+
+
Shares
मिस नेपाल लुना लुइँटेलसँग सं‌वाद :

‘विदेशमा नेपाली पासपोर्टको अपमानले मलाई देशप्रति केही गर्न प्रेरित गर्‍यो’

उनी मिस नेपालको ताजलाई फगत वस्तुको रुपमा मात्र लिन्नन् । उनको लागि यो सामाजिक उत्तरदायित्वको एउटा बिम्ब हो ।

विष्णु शर्मा विष्णु शर्मा
२०८२ भदौ १५ गते २२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुना लुइँटेलले मिस नेपाल वर्ल्ड २०२५ को ताज जितेपछि सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा आफूलाई समर्पित गर्ने बताएकी छिन्।
  • उनले अस्ट्रेलियामा नर्सिङ अध्ययन गरी नीति निर्माणमा युवापुस्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएकी छिन्।
  • लुनाले शिक्षा क्षेत्रमा छोराछोरीबीचको भेदभाव अन्त्य गर्न र महिला-पुरुष समानताको पक्षमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन्।

जेन-जी मिस नेपालसँग गफगाफ गर्नुको मजा के भने, कुरालाई अहिलेको आँखाबाट हेर्न सकिन्छ । अहिलेको पुस्ता के सोच्छ, कुरालाई कस्तो आकार दिन्छ र सपना के देख्छ भन्ने बोध ।

उनी केही महिनअघि अस्ट्रेलियाबाट फर्किइन् मिस नेपाल बन्ने सपना बोकेर ! सायद, भाग्यले उनलाई ‘मिस नेपाल वर्ल्ड’ बन्न लेखेको हुनुपर्छ ।

उनी अर्थात, लुना लुइँटेल । मिस नेपाल वर्ल्ड २०२५ !

शनिबार राती गोदावरीको भव्य हलबाट नयाँ मिस नेपालको रुपमा उनको नाम उद्घोष हुँदा लामो समय ताली बजिरह्यो । उनीसहित मिस नेपाल अर्थ, इन्टरनेसनल र कस्मो विधाका विजेता पनि घोषणा भए ।

मुलुकले पहिलोपटक चारैजना ‘जेन-जी मिस नेपाल’ पाएको थियो ।

२६ वर्षिया लुना सूचना प्रविधिमा अभ्यस्त, स्वतन्त्रताको उपभोग गर्न रुचाउने र आफै सपनाको पटकथा लेख्न रुचाउने जेन-जी पुस्ताकी प्रतिनिधि हुन् ।

मिस नेपालको ताज पहिरिएपछिको पहिलो अन्तवार्तामा लुनाले अनलाइनखबरसँग मिस नेपाल प्रतिस्पर्धा, अस्ट्रेलियाको सिड्नी युनिभर्सिटीमा नर्सिङको पढाइ र नीति निर्माण तहमा कसरी युवापुस्ताले हस्तक्षेप गर्न सक्नुपर्छ भन्ने बारेका आयाममा बातचित गरेकी छिन् ।

भेटमा बधाइ दिँदा पनि लुनालाई यो अवास्तविक लागिरहेको थियो । मिस नेपालको २४ घण्टा बित्नै लाग्दा पनि उनलाई यो स्वैरकाल्पनिक (सररियल) लागिरहेको छ ।

‘मेरो नाम घोषणा हुँदा म सररियल लाइफमा गएँ । अहिले पनि रियालिटी र ड्रिम्समा जिइरहेको महसुस भैरहेको छ’ उनी सुनिइन् ।

‘म कसरी मिस नेपाल वर्ल्ड भएँ, अब मैले कसरी नेपाललाई अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्छु भन्ने कुराले मलाई निकै उत्साहित तुल्याएको छ’ उनी भन्छिन् ।

मिस नेपाल भएपछिको लुनामा के तात्विक भिन्नता आयो ? उनी आफूलाई ‘ग्राउन्डेड’ ठान्छिन् । उनलाई राम्रोसँग थाहा छ, जति आकाशमा उडेपछि खुटट त भुइँमै हुनुपर्छ ।

‘म हिजो जुन लुना थिएँ, क्राउन लगाएपछि पनि त्यही लुना छु । फरक के हो भने अहिले ममा उत्तरदायित्व जोडिएको छ । मान्छे जतिसुकै माथि गएपनि खुट्टा भुइँमा नै हुनुपर्छ’ उनी दार्शनिक सुनिइन् ।

लुना भगवान श्रीकृष्णकी भक्त हुन् । भागवद् गीताका श्लोक कण्ठ छन् । उनी आध्यात्मिक परिवारको पृष्ठभूमिमा हुर्किइन् । उनले श्रीकृष्णले गीतामा भनेको कुरा दोहोर्‍याइन्, ‘कर्म गर, फलप्रतिको आसक्ति नराख । मैले राम्रो कर्म गर्ने हो । मैले मिस वर्ल्ड कै क्राउन जितेपछि पनि म निश्चय नै त्यही हुँ ।’

उनी मिस नेपालको ताजलाई फगत वस्तुको रुपमा मात्र लिन्नन् । उनको लागि यो सामाजिक उत्तरदायित्वको एउटा बिम्ब हो । ‘यो क्राउन लगाएर म आगामी चुनौतीलाई सामना गर्न तयार छु’ उनी भन्छिन् ।

उनी मिस नेपालको ताजको प्राविधिकभन्दा मूल्यको तौल उच्च हुने बताउँछिन् । ‘यो क्राउन मात्र होइन । ग्ल्यामर मात्र होइन । उत्तरदायितव पनि हो । क्राउनको तौल ५०० ग्राम मात्र भएपनि त्यो भन्दा ठूलो उत्तरदायित्वको तौल छ’ उनी भन्छिन् ।

हेर्दा उमेरले सानै भएपछि उनको कुरा सुन्दा उनी गाम्भीर्य महसुस हुन्छिन् । उनी आफूलाई कडा मिहेनती, अरुको भावना बुझ्ने र लचिलो व्यक्तिको रुपमा व्याख्या गर्छिन् ।

आफूलाई भविष्यमा नीति निर्माण तहमा रहेर काम गर्न मन लागेको बताउने लुना यो विषय रोज्नुको कारण भन्छिन्, ‘यसले समग्र प्रणाली र मुलुकको जनजीवनलाई प्रभावित तुल्याउँछ ।’

आफूले अध्ययन गरेको विषय नर्सिङले अरुको भावना बुझ्न सजिलो हुने र यसले आफूलाई मिस नेपालको प्रतिस्पर्धामा पनि मद्दत मिलेको लुना बताउँछिन् । ‘मैले काम गर्दा भिन्न पृष्ठभूमिबाट आएका बिरामीलाई हेरेँ । भाषा नबुझेपछि उनीहरुको भावना बुझेँ । नर्सिङले अरुको भावना बुझ्न निकै मद्दत पुग्ने रहेछ’ उनी भन्छिन् ।

‘लर्न अर्न रिटर्न’ अर्थात सिक, कमाऊ र फर्क । उनको दर्शन हो । विदेशमा अध्ययन गर्न जान चाहनेलाई उनको सुझाव छ । आफूले संसारका ९ मुलुक घुम्दा त्यहाँका अध्यागमनमा नेपाली पासपोर्ट देखाउँदा हुने अपमान र अवमूल्यन महसुस गरेको उनी बताउँछिन् ।

यसपछि उनको ‘लर्न अर्न रिटर्न’ दर्शन जन्मियो । लुना नेपाली पासपोर्टलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति ठान्छिन् । झट्ट सुन्दा यो कुरा राष्ट्रवादी सुनिएला तर, भोगाइ र अनुभवले उनलाई यो कुरामा परिपक्व तुल्याएको छ ।

‘विदेशको अध्यागमनमा नेपाली पासपोर्ट हेरेर मन एकदमै भारी हुने रहेछ । मेरो एकाउन्टमा करोडौं, अर्बौं किन नहोस् ? देशको इन्जत अन्तर्रष्ट्रिय तहमा छैन भने समस्या हुने रहेछ’ उनी भन्छिन्, ‘जहिले पनि अध्यागमनमा पुगेपछि मलाई तनाव हुन्थ्यो किनभने मसँग नेपाली पासपोर्ट थियो ।’

अघि भन्छिन्, ‘हामी विदेश गएपछि त्यहाँको नागरिकता लिन्छौं । नेपाली पासपोर्ट एक्सचेन्ज जगर्न लाइन बस्छौं । मेरो सबैभन्दा ठूलो सम्पत्ति भनेकै नेपाली पासपोर्ट हो’ उनी भन्छिन् ।

९ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी लुना त्यहाँकी पर्मानेन्ट रेसिडेन्ट हुन् । उनको लागि नागरिकता लिने बाटो पनि खुला छ । तर, उनी आफ्नो नेपाली पहिचान गुमाउने सोचमा छैनन् ।

‘म नेपालकै नागरिक हो । अब अस्ट्रेलियामा बस्दिन । मेरो सम्पत्ति, पहिचान नेपाली पासपोर्ट हो । नेपालीको पहिचान गुमाएर म बस्न सक्दिन’ उनी भन्छिन् ।

लुनालाई प्रश्न : मिस नेपालको प्लाटफर्मबाट कस्तो सामाजिक र स्वास्थ्यका मुद्दा उठाउन चाहनुहुन्छ ?

उनी शिक्षाको माध्यमबाट हुने छोरा र छोरीबीचको भेदभावलाई अन्त्य गर्न चाहन्छिन् ।

‘मलाई लाग्छ, महिला र पुरुष समानरुपमा जन्मिएका हुन् । त्यहाँदेखि दुबैलाई समान अवसर दिइएको छैन । महिलाको लागि पढाइको पहुँचदेखि घरको काममा सीमित हुनुपर्छ । बोर्डिङ र पब्लिक स्कुलमा धेरै भिन्नता छ । छोरा भयो भने बोर्डिङमा पढाउने, छोरी भएपछि रत्नराज्यमा पढाउने भन्ने छ । यो असमानतालाई अन्त्य गर्न जरुरी छ । शिक्षा प्रमुख कुरा हो निजी र सरकारी स्कुलबीच समानता ल्याउन । यस्तो भयो भने आफ्नो लागि आफै गर्न सकिन्छ’ उनी भन्छिन् ।

जेन-जीले अरुको जीवन पद्दतिमा प्रभाव पार्ने कार्य गर्न जरुरी रहेको उनी बताउँछिन् । ‘म सबै जेनजीको तर्फबाट भन्न त सक्दिन तर, मलाई लाग्छ । हामी खान, लाउन र हिँड्न सक्षम छौं । यद्यपि, अरुको जीवनमा प्रभाव पार्ने कार्य गर्न जरुरी छ ।’

स्कुभ डाइभिङ, बाँसुरी बजाउने र पौडी उनका रुचि हुन् । यी स्वभावले आफूलाई ग्राउन्डेड हुन भूमिका खेलेको उनको अनुभव छ । ‘जब तपाईं स्कुभ डाइभ गर्नुहुन्छ, त्यहाँभित्रको संसार र ल्यान्डस्केप भिन्न छ । त्यहीँनेर मान्छ र कछुवा पौडिरहेका छन् । यसले धेरै डाउन टु अर्थ गराउने रहेछ’ उनी भन्छिन् ।

फुर्सद हुँदा, ड्राइभ गर्दा र घरको काम गर्दा लुना जहिल्यै पडकास्ट सुन्छिन् । निखिल कामत उनले धेरै सुन्ने पडकास्टर हुन् ।

‘किनभने टेबुलमा आउने हरेक दृष्टिकोण उहाँबाट पाएँ । एउटा पक्षको मात्र कथा सुन्नुको साटो, हरेक कोणबाट दृष्टिकोण बनाउन मलाई पडकास्टले मद्दत गर्‍यो’ उनी भन्छिन् ।

उनी आफूजस्तै रोल मोडल बन्न चाहने नेपाली युवतीलाई आफूमा विश्वास गर्नुपर्छ भन्ने सुझाव दिन्छिन् । ‘आफूमा विश्वास गर्नुस, नेपाल र विश्वमा धेरै बहुआयामिक समस्या छन् । मिलेर समाधान गर्नुपर्छ’ उनको जोड छ ।

अबको ५ वर्षमा आफूलाई नीति निर्माण गर्ने थलोमा देख्न सकिने उनको भनाई छ ।

मिस नेपाल २०२५ को ग्राउन्ड फिनालेमा जजले प्रतिस्पर्धीलाई सोधेका थिए- ब्यूटी पेजेन्टको कुनै एक दृष्टिकोण बदल्नुपर्‍यो भने कुन कुरालाई परिवर्तन गर्नुहुन्थ्यो ?

यो प्रश्न हामीले पनि लुनालाई सोध्यौं । उनले फिनालेमा दिएको जवाफ दोहोर्‍उँदै भनिन्, ‘हामीले ब्यूटी पेजेन्टलाई शारिरिक सौन्दर्यको कोणबाट मात्र हेर्‍यौं । यो भनेको एउटा संकल्प पनि हो । जस्तै मैले लिएको- लर्न अर्न रिटर्न । बाहिर जाने अनि सिस्टम बुझेर फर्किन् । यसरी नेपाललाई महान बनाउन सक्छौं ।’

विस्तृत कुराकानी भिडियोमा हेर्न सक्नुहुन्छ ।

भिडियो सम्पादन : कमल प्रसाईं

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?