Comments Add Comment

प्रचण्डका पाँच प्रष्टोक्ति : स्थायी कमिटीबाटै नयाँ प्रस्ताव बन्नसक्छ

‘देशमा आएको परिवर्तन जोगाउने सन्दर्भमा हाम्रा पदहरु जोगिँदैनन्’

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी सदस्यहरुलाई पत्र लेखेरै अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्टीकरण दिएका छन् ।

नेकपा स्थायी कमिटीको बैठक कडा सुरक्षा व्यवस्थाका बीच पार्टी मुख्यालय, धुम्बाराहीमा सुरु भएको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली सहभागी भएनन् । उनको लिखित पत्र लिएर सचिवालय सदस्य ईश्वर पोखरेलले प्रस्तुत गरेका थिए ।

पत्रमा ओलीले प्रचण्डको प्रस्ताव लान्छनापत्र भएको, पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको र आफूमाथि संगीन फौजदारी अभियोग समेत लगाएकाले बैठकमा छलफल हुन नसक्ने आफ्नो मत रहेको बताएका छन् । पोखरेलले ओलीले पत्र प्रस्तुत गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए ।

ओलीको पत्रले केही बोल्नुपर्ने बनायो भन्दै धारणा राखेका उनले पार्टी एकता र परिर्वतनलाई जोगाउने गरी पार्टीमा देखिएको संकटको निकास खोज्नुपर्ने बताएका थिए । उनले भदौ २६ यता भएका घटनाक्रमबारे जानकारी दिँदै प्रचण्डले अहिलेको जटिलता ओलीले पार्टी निर्णय पालना नगर्नु रहेको तर्क गरे ।

‘भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय पालना नभएकैले परिस्थिति बिग्रियो । मूल समस्या त्यही भयो’, प्रचण्डको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।

कार्यदलले राजनीतिक नियुक्तिहरु रोक्नु भनेर दुबै अध्यक्षलाई भनेपछि प्रधानमन्त्री ओलीले पार्टीमा छलफलै नगरी एक्लौटी नियुक्तिहरु शुरु भएको प्रचण्डको भनाइ थियो । त्यसलाई आफूले ठूलो विषय नमानेको तर स्थायी कमिटी बैठकपछि पनि पार्टी निर्णय उल्लङ्घन हुन थालेको प्रचण्डले बैठकमा बताए ।

अन्तरपार्टी निर्देशन जारी गर्ने बेलामा नै ओलीले आफूलाई कार्यकारी अध्यक्ष मान्न अस्वीकार गरेपछि आफूले आकस्मिक बैठक राखौं भन्नु परेको उनले सुनाए । आफूखुशी मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति, कर्णाली प्रदेशको विवाद आएपछि आफूले बैठक राख्न आग्रह गरेको उनले बताए ।

बैठक बसौं भन्ने प्रस्ताव नै अर्को समस्याका रुपमा देखा गरेको प्रचण्डको भनाइ थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई पटक पत्र लेखेर बैठक माग गरेपछि आफूले बैठक त बस्नुपर्ने भयो भन्दा ओली तयार नभएको प्रचण्डले बताए । तपाईं नभ्याउने हो भने म बैठक राख्छु नि त भन्दा ओलीले औपचारिक बैठक राख्नुभयो भने पार्टी फुटेको मान्छु भन्ने चेतावनी दिएको उनले सुनाए ।

त्यसपछि ओलीकै सहमतिमा अनौपचारिक बैठक बसेर सचिवालय बैठकका लागि २२ चैतमा लिखित पत्र बुझाएको उनले सुनाए । तर ओलीले बैठकका लागि सहमति जनाउनुको साटो आरोप लगाएर दश पेजको जवाफ पठाएको सुनाए । अध्यक्ष ओलीले नै फायर खोलेपछि परिस्थिति बिग्रँदै गएको उनले बताए ।

यसले तेस्रो समस्या ल्याएको प्रचण्डको बुझाइ छ । ‘जहाँसम्म एकअर्कालाई लेखेका पत्रहरु सार्वजनिक हुन थाले, त्यसपछि झनै समस्या भयो’, प्रचण्डले आइतबारको बैठकमा भने । र, पत्रहरु सार्वजनिक गर्ने थालनी पनि केपी ओलीकै तर्फबाट भएको प्रचण्डले स्थायी कमिटीको बैठकमा जानकारी दिए ।

‘केपी ओलीले लेखेको १० पृष्ठको पत्र सार्वजनिक गरिएको मिनेटसम्म तोकेर प्रचण्ड कमरेडले भन्नुभएको थियो’, एक स्थायी कमिटी सदस्य भन्छन्, ‘बैठक बोलाउनुको साटो उल्टै पत्र लेख्ने र सार्वजनिक गर्ने काम पनि ओलीबाटै भएकाले प्रचण्डले आफ्नो यसमा आफ्नो गल्ती नभएको बैठकमा बताउनुभयो ।’

‘उहाँले पहिले पत्र सार्वजनिक गरेपछि हामीले पनि गर्नुपर्‍यो,’ बैठकमा प्रचण्डले भने, ‘यदि उहाँले त्यसो नगर्नु भएको भए यस्तो अवस्था नै आउने थिएन । किनभने, हामीले बैठक माग गर्दै लेखेको दुई पेजको पत्र त सार्वजनिक गरेका थिएनौं ।’

प्रचण्डको चौथो प्रष्टोक्ति स्थायी कमिटीबाट नयाँ दस्तावेज बनाउन सकिन्छ भन्ने थियो ।

ओलीले स्थायी कमिटीमा पठाइएको पत्रमा ‘फौजदारी’ आरोप लगाइएको प्रचण्डको पत्रमाथि छलफल हुन नसक्ने र त्यस्तो बैठकमा सहभागी हुन असमर्थ रहेको बताएका छन् । स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सबै प्रस्तावलाई सन्दर्भ सामग्री मानेर साझा प्रस्ताव बनाउन सकिने धारणा राखेका थिए ।

तर प्रचण्डले त्यसलाई अस्वीकार गरे । एक स्थायी कमिटी सदस्यका अनुसार पार्टीमा समस्या भएर नै प्रस्ताव लेख्नु परेको र सबै प्रस्तावहरु पार्टीको सम्पत्ति भइसकेको बताए । तर छलफल गर्दै जाँदा नयाँ प्रस्ताव बन्न सक्ने बताए ।

‘मैले मेरो ठीक र उहाँको बेठीक भनेको छैन । दुवैजनाको पत्रबारे छलफल गरौं’ आइतबारको बैठकमा प्रचण्डले भने, ‘स्थायी कमिटी एउटा निष्कर्षमा पुग्नसक्छ र नयाँ प्रस्ताव बनेपछि त्यसले स्वतः दुबै प्रस्तावलाई विस्थापन गर्छ । त्यहाँ भएर केन्द्रीय कमिटीमा जाउँला । त्यहाँ बाट पनि नभए महाधिवेशनमा जाउँला ।’

प्रचण्डको आइतबारको सम्बोधनमा पार्टी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नेबारे पनि समेटिएको थियो । ‘देशमा आएको परिवर्तन जोगाउने सन्दर्भमा हाम्रा पदहरु जोगिँदैनन् । त्यसो भएकाले त्याग गर्न तयार हुनुपर्छ । म पनि तयार छु भन्नुभयो’, बैठक स्रोतले भन्यो । पार्टी एकता जोगाउन र राजनीतिक उपलब्धी जोगाउन जोकोही पनि त्याग गर्न तयार हुनुपर्ने प्रचण्डको भनाइ थियो ।

आफ्नो धारणा राखेपछि प्रचण्डले स्थायी कमिटीको अर्को बैठक कहिले बस्ने भन्नेबारे एजेण्डा ल्याएका थिए । महासचिव विष्णुप्रसाद पौडेलले स्थायी कमिटी बैठक एक साता रोकौं भन्ने प्रस्ताव राखेको जानकारी प्रचण्डले बैठकलाई गराए ।

बैठकका सहभागीहरुले सहमति जनाएपछि स्थायी कमिटीको बैठक मंसिर २८ गते बस्ने सहमति जुट्यो । तर, केन्द्रीय कमिटीको बैठक सार्नेबारेमा भने केहीबेर वादविवाद भयो । मंसिर ३ को सचिवालय बैठकले मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर, मंसिर १८ मै बस्ने भनिएको स्थायी कमिटी बैठक सरेपछि केन्द्रीय कमिटी बैठकको मिति पनि प्रभावित भएको छ ।

महासचिव पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले केन्द्रीय कमिटी बैठकको मिति तोक्न नहुने अडान राखे । तर, वेदुराम भुसालसहितका नेताहरुले आपत्ति जनाए । मिति तोकेर जानुपर्छ भन्ने पक्षमा धेरै नेताहरु देखिएपछि पुस १ का लागि केन्द्रीय कमिटी बैठक बोलाउँदै स्थायी कमिटी बैठक सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment