Comments Add Comment

विष्णु पौडेल र ईश्वर पोखरेलसँग खासखुस गरेपछि प्रचण्ड ‘ब्याक’

बैठक सार्ने प्रचण्डको प्रस्तावमा झलनाथ, माधव र नारायणकाजीको टिप्पणी

१७ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डाकिएको थियो । तर, प्रधानमन्त्री ओली बैठकमा आएनन् । ओलीको अनुपस्थितिमा ८ भाइ नेताहरुले २० मिनेटजति छलफल गरे । र, मंसिर २० सम्मका लागि बैठक स्थगन गरियो ।

बैठक सुरु हुनै लाग्दा कार्यकारी अध्यक्ष र महासचिवले बाहिर निस्केर केहीबेर खासखुस गरे । त्यसपछि ईश्वर पोखरेललाई पनि बोलाइयो ।

खासखुस सकेर बैठक कक्षमा प्रवेश गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले भने, कमरेड केपी ओली बैठकमा आउनुभएन । बैठकमा उहाँको उपस्थिति अनिवार्यजस्तै हुन्छ, उहाँविना बैठक गर्नु उचित हुँदैन, त्यसैले आजको बैठक स्थगित गरौं र २० गते अर्को बैठक गरौं ।’

कार्यकारी अध्यक्ष प्रचण्डले यति भनिसक्दा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डमाथि प्रश्न उठाए ।

‘कमरेड केपी ओली बैठकमा आउनुपर्‍यो नि ? अकारण बैठकमा नआउने ?’ वरिष्ठ नेता खनालले भने, कोही व्यक्ति नआउँदैमा बैठकै हुँदैन भन्न मिल्दैन ।’

अर्का नेता माधवकुमार नेपालले पनि बरु दुई दिन बैठक सार्न सकिन्छ, तर कोही नआउँदैमा बैठकै हुँदैन भन्न नमिल्ने भन्दै प्रचण्डको भनाइप्रति टिप्पणी गरे ।

प्रवक्ता नरायणकाजी श्रेष्ठले पनि केपी ओली नआउँदा बैठकै हुँदैन भन्न नमिल्ने बताउँदै प्रचण्डको भनाइको आलोचना गरे ।

सहभागी नेताका अनुसार अध्यक्ष ओली नआउँदैमा बैठक बस्न मिल्दैन भन्ने आशयको प्रचण्डको भनाइको खनाल, नेपाल र श्रेष्ठले खण्डन गरेपछि प्रचण्डले आफूलाई सच्याए ।

आफूले बैठकै हुँदैन भन्न खोजेको नभई गृहकार्यका लागि केही समय दिऔं र अध्यक्ष ओलीसमेतको सहभागितामा बैठक बसौं भन्न खोजेको प्रचण्डले स्पष्टीकरण दिए ।

त्यसरी गृहकार्यका लागि समय लिने कुरा ठीकै हो भन्दै अन्ततः मंसिर २० गते सचिवालयको अर्को बैठक बस्ने सर्वसम्मति जुटेको एक नेताले बताए ।

यो पनि पढ्नुहोस नेकपा बैठकमा अध्यक्ष ओली अनुपस्थित, स्थायी कमिटी बैठक पनि सर्‍यो

बुधबारको बैठकमा प्रधानमन्त्री ओली बाहेक सचिवालयका आठैजना नेताहरु उपस्थित थिए । गृहमन्त्री रामबहादुर थापा बादल बैठकमा ढिलो पुगेका थिए ।

भोलि मंसिर १८ गते स्थायी कमिटीको बैठक बोलाउने यसअघि मंसिर ३ मा बसेको सचिवालय बैठकले निर्णय गरेको थियो । अब २० गते पुनः सचिवालय बस्ने भएपछि १८ गतेको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

त्यसैगरी, मंसिर २५ गते केन्द्रीय कमिटीको बैठक बस्ने पूर्व कार्यसूची छ । केन्द्रीय कमिटीको बैठक भने स्थगित भएको छैन । तर, २० गते बस्ने भनिएको सचिवालय बैठक ठोस सहमतिमा पुगेन भने केन्द्रीय कमिटीको बैठक पनि प्रभावित हुन सक्ने एक नेताले बताए ।

प्रचण्ड एकाएक ‘ब्याक’

प्रचण्ड र माधव नेपाल खेमाका नेताहरु प्रधानमन्त्रीको अनुपस्थितिमा पनि बहुमतका आधारमा बैठक अगाडि बढाउने पक्षमा दृढ देखिँदै आएका थिए ।

तर, बुधबार उनी एकाएक ‘ब्याक’ भए । र, महासचिव अनि ईश्वर पोखरेलसँगको सल्लाहमा स्थायी कमिटीको बैठकको मितिसमेत प्रभावित हुने गरी सचिवालयको बैठक २० गतेसम्मलाई पछि सारे । बैठक सारेर प्रचण्ड अनौठो ढंगबाट लचक देखिएको एक नेताले बताए ।

प्रचण्डले सकेसम्म ओलीलाई पनि सहमतिमा लिन र गृहकार्यका लागि समय प्रदान गर्न बैठक सारिएको नेताहरुलाई बताएका छन् । तर, माधव नेपाल र झलनाथ खनालले भने बुधबारको सचिवालय बैठकसमेत नबसी केपी ओलीको अनुपस्थितिका कारण बैठक सारिनु उचित नहुने भन्दै प्रचण्डसँग असन्तुष्टि जनाएको स्रोतले बतायो ।

त्यसो त बुधबार दिउँसो बालुवाटारमा बैठक बस्नुपूर्व बिहान खुमलटारमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमवीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो । त्यहाँ पनि प्रचण्डले ‘दुई दिन बैठक सारौं भन्दैछन्, के गरौं ?’ भनेर नेताहरुलाई सोधेका थिए ।

अन्ततः बैठक तीन दिनका लागि सरेको छ । तर, २० गते बस्ने भनिएको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित हुन्छन् वा हुँदैनन् भन्ने निश्चित छैन । त्यो बैठकअघि ओली र प्रचण्डबीच कुनै सहमति भइहाल्ने सम्भावना तत्काल नरहेको नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डको १९ पन्ने प्रस्ताव फिर्ता हुनुपर्ने र उनले माफी माग्नुपर्ने अडान राखेका छन् । प्रचण्डले प्रस्ताव फिर्ता नलिने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment