Comments Add Comment

वीर अस्पतालको गेटमै ढलको पोखरी

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘शोभनीय भएन, संक्रमण फैलिने भयो, महानगरको पनि बेइज्जत भयो’ भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी प्रभावित भोका नागरिकलाई रत्नपार्क र खुलामञ्च क्षेत्रमा खाना खुवाउन प्रतिबन्ध लगायो ।

रत्नपार्क नजिकै रहेको वीर अस्पताल अगाडिको दृश्य देख्नुभयो भने महानगरका पदाधिकारीलाई भन्दा बढी लाज आम नागरिकलाई लाग्छ ।

न यो बर्खा हो न लामो समयदेखि पानी नै परेको छ । तर, नेपालको सबैभन्दा पुरानो अस्पतालको मूल गेटमै पानी जमेर आहाल बनेको छ । वीर अस्पतालसहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी जमेको हो ।

हप्ता दिन भन्दा बढी बितिसक्दा पनि महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यो आहाल नदेखेको हैन । यहाँ दिनमा दर्जर्नौं पटक सहरी सुव्यवस्थाका लागि खटिएका नगरप्रहरी आवात–जावत गर्छन् । तर, यो ढलको व्यवस्थान गर्न न महानगरपालिकाले चासो दिएको छ न केयूकेएलले नै ।

सडकमा यस्तो समस्या आउँदा काठमाडौं महानगरपालिकाले समन्वय गरेर छिटो समाधानमा जोड दिनुपर्ने हो । तर, महानगरपालिका यो काम आफ्नो क्षेत्राधिकारभित्रको नभएको भन्दै पन्छिएर बसेको छ ।

सडकमा ढल जमेकाले सडक विभागले पनि यसमा चासो देखाउनुपर्ने हो । तर, सरोकारवाला निकायले पनि यो ढलको पोखरी देखेर पनि अनदेखा गरेका छन् ।

त्यसका कारण स्थानीय क्षेत्रमा कोरोनासहित अन्य रोग संक्रमण फैलिने जोखिम छ । अझ अस्पतालजस्तो सरसफाई चुस्त राख्नुपर्ने क्षेत्रमा ढल खुल्लै सडकमा बगिरहँदा अस्पतालमा आएका बिरामी र कुरुवा आफन्त थप जोखिममा छन् ।

यो अस्पतालमा कोभिड–१९ संक्रमितको पनि उपचार हुन्छ । त्यहाँबाट निस्किएको ढल सिधै सडकमा आइपुगेको छ । त, त्यही ढलबाट स्थानीयबासी र पैदलयात्रु सास्तीपूर्ण तवरले बाटो काट्छन् ।

‘हाम्रो जिम्मेवारी होइन’

सवारी साधन ढलको पोखरीबाट पानी छ्याप्दै ओहोर–दोहोर गर्छन् । तर, यो ढलको व्यवस्थापन गर्न कसैले चासो दिएको छैन ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली सडक खनेर ढल बनाउनुपर्ने हो भने काम आफूहरूले सहजै अनुमति दिने बताउँछन् । तर, सम्बद्ध निकायले छिटो काम गर्न चासो नदिएको उनको गुनासो छ । ‘बाटो पनि बिग्रन लागिसक्यो,’ उनी भन्छन्,‘सडकमा ढल बग्दा जनताको स्वास्थ्यमा पनि जोखिम बढेको छ ।’

केयूकेएलका ढल माहाशाखाका प्रमुख अर्जुनबाबु ढकाल भने वीर अस्पतालभित्रैको ढल प्रणालीका कारण सो ढल सडकमा निस्किएको बताउँछन् । ‘केही समयअघि जेटर लगाएर फ्लसिङ गरेका थियौं, तर, महाकांल हुादै आउने ढलको बाटो पत्ता लगाउन सकेका छैनौं,’ उनी भन्छन्, ‘अब वीर अस्पतालकै कम्पाउन्डबाट नयाँ ढल राखेर हेर्छौं ।’

उनले बर्खायामदेखि नै सो स्थानको ढल प्रणालीमा समस्या देखिएको बताए । फ्लसिङपछि समस्या केही समय हटेपनि फेरि दोहोरिएको उनले बताए ।

‘भोलि नै आवश्यक काम गर्न इन्जिनियर पठाउँछु,’ उनी भन्छन्, ‘हिजो मात्रै वीर अस्पतालबाट यसबारे जानकारी आएको थियो ।’

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment