Comments Add Comment

नियत भ्रष्ट भएकाहरुबाट न्याय क्षेत्र बदनाम : न्यायाधीश कार्की

१९ मंसिर, वीरगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले नियत भ्रष्ट भएकाहरुका कारण न्याय क्षेत्र बदनाम भएको बताएका छन् ।

न्यायपालिकाभित्र विद्यमान विकृति विसंगतिबारे अध्ययन गर्ने सिलसिलामा शुक्रबार वीरगञ्ज पुगेका उनले न्याय क्षेत्रका विकृति विसंगति रोक्न सबै सरोकारवालाको भूमिका रहने बताए ।

‘नियत खराब भएको मानिसलाई छाल गन्ने जिम्मेवारी दियो भने त्यसमा पनि खान्छ भनिन्छ । नियत नै खराब हुनेहरुको प्रवेशले गर्दा न्याय क्षेत्र बदनाम भएको छ’ उनले भने ‘यस्ता विकृति रोक्न सबै सरोकारवाला जिम्मेवार हुनुपर्छ ।’

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जमा नागरिक समाज र पत्रकारहरुसँग छलफल गर्दै उनले मुद्धा अनुसन्धानमा देखिएका कमजोरीको दोष पनि न्यायपालिकामाथि लगाउने गरिएको गुनासो गरे ।

‘न्यायाधीशले हेर्ने कागजात र कानुनका सिद्धान्तलाई नै हो । त्यसको मूल्यांकन ठीक ढंगले भएकोे छ वा छैन । छैन भने मानवीय कमजोरीका कारण त्रुटी भएको हो वा नियतवश हो भनेर छानबिन गर्नुपर्ने हुन सक्छ’ उनले भने ।

कुनै मुद्धाका अभियुक्तलाई बाहिर अपराधीकै रुपमा व्यवहार गर्दा न्याय सम्पादनमा कठिनाइ हुनेसमेत न्यायाधीश कार्कीले बताए ।

‘पत्रपत्रिकामा अपराधी कै रुपमा प्रस्तुत गरिएको हुन्छ, नागरिक समाजले त्यस्तै भन्छन् । तर कागजात हेर्दा त्यस्तो देखिदैन, केलाई हेर्ने त ? कहिलेकाहीँ जुलुस नै लिएर अदालत आइरहेका हुन्छन् । त्यसका आधारमा फैसला गर्न त भएन नि । त्यसरी त न्याय मर्छ, हेर्ने भनेको कागजात नै हो’ उनले भने ।

न्यायपालिकाभित्र विकृति विसंगतिको अध्ययन गर्न गठित १० सदस्यीय समितिमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत, न्याय परिषद सदस्य लक्ष्मी बहादुर निराला, नेपाल बार एशोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महान्यायधिवक्ताको कार्यालय, सर्वोच्च अदालत वार एशोसिएसनका प्रतिनिधिलगायत छन् ।

समितिले प्रत्येक प्रदेशका एउटा उच्च अदालत र जिल्ला अदालतमा पुगेर कानुन व्यवसायीहरु, न्यायाधीश, कर्मचारी, नागरिक समाज, पत्रकार र सेवाग्राहीसँग छलफल गर्ने जनाइएको छ ।

समितिले न्यायपालिकामा देखिएका समस्या, न्यायपालिकाका विषयमा सार्वजनिक स्तरमा हुने चर्चा र त्यसले न्याय सम्पादनमा पारेका असरबारे पनि अध्ययन गर्ने न्यायाधीश कार्कीले बताए ।

वीरगञ्जमा आयोजित छलफलमा सहभागी नागरिक समाजका प्रतिनिधि र पत्रकारले न्यायपालिकामा विकृति विसंगति पत्ता लगाउन सुक्ष्म ढंगले अध्ययन गर्न सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बञ्जाराले न्यायपालिकामा भएको अनियमितता हेर्न सर्वसाधारणको भेषमा अदालत वरपर आउन आग्रह गरे ।

पत्रकार गया यादवले अदालतमा विचौलियाको रजगज रहेको बताए । नागरिक समाजका प्रतिनिधि प्रा. डा. दीपक शाक्यले अनियमितता गर्ने सबैभन्दा सुरक्षित ठाउँ नै न्यायपालिका भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment