Comments Add Comment

ओलीले बैठक छल्न पाउनुहुन्न : अष्टलक्ष्मी शाक्य

दुईवटा प्रतिवेदन आउँदैमा पार्टी बिग्रहमा जाँदैन

१९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले शनिबार बस्ने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भाग लिन्न भन्न नपाउने बताएकी छन् ।

शुक्रबार प्रचण्ड– माधव नेपाल समूहका विद्यार्थी भेलालाई सम्बोधन गर्न थापाथली इन्जिनियरिङ क्याम्पसमा आएकी उनले पत्रकारसँगको कुराकानीमा ओली र प्रचण्ड दुबैको प्रतिवेदनले बैठकबाटै निकास पाउनुपर्ने धारणा राखिन् ।

दुईवटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा नजाने भन्दै उनले सचिवालय बैठकमा संयमताका साथ बहस गर्न नेताहरुलाई आग्रह गरिएको बताइन् ।

‘दुईवटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छ भन्ने मलाई पटक्कै लाग्दैन । त्यसैले पहिलो कुरा भोलि सचिवालयको बैठकमा बस्ने र उहाँले दुईवटै प्रतिवेदन अगाडि राखेर अत्यन्तै संयमतताका साथ, नैतिकताका साथ लागेका कुराहरु खुलस्त ढंगले एक अर्कामा आलोचना नै गरेर प्रस्तुत भएर छलफल गर्ने हो भने एक दुई दिन जान्छ होला । त्यसपछि एउटा निष्कर्ष आउँछ’ उनले भनिन्, ‘त्यो भन्दा अरु विकल्प खोज्नुभयो भने नोक्सान हुन्छ ।’

ओलीले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिन भनेको भए प्रतिउत्तर किन दिएको भनी शाक्यले प्रश्न गरिन् । लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिन भन्न नमिल्ने शाक्यको भनाइ छ ।

‘दस्तावेज मान्दिन भनेर भनेको हो भने उहाँले प्रतिउत्तर किन दिनुपर्‍यो । प्रचण्डले पेश गरिसकेपछि जे जे त्यहाँ भित्र छ त्यसको प्रतिउत्तर उहाँले दिइसक्नुभयो । लिखित प्रतिउत्तर दिने अनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ ? बैठक छोडेर जान मिल्छ ? उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नु भएको छ कहाँ गएर खोजिराख्नु भएको छ र बाहिरबाट समस्याको समाधान हुँदैन’ उनले भनिन् ।

विद्यार्थी भेलालाई सम्बोधन गर्न पुगेकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरुसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गरिन् ।

समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताइन् । ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्न भन्नुभएको हो । भोलिको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन । आफैंले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुन्न । उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ । समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन’ उनले भनिन् ।

नेतृ भुसालले जसले समस्यामाथि छलफल गर्न सक्छ वा अन्तर विरोधको हल गर्न सक्छ त्यो मात्रै सही नेतृत्व हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment