Comments Add Comment

एक ट्वीट जसले चीन–अष्ट्रेलिया सम्बन्धमा झन् तनाव बढायो

१८ मंसिर, काठमाडौं । एक विवादित ट्वीटर पोस्टका कारण पछिल्लो केही दिनयता चीन–अष्ट्रेलियाबीच एक अर्काप्रति कडा अभिव्यक्तिदेखि वीच्याटमा सेन्सरसीपसम्मका घटना भइरहेका छन् ।

यी दुई मुलुकबीच केही समययता चिसिएको आपसी सम्बन्धमा चिनियाँ सरकारका एक शीर्ष अधिकारीले पोस्ट गरेको नक्कली फोटोसहितको उक्त ट्वीटले आगोमा घिउ थप्ने काम गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झुआ लिचियानले गरेको ट्वीटको तस्वीर नक्कली भएपनि त्यसले तनाव चाहिँ यथार्थमै बढाएको छ ।

‘ठाडो अपमान’

गत सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिचियानले अफगानी सेनाले अफगानी युद्धमा गरेको अपराधप्रति प्रतिक्रिया दिँदै एक नक्कली फोटो पोस्ट गरेका थिए ।

उक्त फोटोमा एक अष्ट्रेलियाली सैनिकले भेडा बोकिरहेको, अफगानी बालकको घाँटीमा रगत लागेको चक्कु राखेर बसिरहेको देखिन्छ ।

उक्त फोटो पोस्ट गर्दै लिचियानले अष्ट्रेलियाली सैनिकले गरेको अफगानी नागरिक र कैदीहरुको हत्याको निन्दा गर्दै अष्ट्रेलियाली सेनालाई जवाफदेही हुन आग्रह गरेका छन् ।

लिचियानले यो ट्वीट गरेको दुई घण्टापछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले राष्ट्रिय टेलिभिजनमा बोल्दै उक्त पोष्टटप्रति चीनले माफी माग्नुपर्ने बताए । अहिलेसम्मकै सबैभन्दा कडा कूटनीतिक भाषा बोल्दै उनले उक्त ट्वीट ‘विशुद्ध अपमानजनक’ रहेको बताएका थिए ।

उनले अफगानी सैनिकले अफगानिस्तानको युद्धमा गरेको अपराधको विषयमा अहिले पारदर्शीरुपमा अनुसन्धानको प्रक्रिया अघि बढाइरहेको बताए ।

उनले लोकतान्त्रिक र उदार मुलुकबाट यस्तो कदमको अपेक्षा गरिने भन्दै अष्ट्रेलियाको बचाउ गरेका थिए ।

यद्यपि उनले चीनलाई यसको जवाफ दिन कूटनीतिक वार्ताको लागि आह्वान पनि गरेका थिए । साथै,उनले दुई मुलुकको सम्बन्ध थप अगाडि बढाउन पनि आग्रह गरेका थिए ।

यद्यपि चीन भने यो विषयमा टसमस भएन । मौरिसनको भाषणको केही घण्टापछि चिनियाँ विदेशमन्त्रालयकी अर्की प्रवक्ता हुआ चुन्यिङले पोस्ट गर्दै लेखिन्, ‘लज्जित हुनुपर्ने चीन होइन, अष्ट्रेलिया हो ।’

चिनियाँ सामाजिक सञ्जाल वेईबोमा यो फोटो बनाउने व्यक्तिले पनि फोटो राख्दै आफूले ‘बूढो मौरिसन’बाट प्रतिक्रियाको अपेक्षा नगरेको उल्लेख गरेका थिए । त्यसपछि धेरै मानिसहरु आरोप प्रत्यारोप र गालीगलौजमा उत्रिए ।

फ्रान्सले उक्त फोटो अफगानिस्तानको युद्ध लडिरहेका मुलुकहरुको लागि अपमानजनक रहेको प्रतिक्रिया दिएको थियो भने न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले उक्त ‘तथ्यहीन पोस्ट’प्रति आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् । त्यस्तै अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले पनि चिनियाँ प्रवक्ताको उक्त कार्यको निन्दा गरेका थिए ।

अझै बचाउ गर्दैछ चीन

चीनले भने यो मामिलामा अझै पनि माफी माग्ने छाँट देखाएको छैन । बरु उल्टै उसले यो पोस्टको बचाउ गर्दै आएको छ । चीनले उक्त फोटो वास्तविक नभई व्यंग्य चित्र रहेको र यस विषयमा आएका प्रतिक्रियाहरु अनावश्यक भएको बताएको छ ।

