाउँछन् ।

तपाईं वा मैले बोलेको कुरा, आम सर्वसाधरणले सुन्दैनन् । तर, मिस नेपालले बोलेको कुरा सुन्छन् । किनभने उनीहरुलाई हामीले समाजको रोल मोडल बनाउने हो । मोडल होइन । रोल मोडल बनाएपछि उनीहरुले सामाजिक हितका लागि जे–जति काम गर्छन्, त्यसबाट उनीहरु जस्तै युवापुस्ताले प्रेरणा लिन्छन् । यसरी मिस नेपालको माध्यमबाट युवापुस्तालाई सामाजिक व्यवस्था सुधारमा अभिप्रेरित गर्न सकिन्छ । त्यसो त मिस नेपाल भनेकै महिला सशक्तीकरणको एउटा पाटो हो । मिस नेपालको माध्यमबाट समाज परिवर्तन गर्ने हो ।

प्रस्तुती : शिव मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment