Comments Add Comment
नेकपामा ओलीको अर्को पत्र : :

‘आरोप-पत्र’बारे हुने छलफलमा सहभागी हुन असमर्थ छु

स्थायी कमिटी ७ दिनका लागि स्थगित, केन्द्रीय कमिटी पुस १ मा

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा आउन नसक्ने जानकारी दिएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले को पत्र बाचन गरेर सुनाएका थिए ।

पत्रमा उनले आफूले खारेज गरिसकेको । पार्टीलाई विभाजनको डिलमा पुर्‍याउने आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन नसक्ने बताएका छन् ।

नेकपामा पछिल्लो समय पत्र जुहारी चलिरहेको छ । २२ कात्तिकमा प्रचण्डसहित पाँच नेताले सचिवालय बैठक माग गर्दै अध्यक्ष ओलीलाई दुई पन्ने पत्र लेखेका थिए । त्यसको जवाफमा अध्यक्ष ओलीले २५ कात्तिकमा १० पृष्ठको पत्र लेखे ।

२८ कात्तिकमा बसेको पार्टी सचिवालयको बैठकमा प्रचण्डले ७ पृष्ठको प्रतिउत्तरका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । तर ओलीले स्थायी कमिटीको निर्णय र पार्टीको स्थापित परम्परा विपरीत आफ्नाविरुद्ध अभियोग पत्र वितरण गरिएको र आफूमाथि संगीन फौजदारी आक्षेप समेत लगाएकाले बैठकमा छलफल हुन नसक्ने अडान लिएका छन् । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने प्रस्ताव निःशर्त फिर्ता हुनुपर्ने उनको अडान छ ।

नेकपा अध्यक्ष ओलीले स्थायी कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकको कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बेठकमा जानुपर्छ भन्ने भनाइ मैले प्रष्ट पारिसकेको छु ।’

१३ मंसिरको सचिवालय बैठकमा भने ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफमा ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए । त्यसपछि पनि ओली पक्षले प्रचण्डको प्रस्ताव फिर्ता गर्नुपर्ने अडान लियो भने अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीमा लैजान चाह्यो ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकले ओलीको अडान विपरित दुवै प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गर्‍यो । तर अध्यक्ष ओली आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा नै सहभागी भएनन् ।

यो पनि पढ्नुहोस सचिवालयमा ओलीको अडान : दुबै पद छाड्दिनँ, जे मन लाग्छ गर्नू

स्थायी कमिटी सदस्यहरुलाई लेखेको उनले पत्रमा भनेका छन्, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो संगीन आरोपपत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु ।’

खेलको उत्तरार्धमा नियम परिवर्तन गर्न खोजियो

पत्रमा अध्यक्ष ओलीले पार्टी एकता गर्दा संक्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने र कतिपय बैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गरेको स्मरण गरेका छन् । पार्टी एकीकरणको मुल कामको नेतृत्व गर्दा आफूले त्यही विधिलाई ध्यानमा राखेर संरचना बनाएको भन्दै उनले भने, ‘मलाई थाहा थिएन, खेलको उत्तरार्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महत्वाकाक्षाका निम्ति जुनसुकै हदसम्म तयार हुनु हुनेछ ।’

खेलको अन्तिमतिर गर्न खोजिएको नियम परिवर्तन नैतिक र राजनीतिक दृष्टिकोणले गलत मात्र होइन, विभाजनकारी भएको उनले बताएका छन् । साथै महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका कमिटीहरु सहमतिका आधारमा चल्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिर्तवन खोज्ने र निर्वाचनभन्दा बाहिरबाट सरकार बदल्न खोल्ज्ने केही नेताहरुको व्यग्र नेतृत्व/सत्तामोहका कारण पार्टीमा गम्भीर संकट निम्तिएको उनको दाबी छ । आफूले एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी चुनावपछि सरकारको नेतृत्वमा नरहने घोषणा गरिसकेको भन्दै उनले भनेका छन्, ‘पार्टी नेतृृत्व परिर्वतनका लागि चार महिना कुन नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरको छ ।’

पत्रमा उनले स्थायी कमिटी सदस्यहरुको सामूहिक विवेकमाथि आफूलाई विश्वास रहेको बताएका छन् ।

२६ भदौमा पार्टीलाई यस्तै संकटबाट अवतरण गरेको भन्दै उनले भनेका छन्, आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषको स्वार्थका लागि आन्दोलनकै शिकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई आफनो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुनेछ ।’

७ दिनका लागि बैठक स्थगित

यसैबीच नेकपा स्थायी कमिटीको बैठकले एउटै एजेण्डा ‘पार्टीको आन्तरिक समस्या’ तय गरेको छ । थप गृहकार्य गरेर ७ दिनपछि अर्थात १८ मंसिरमा स्थायी कमिटी बैठक बस्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

उनकाअनुसार २५ मंसिरमा बोलाइएको केन्द्रीय कमिटी बैठक भने आगामी पुस १ गतेलाई सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment