Comments Add Comment

बच्चासँगको सम्बन्धले स्वास्थ्यमा पार्ने दीर्घकालीन प्रभाव

बच्चा र अभिभावकबीच जति निकट र सुमधुर सम्बन्ध हुन्छ, त्यसको दीर्घकालीन प्रभाव उति नै सकारात्मक हुन्छ । जस्तो एउटा बच्चा र उनका अभिभावकबीच अत्यन्तै सुमधुर सम्बन्ध छ भने पछि उक्त बच्चाको स्वास्थ्य स्थिति पनि राम्रो हुन्छ । अमेरिकाको टेक्सासमा प्रोफेसर मैथ्यु ए एन्डर्सनले आफ्नो एक अध्ययनमा यस्तै निचोड पाए ।

अभिभावक र बच्चाबीच जुन किसिमको सम्बन्ध हुन्छ, त्यसको दीर्घकालीन प्रभाव उक्त बच्चाको स्वास्थ्यमा पर्छ । त्यसैले कुनै अभिभावक यति आफ्ना बच्चासँग निकट, आत्मीय र सुमधुर सम्बन्ध कायम राखिरहन्छन् भने उनका बच्चाको स्वास्थ्य राम्रो हुन्छ । तर कतिपय अभिभावक र बच्चाबीच खास सन्तुलन हुँदैन । अभिभावकले बच्चालाई उचित समय दिइरहेका हुँदैनन्, भलाकुसारी गरिरहेका हुँदैनन्, आपसमा खेलिरहेका हुँदैनन् । अतः बच्चाले एक्लोपन र असुरक्षा महसुस गरिरहेका हुन्छन् । यस किसिमको अभिभावकत्व पाउने बच्चाको स्वास्थ्य पनि खराब हुने पाइएको छ ।

यसको अर्थ यो होइन कि अभिभावकले बच्चालाई धेरैभन्दा धेरै खुसी दिनुपर्छ । उनीहरुसँगै बस्नुपर्छ । उनीहरुको ख्याल राखिरहनुपर्छ । बच्चाको खुसीको लागि जे पनि गर्न तयार हुनुपर्छ । यदि यस्तो गल्ती गरियो भने बच्चामा राम्रो होइन, नराम्रो भावनाको विकास हुन्छ । उनीहरु आफ्ना अभिभावकमा निर्भर हुन थाल्छन् । जे कुरा पनि अभिभावकले पूरा गरिदिन्छन् भन्ने सोच्न थाल्छन् । अन्ततः यसले उनीहरुलाई थप कमजोर बनाउँछ ।

यद्यपि बच्चाका लागि राम्रो अभिभावकत्वको भने जरुरी हुन्छ । उनीहरुलाई कसरी सबल बनाउने, कसरी सक्षम बनाउने, कसरी आत्मनिर्भर बनाउने, कसरी सिर्जनशील बनाउने, कसरी सामाजिक बनाउने, कसरी जीवनको मूल्य बोध गराउने भन्ने कुरामा अभिभावक सधै तत्पर हुन जरुरी छ । बालबच्चालाई रचनात्मक रूपमै हरेक कुरा सिकाउँदै, बुझाउँदै जानुपर्छ । यसर्थ अभिभावकले आफ्ना बालबच्चाका लागि उचित रेखदेख र मार्गदर्शन दिनुपर्छ ।

कतिपय अभिभावक काम, कमाइ, करियरको चक्करमा दौडिएका हुन्छन् । उनीहरूलाई आफ्नै बालबच्चासँग खेल्ने, रमाउने फुर्सद हुँदैन । बालबच्चाहरु कस्तो अवस्थामा छन् ? उनीहरुले एक्लोपन त अनुभव गरेका छैनन् ? असुरक्षित महसुस पो गरिरहेका छन् कि ? अभिभावकले ध्यान दिनुपर्छ ।

बच्चाको मनोदशा खराब भएको हुन सक्छ । उनीहरुलाई दिक्क लागेको हुन सक्छ । उनीहरुलाई डर लागिरहेको हुन सक्छ । यावत् अवस्थामा आउन नदिनका लागि अभिभावकले उनीहरुसँग आत्मीय सम्बन्ध बनाइराख्नुपर्छ ।

प्रोफेसर मैथ्यु ए एन्डर्सनको अध्ययनमा के पाइयो भने ठूलो भइसकेपछि ती व्यक्तिहरुको स्वास्थ्य त्यति राम्रो हुँदैन, बाल्यकालमा जसको सम्बन्ध अभिभावकसँग कटुतापूर्ण थियो । अर्थात् अभिभावकले कुट्ने, पिट्ने, गाली गर्ने गर्थे । बाल्यकालमा अभिभावकसँग मिठासपूर्ण सम्बन्ध नरहेका बालबालिका जब हुर्कन्छन्, उनीहरुको जीवनशैली स्वस्थ्य ढंगले विकास भएको हुँदैन । भावना र सामाजिक दक्षताको हिसाबले पनि उनीहरु पछाडि पर्छन् ।

अध्ययनअनुसार अभिभावक र बालबच्चाको सम्बन्ध सुमधुर छैन भने बच्चाको खानपान, सुताइ र अन्य गतिविधि अनियमित हुनपुग्छ । घरको ताजा र सन्तुलित खानेकुरा नभई उनीहरु जंकफुड, स्ट्रिट फुड र हाइ फ्याट फुड लिन थाल्छन् ।

बच्चालाई सकारात्मक वातावरण दिनुहोस् । उनीहरुलाई यो कुरा पनि महसुस गराउनुहोस् कि जीवनमा सबैकुरा सम्भव छ र जे पनि गर्न सकिन्छ । बच्चाको अगाडि सम्भावनाको ठूलो संसार छ । उनीहरुलाई नकारात्मक हुनबाट चाहिँ बचाउनुहोस् । सकारात्मक वातावरणमा हुर्कने अनुकूलता दिलाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment