Comments Add Comment

ओली र प्रचण्डलाई मिलाउने राष्ट्रपतिको प्रयास

१८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति कार्यालय शीतलनिवासले प्रयास जारी राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बेग्लाबेग्लै भेट गरिन् ।

भेटमा राष्ट्रपतिले दुबै अध्यक्षलाई विवाद नगर्न र मिलेर अघि बढ्न सुझाव दिएको स्रोतले बतायो ।

नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ । गएको आठ महिना यताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । करिब डेढ घण्टा राष्ट्रपतिसँग भएको भेटमा सरकारी कामकाजका विषयमा कुराकानी भएको र पार्टीको अन्तरविरोधका विषयमा समेत कुरा भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको सचिवालयले भने राष्ट्रपतिसँगको भेटलाई नियमित भनेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउने संवैधानिक व्यवस्थाअनुसार नै ओली शीतलनिवास पुगेको बालुवाटार स्रोतले बतायो । महिला हिंसासम्बन्धी कानून संशोधनसम्बन्धी अध्यादेशमा राष्ट्रपतिले राखेको चासोबारे प्रधानमन्त्रीसँग छलफल भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्केपछि अपरान्ह प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।

ओली फर्किएलगत्तै प्रचण्ड शीतलनिवास पुग्नुलाई चासोका साथ हेरिएको छ । प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टीका नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेको स्रोतले बतायो । प्रचण्डले भने केपी ओलीकै कारण समस्या आएको राष्ट्रपतिलाई बताएका थिए ।

प्रचण्ड शीतल निवास जानु अगाडि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ खुमलटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment