Comments Add Comment

किन हुन्छ हृदयाघात ?

अप्रत्यासित रूपमा अपर्झट हुने तत्काल आपतकालीन व्यवस्थापन हुन नसके ज्यानै समेत जान सक्ने र बाँचिहाले पनि स्वस्थ र स्तरीय जीवनको महसुस गर्न नदिने वा जीवनभर परावलम्बी र पराश्रित भएर बाच्नुपर्ने तर जोखिम कारक तत्वहरूको निदान गरी हटाउन सके ठीक पार्न पनि सकिने मुटु तथा रक्तनलीका रोगका कारणले संसारभर प्रत्येक वर्ष एक करोड ७७ लाख मानिसहरू मरिन्छन् । सन् १९२० देखि अमेरिकामा सन् १९३० देखि बेलायतमा १९८० देखि नेपाल, भारत, मलेसिया, मोरिसस र श्रीलंकाजस्ता देशमा महामारीको रूपमा देखा परेको यो रोग अस्पतालका इमरजेन्सी र सघन उपचार कक्ष (आई.सी.यू.) प्रवेशको मुख्य कारण पनि हो ।

यसरी धेरै मानिसहरु मारेर संसारकै सर्वश्रेष्ठ हत्यारा कहलिएको यो रोग विशेषतः मुटुलाई रक्तआपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । हृदयाघात यी धमनी वा धमनीका शाखाभित्र अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भागभन्दा अगाडिका हृदयपेशीहरू अक्सिजन र पोषकतत्वको अभावमा मर्न गई देखा परेको आपतकालीन समस्या हो ।

यो रोग अकस्मात घटित भए तापनि यसको पछाडि  धमनीहरूमा कोलेस्ट्रोल जम्न गई धमनी साँघुर्‍याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौ वर्षदेखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर धेरै  कारणहरू जिम्मेवार भएकाले यस रोगलाई  बहुकारणिक रोग पनि भनिन्छ ।

१९८१ मा सर विलियम्सले मुटुरोगका २४६ कारणहरुको खोजी गरेका थिए जसमध्ये ५४ वटा आनिबानीसँग, १६ वटा शरीर तथा जैविकतासँग, ४४ वटा रगत र रगतको रोगसँग४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरीर रचनासँग १६ वटा वंशानुगत, हुन भने ५ वटा वातावरण र ६ वटा दवाइ तथा औषधोपचारसँग सम्बन्धित छन् । यीे कारणहरुलाई उल्टाउन सकिने र नसकिने गरी २ समूहमा विभाजन गरिएको छ ।

उल्ट्याउन नसकिने कारणहरूः

मुटु रोगका यस्ता कारणहरू पनि छन् जसलाई उल्ट्याउन वा हटाउन सकिँदैन । ४० वर्ष पछिको उमेर, पुरूष लैङ्गिकता र  हृदयाघातको पारिवारिक इतिहास यो रोगका उल्ट्याउन नसकिने कारणहरू हुन् ।

१) उमेरः ४० वर्षको उमेर पारगरिसके पछि हरकसैलाई मुटुरोग लाग्ने खतरा रहन्छ । यसो हुनुको मुख्य कारण उमेर बढ्दै गएपछि धमनीहरूमा कोलेस्ट्रोल जम्मा भएर धमनीहरू साँघुर्‍याउने समस्या तीब्र हुनाले हो । यदि ४० वर्षभन्दा पारिको उमेरसँगै व्यक्तिमा अन्य जोखिमहरु पनि भए हार्टएट्याक चाँडै हुन सक्छ ।

२) पुरुष लैङ्गिकताः हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्टो«जन नामक सेक्स हारमोनले हृदयघातबाट बचाउने वैज्ञानिक दाबी छ । यसका अलावा महिलाहरुमा कम तनाव वा सहज व्यक्तित्व कम सुर्ती सेवन तथा धुम्रपान जस्ता अन्य जोखिम कम हुने हुनाले हृदयघात कम हुने मानिन्छ तर यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरुष बराबर नै हृदयघातको जोखिम रहन्छ । महिनावारी सुकेका पाठेघर तथा डिम्बसायका अपरेसन गराएका गर्भ निरोधक चक्की खाने र धेरैचोटि गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ ।

३) पारिवारिक इतिहासःहृदयघात अनुवांशिक रोग पनि हो । जुन आमा-बुबाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुब्ला पातला भएपनि उनीहरुको कलेजोले प्राकृतिक रूपमै धेरै कोलेस्ट्रोल बनाउँछ फलतः हृदय रुग्ण भई हृदयघात हुन सक्छ । यस्ता व्यक्तिहरुले जीवनशैली परिवर्तनका साथसाथै कोलेस्ट्रोल कम गर्ने औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ ।

उल्ट्याउन सकिने कारणहरूः

जीवनशैली परिर्वतन गरेर वा औषधिसेवन गरेपश्चात न्यूनीकरण गर्न वा हटाउन सकिने कारणहरूलाई उल्ट्याउन सकिने कारण भनिन्छ ।

१) उच्च रक्त संयुक्त कोलेस्ट्रोलः

कोलेस्ट्रोल रगतमा पाइने र शरीरलाई चाहिने एक किसिमको चिल्लो पदार्थ हो । तर यो तत्वको रक्तमात्र सामान्यभन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरूमा जम्नगई हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस जस्ता समस्या गराउँदछ । माछा, मासु, अण्डा, दूध, दही, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्ट्रोल पाइन्छ, वनस्पतिजन्य चिल्लोमा पाइँदैन ।

यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्ट्रोललाई कलेजोबाट अन्य तन्तुमा पुर्‍याउनुपर्ने हुन्छ । कलेजोमा बनेको  कोलेस्ट्रोललाई रगत भएर ट्रान्सपोट गर्न केही ट्रान्सपोर्टर प्रोटिनहरू चाहिन्छ । ती प्रोटिनहरूलाई काइलोमाइक्रोन, एलडीएल, भिएलडीएल र एचडीएल प्रोटिन भनिन्छ । यी प्रोटिनहरु ट्राइग्लिसेराइड र कोलेस्ट्रोलसंग जोडिएपछि यसलाई काइलोमाइक्रोन,एलडीएल, भिएलडीएल र एचडीएल कोलेस्ट्रोल भनिन्छ र यी प्रोटिन युक्त वा फ्रि कोलेस्ट्रोल रगतमा घुम्दा चिपचिप भई रक्त नलीका भिताहरुमा टासिन पुग्छ । फलतः रक्तनलीका भित्तामा प्लाक नामक चिल्लोको डल्लो बनाई हृदयघात वा मस्तिस्कघात गराउँछ।

२) उच्च रक्त एलडीएल कोलेस्ट्रोलः

यसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ । यो लिपोप्रोटिनले कोलेस्ट्रोललाई कलेजोबाट अन्य तन्तुहरुसम्म लैजान वाहन तथा कोलेस्ट्रोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यति नै एलडीएलको मात्रा ज्यादा हुन्छ । ज्यादा भएको एलडीएल उपापचयी फ्रि रेडिकलहरुसँग मिलेर रगतका नसाहरूलाई घात गर्नसक्ने विषाक्त तत्वमा परिवर्तित हुन पुगी   रक्तनलीहरूमा सूक्ष्म घाउहरु बनाउँछ । यो घाउ भए पश्चात् उक्त ठाउँ प्रदाहतमक क्रिया सुरु हन्छ र घाउ भएको स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक डल्लो बन्छ ।

यो डल्लोले नसा साँघुर्‍याएर उक्त अंगहरुको रक्त सञ्चारलाई प्रभावित पार्दछ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलियम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टरको उत्पादन कम गराउछ र उक्त नलीहरुलाई टाइट राखिरहन्छ ।

३) उच्च भीएलडीएल कोलेस्ट्रोल : यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नसाका भित्ताहरुमा जम्न पुग्छ र मुटु तथा रक्त नलीका रोग लगाउँछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइडः ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खाने तेल भनिन्छ । तोरी, सूर्यमुखी, भटमास जस्ता वनस्पतीय चिल्लो पदार्थ सबै ट्राइग्लिसिराइडहरु हुन । पाचन पश्चात् ट्राइग्लिसिराइड फ्यायाटी एसिड र ग्लिसरालमा परिवर्तित हुन्छन् । यी फ्याटी एसिड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसिडका रूपमा शरीरमा अवशोषित हुन्छन् । हृदय स्वास्थ्यका लागि पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटी एसिड मुटुका लागि अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घिउ र रिफाइन्ड घिउ तेल, स्याचुरेटेड फ्याट हुन् । तेललाई धेरै तताउँदा वा अन्य तत्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरियल फरमन्टेसन भएर तेल टुटी ट्रान्स फ्याटी एसिड बन्छ । स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडको सेवनले रगतमा एलडीएल कोलिस्ट्रोल र भिएलडीएल  कोलेस्ट्रोलको स्तर बढ्ने र एचडीएल कोलेस्ट्रोलको स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।

५) निम्न रक्त एचडीएल कोलेस्ट्रोल : यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ  । यदि रगतमा एचडीएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्यायर विसर्जन गर्ने क्रिया अवरोध हुने हुदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गयी मुटु तथा रक्त नलिको रोगहरु लाग्दछ ।

६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातः यो अनुपात मुटुरोगको महत्वपूर्ण सूचाकांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचापः  १५ मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ ।  यो रक्तनलीमा रगत बग्दा रगतले रक्त धमनीहरूमा दिएको अतिरिक्त दबाब हो । यसरी लामो समयसम्म रगतले रक्तनलीको भित्तामा दबाबदिँदा धमलीहरूको भित्री पत्र इन्डोथेलियम लेयर क्षतिग्रस्त हुनगई उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रूत गतिमा हुनपुग्छ र हृदयरोग लाग्दछ ।

 ८) मधुमेहः रगतमा ग्लुकोजको मात्रा खाली पेटमा ११० मि. ग्रा. प्रति १०० मिलिलिटर र खाना खाएका दुई घण्टा पश्चात १४० मि.ग्रा.प्रति १०० मिलिलिटरभन्दा ज्यादा भएको अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह हुँदा बढेको ग्लुकोजले ससाना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता कम हुने हँुदा नसालाई  क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्छ । यसो हुँदा रक्तनलीमा चाँडै बोसो जमी हृदयरोग लाग्दछ ।

९) मोटोपनः भोजनमै भएको वा शरीरमा आफैँ बनेको चिल्लो पदार्थ ऊर्जामा परिवर्तित हुन नसकी बोसे तन्तुमा जमेर बडीमास सूचकाङ्क, ३० के.जीप्रति वर्गमिटरभन्दा धेरै भए त्यस्तो अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएका व्यक्तिहरूलाई धेरै किसिमका रोगहरु लाग्ने खतरा हुन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको पनि कारक मानिन्छ । यसकासाथ मोटोपनले मुटुरोगका अन्य जोखिमहरूलाई बढी जन्माउँछ फलतः मोटो मान्छे मुटुरोगको शिकार हुन पुग्छ ।

१०) निष्कृय जीवन : मुटुरोगले श्रम र व्यायाम नगरी निष्कृय जीवन जिउनेहरुलाई ज्यादा मन पराउँछ । निष्कृय जीवन जिउँदा मुटु तथा रक्तनलीलाई व्यायाम हुन सक्दैन । व्यायाम र श्रमबाट भाग्दा कोलेस्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारिरिक तौल घटाउन सकिँदैन । फलतः मुटुरोग चाँडै लाग्ने सम्भावना रहन्छ ।

११) धुम्रपान तथा सुर्ती  सेवन : धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्याँदा रहन्छ । सुर्तीमा रहेका बिषहरूले रगतको कोलेस्ट्रोललाई अक्सिडाइज गरी झन विषाक्त बनाउन मद्दत गर्दछ जसले धमनीहरूलाई क्षतिग्रस्त पार्छ । विषाक्त कोलेस्ट्रोल झन् चिपचिपे भई नसाहरुमा प्लाक बनाउन मद्दत गर्दछ । धुम्रपानले पुर्‍याउने  क्षति व्यक्तिले लिएको चुरोटको संख्यासँग सिधै निर्भर रहन्छ ।  जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ती, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदयरोग कारक हुन ।

१२.मानसिक तनावः वैचारिक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गति, कोलेस्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउँछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

१३.  चोकर र रेसाको कमीः  रेसा र चोक्कर नभएको मसिनो मीठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले बिषाक्त तत्वहरुलाई अवशोषण गरी नशामा बोसो जम्न दिँदैन । मसिनो मीठो खानाले तौल पनि चाँडो बढाउँछ । फलतः मुटु रोग लाग्छ ।

१४.भिटामिन र एन्टीअक्सिडेन्टको कमीः भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट र अन्य सूक्ष्म पोषक तत्वहरूले हृदयरोगबाट बचाउँछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सी र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्वहरु पर्दछन । यसका अलावा एन्टिअक्सिडेन्टको पनि उत्तिकै महत्व छ । एन्टिअक्सिडेण्टले अक्सिडेन्टिव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुनबाट बचाउँछ ।

१५. टाइप ‘ए’ व्यक्तित्व

मुटुरोगले टायप ए’ ब्यक्तित्व भएकाहरुलाई धेरै पनपराउँछ । टायप ए व्यक्तित्व भएका ब्यक्तिहरु अधैर्यवान सधंै तनावमा रहने ईख राख्ने, वैरत्व लिने, आफ्नो हठ र अडानहरू छाड्न नसक्ने प्रवृतिका हुन्छन् । यसको अलावा यी व्यक्तिहरू सधैं हतारमा रहने, समयको अक्षरसः पालना गर्ने, पूर्वाग्रही, आलोचक, अभद्र व्यवहार गर्ने, इष्र्यालु अरूलाई दबाएर राख्ने, प्रतिस्पर्धी, अहंकारी र प्रतिक्रियावादी हुन्छन् । यस्ता व्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउँछ । फलतः मुटु चाँडै रोगी हुन्छ ।

१६. मदिरापान ः मदिरापान र मुटुको स्वास्थलाई लिएर ठूलो विवाद छ । रक्सी खानेहरूले रक्सीलाई मुटुमैत्री माने पनि तथ्य यसको ठीक विपरीत छ । किनकि रक्सीमा भएको एल्डिहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन । रक्सीले खाली क्यालोरी पनि दिन्छ । थोरै मात्रमा रक्सी पिउनु व्यक्ति हानिकारक नभएपनि रक्सी पिउनेले थोरैमात्रा पिउँदैनन् । फेरि रक्सीले कलेजो आन्द्राभुँडी तथा मस्तिष्क तथा अन्य कोमल अंगहरूलाई पनि क्षति पुर्‍याउने हुँदा त्यसको भार पनि मुटुले ब्यहोर्नुपर्छ फलतः मुटु रुग्ण हुन्छ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment