News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले १३ देशका लागि प्रस्ताव गरेका राजदूतमध्ये मलेसिया, साउदी अरब र जापानका लागि प्रस्तावित तीन जनाको नाम संसदीय सुनुवाइमै रोकिएको छ।
- मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारमाथि उठेका गम्भीर उजुरीका कारण समितिले उनीहरूको नाम अस्वीकृत गरेको थियो।
- जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाले स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्नको जवाफ दिन नसकेपछि सोमबार नाम फिर्ता लिएका छन्।
१६ कात्तिक, काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि प्रस्ताव गरेका राजदूतमध्ये तीन जना प्रस्तावित राजदूत संसदीय सुनुवाइको प्रक्रियामै रोकिएका छन् ।
मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेल स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका उजुरी आएसँगै प्रस्तावित पदमा पुग्न सकेनन् ।
साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारमाथि विवाहेत्तर सम्बन्ध राखेको, मेलमिलाप गर्दै पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि यातना, धम्की र आत्महत्या गर्न दबाब दिएको आरोप लाग्यो ।
जर्मन सरकारले हिरासतमा राखी हत्कडी लगाएर नेपाल डिपोर्ट गरेको, प्रहरीको बढुवाका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर ३३ लाख रुपैयाँ लिएको, पैसा उठाउने र व्यवस्थापन गर्ने गरेको लगायतका आरोप लागेपछि संसदीय सुनुवाइकै क्रममै रोकिए ।
यी दुवैको नाम प्रस्तावित पदका लागि सुनुवाइ समितिले गत २८ असोज मा अस्वीकृत गरेको थियो । सोही दिन अन्य १० देशका लागि प्रस्तावित राजदूतको नाम भने सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
संसदीय समितिबाट अनुमोदन भएका राजदूतहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा रहेका छन् ।
जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि ओमान पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मञ्चला झाको नाम पनि सुनुवाइ समितिबाट अनुमोदन भयो ।
एकै दिन १० देशका राजदूतको नाम अनुमोदन हुँदा मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत खरेल र साउदी अरबका लागि प्रस्तावित सुनारको नाम अनुमोदन भएन ।
त्यसदिन सुनुवाइ समितिले जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाममा भने कुनै निर्णय गरेन ।
थापाका सम्बन्धमा उनले जापानमा पीआर लिएको र त्यहाँको सरकारी सेवामा काम गरेको लगायतका उजुरी थिए । सुनुवाइका क्रममा उनको श्रीमतीको पनि पीआर रहेको, जापानमा घर र सम्पति तथा लगानी रहेको विषय उठ्यो ।

त्यसदिन सत्तारुढ दल रास्वपाकै सांसद मधुकुमार चौलागाईंले प्रश्न गरेका थिए, ‘जुन देशमा लामो समय काम गर्नुभयो, जुन देशमा पिआरसहित तपाईंका परिवार बस्दै आएका छन् । जापनमै सम्पति जोड्नुभएको छ । अनि त्यही देशमा तपाईंले नेपालको प्रतिनिधित्व गर्दा स्वार्थ बाझिने अवस्था कसरी आउँदैन ?’
समितिका अन्य सदस्यहरूले पनि यसबारे प्रश्न गरेका थिए । त्यसयता थापाले सोमबार अर्थात्, २० दिनसम्म स्वार्थको द्धन्द्धसम्बन्धीको प्रश्नको जवाफ दिने प्रयास गरे ।
सुनुवाइ समितिले पनि यससँग सम्बन्धित रहेर उठेका विषयको वास्ताविकता खोज्यो । सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग थप विवरण माग्यो । जापान सरकारका सरकारी निकायबाट थापाले कुनै नियुक्ति लिएका थिए कि थिएनन् ? भनेर सोध्यो । जापानको सरकारी कोषबाट पारिश्रमिक वा अन्य सुविधा पाएका थिए कि थिएनन् ? भनेर खोज्यो । जापानको एक फाउन्डेसनसँग उनको संलग्नता रहेको भनेर त्यसको प्रकृति केलायो । ठोस जवाफ प्राप्त गर्न सकेन ।
अन्ततः सोमबार थापा आफैँ पछि हटे । नाम फिर्ताको निवेदन दिए ।
यो सँगै १३ प्रस्तावित राजदूतमध्ये ३ जना नियुक्ति प्रक्रियामा पुग्न नसकेका हुन् ।
सरकारले यसपटक खुला प्रतिस्पर्धा मार्फत् आवेदन मागेर राजदूत सिफारिस गरेको दाबी गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार राजदूतका लागि २०८३ असार ४ गतेसम्म आवेदन दिने समय तोकिएको थियो । तोकिएको समयभित्र ४ हजार ४ सयभन्दा बढी आवेदन संकलन भएका थिए । उक्त आवेदनमा रहेका नामहरू संकलन गरी छनोट प्रक्रिया अघि बढाइएको थियो ।
दोहोरिएका र अपूरा आवेदन हटाउँदा तीन हजार बढी आवेदन छनोट भएका थिए । त्यसपछि विभिन्न चरणको छनोट प्रक्रिया पूरा गर्दै करिब एक सय आवेदन अन्तिम सूचीमा राखेर परराष्ट्रमन्त्रीको सचिवालयमा पठाइएको थियो ।
त्यसपछि परराष्ट्र मन्त्रालयले उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव र कार्यक्षमतासहितका विवरण अध्ययन गरेर उनीहरूको नाम मन्त्रिपरिषद्मा सिफारिसका लागि पठाएको थियो ।

यसरी दोहोरिएका र अपूरा आवेदन हटाएर रहेका तीन हजार बढी आवेदनबाट छानिएका १३ प्रस्तावित राजदूतमध्ये तीन जनामा पनि कैफियत देखा परेको हो ।
धेरै चरण पार गरेर नाम प्रस्तवित गरिएको भनिए पनि सुनुवाइका क्रममा सिफारिस भएका व्यक्तिहरू गम्भीर चारित्रिक विवादहरूमा फसेको विवरण सार्वजनिक भए ।
जसउपर गम्भीर उजुरी थिए तिनमाथि संसदीय समितिले सम्बन्धित व्यक्तिहरूसँगै सोध्यो ।
मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका गम्भीर उजुरी थिए ।
ती उजुरीहरूमाथि सांसदहरूले राखेका जिज्ञाशामा खरेलले चित्तबुझ्दो जवाफ दिन सकेनन् ।
साउदी अरबमा प्रस्तावित राजदूत सुनारले समितिमा जवाफ दिने क्रममा जसमाथि महिला हिंसा भएको भनेर उजुरी परेको थियो उनीसँग प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका थिए ।
‘परस्त्री सम्बन्ध स्वीकार गरेको’ भनेर सुनुवाइकै क्रममा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले यो उच्च नैतिक चरित्रको विषय नभएको स्मरण गराएका थिए ।
उनका अनुसार सरकारले गर्ने निर्णय पनि जाँच गर्दा कतै उच्च नैतिक चरित्र नभएको व्यक्ति भेटिन सक्छ भनेरै नेपालले संसदीय सुनुवाइ समितिको अवधारणा अवलम्बन गरेको हो ।
‘सरकारका कतिपय निर्णय जान अन्जानमा समेत त्रुटि हुन सक्छ । जानजान पनि हुन सक्छ र त्यसमाथि संसद्ले हेर्नुपर्छ भनेर संसदीय सुनुवाइको व्यवस्था हामीले अपनाएका हौं’ ढुंगानाले २८ असोज २०८३ मा सुनुवाइ समितिको बैठकमै भनेका थिए ।
हाल रास्वपाको करिब दुई तिहाइ बहुमतको सरकार छ । रास्वपाकै सरकारले नियुक्तिका लागि सिफारिस गरेकाहरूउपर रास्वपाकै एकल बहुमत रहेको संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्दा गलत व्यक्ति रहे अनुमोदन नगर्न सक्छ भन्ने नजिर स्थापति गरेको छ ।
सोमबार जापानका लागि प्रस्तवित राजदूतको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको सुनुवाइ समितिको बैठकमा पनि सुनुवाइ समिति कति शक्तिशाली छ र कति विवेक प्रयोग गर्न सक्छ भनेर सांसदहरूले व्याख्या गरे ।
‘यो घटनाले संसदीय सुनुवाइ समिति औपचारिकता पूरा गर्ने थलो मात्रै होइन भन्ने सन्देश दिएको छ’ नेकपा एमाले संसदीय दलकी उपनेता समेत रहेकी सुनुवाइ समिति सदस्य अर्यालले भनिन् ।
संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था संविधानको धारा २९२ मा छ ।
जसअनुसार संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संसदीय सुनुवाइ हुनुपर्छ ।
यसअनुसार प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूले संसदीय सुनुवाइ फेस गर्नुपर्छ । संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग, महालेखा परीक्षक आदि पर्दछन् ।
विभिन्न देशका लागि मन्त्रिपरिषदले सिफारिस गर्ने नेपाली राजदूतले पनि सुनुवाइ समिति पार गर्नुपर्छ ।
यस निम्ति संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू रहने गरी १५ सदस्यीय सुनुवाइ समिति रहने संवैधनिक व्यवस्था छ । सुनुवाइ समितिमा २७५ सदस्यीय प्रतिनिधि सभाबाट १२ जना र ५९ सदस्यीय राष्ट्रिय सभा ३ जना गरी १५ जना सदस्य रहन्छन् ।
संसदीय सुनुवाइ समिति सदस्य मधुकुमार चौलागाईं आफूहरू व्यक्ति हेरेर सुनुवाइ समितिले निर्णय गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् ।
‘गलत व्यक्ति कहीँ नियुक्त हुँदैछ भने त्यो रोक्ने जिम्मेवारी सुनुवाइ समितिको हो’ उनी भन्छन्, ‘गलत व्यक्ति कहीँ जिम्मेवारी लिएर पुग्दैछ भने त्यसको साक्षी बस्ने काम हामीबाट हुँदैन ।’
प्रतिक्रिया 4