चीनले भनेको छ, ‘चीनमाथिको आरोपहरु मुख्यगरी दुई प्रयोजनका साथ आएको छ । एक, अष्ट्रेलियाली सैनिकले अफगान युद्धमा गरेको युद्ध अपराधको विषयमा मानिसको ध्यान भड्काउन र अर्को द्विपक्षीय सम्बन्ध बिग्रनुमा चीन दोषी रहेको देखाउन् ।’

त्यस्तै पेरिसस्थित चिनियाँ दूतावासले फ्रान्सको जवाफ दिँदै व्यंग्य चित्र बनाउन पाउने स्वतन्त्रताको विपक्षमा वकालत गरेको आरोप लगाएको छ ।

त्यस्तै मंगलबार अष्ट्रेलियाली प्रधानमन्त्री मौरिसनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमार्फत विशेषगरी अष्ट्रेलियामा बसोबास गरिरहेका चिनियाँहरुलाई लक्षित गर्दै दुई मुलुकको तनावले आफ्नो मुलुकमा बसोबास गरिरहेका मानिसहरुप्रति आफ्नो सम्मानमा कुनै कमी नआउने बताएका थिए ।

साथै, उनले चिनियाँ अधिकारीको ट्वीटको आलोचना गर्दै युद्ध अपराधमा अष्ट्रेलियाले चालेको कदमको बचाउ पनि गरे ।

ब्लक गरिएको म्यासेज

बुधबार बिहानसम्म मौरिसनको म्यासेज ५० हजारभन्दा धेरै वीच्याट प्रयोगकर्ताले हेरिसकेका थिए । यद्यपि बेलुका उक्त पोस्ट वीच्याटले हटाइदिएको थियो । वीच्याटले यो पोस्टले सामाजिक सञ्जाल प्लेटफर्मको नियम उल्लंघन गर्नुका साथै ऐतिहासिक घटनाक्रमहरु बंग्याइएको र जनतामा भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाइएको छ ।

त्यसपछि ग्लोबल टाइम्समा एक सम्पादकीय र कार्टुन प्रकाशित भएको छ । उक्त सम्पादकीयमा उल्लेख गरिएको छ, ‘केही पश्चिमा मानिसहरु चिनियाँको आलोचना गर्न निकै अभ्यस्त छन् । पश्चिमाहरु बाघजस्तै हुन् कसैले पनि त्यसको ढाडमा छुने दुस्साहस गर्न सक्दैन ।’

मुद्दा सकिएको हो त ?

चीन र अष्ट्रेलियाबीचको सम्बन्ध यस वर्षको सुरुआतदेखि नै चिसिन थालेको थियो । अष्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे जाँच हुनुपर्ने माग गरेसँगै चीन र अष्ट्रेलियाको सम्बन्ध चिसिन थालेको थियो ।

यसबीचमा उनीहरुको बीचमा आरोप प्रत्यारोपका साथै केही आर्थिक प्रतिबन्धको कदमहरु पनि चालिएका थिए ।

यद्यपि ट्वीटको युद्धले भने उनीहरुको सम्बन्धलाई नयाँ अवस्थामा ल्याएको विश्लेषकहरु बताउँछन् ।

अष्ट्रेलिया चाइना रिलेसन इन्स्टिच्युटका प्राध्यापक जेम्स लाउरेसन झाओ लिचियान त्यस्तै प्रवृतिका मानिस भएकाले पनि यो विवाद आएको बताउँछन् । उनका अनुसार यसअघि अन्य मुलुहरुसँग पनि उनले विवादास्पद ट्वीटहरु पोस्ट गरेका थिए । यद्यपि अष्ट्रेलियाले पनि शान्तिपूर्ण तरिकाले आफ्नो प्रतिक्रिया दिन नसकेको उनको भनाइ छ ।

अब यी दुई मुलुकबीच देखिएको कूटनीतिक तनावले कस्तो मोड लिन्छ ? भन्ने आगामी दिनले देखाउनेछ । अष्ट्रेलियाले ट्वीटरसँग चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लिचियानको पोस्ट डिलिट गर्न माग गरेको थियो ।

तर, ट्वीटरले उक्त माग अस्वीकार गर्दै उनको पोस्टलाई छोपेको थियो । उनले प्रोफाइलले पिन्ड पोस्टमा रहेको उक्त ट्वीट अहिलेसम्म ६५ हजारभन्दा धेरैले लाइक गरिसकेका छन् भने १७ हजारभन्दा धेरै रिट्वीट भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment