Comments Add Comment

सुदूरपश्चिममा बढ्दै बहुविवाहका घटना

२३ मंसिर, डोटी । मंसिर ७ गते डोटीको शिखर नगरपालिका–६ कि एक महिला जिल्ला प्रहरी कार्यालय डोटी पुगिन् र आफ्ना श्रीमान्ले अर्को बिहे गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । प्रहरीका अनुसार उनका श्रीमान् र सौता दुबै सम्पर्कविहीन छन् ।

मंसिर महिनामा मात्रै सुदूरपश्चिमका बिभिन्न जिल्लामा बहुविवाहका चार घटना दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार मंसिर १ गतेदेखि १९ गतेसम्म कञ्चनपुरमा दुई तथा कैलाली र डोटीमा एक/एक बहुविवाहका घटना दर्ता भएका छन् ।

बिगत तीन वर्षको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा बहुविवाहका घटना बढ्दो क्रममा रहेका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४६ बहुविवाहका जाहेरी प्रहरीमा परेका थिए । ०७५/०७६ मा उक्त संख्या बढेर ७३ पुगेको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा बहुविवाहका ७९ घटना दर्ता भएका प्रहरीको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्षको मंसिर १९ गतेसम्म मात्रै यस प्रदेशमा ४८ बहुविवाहका घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साउनमा आठ, भदौमा १५, असोजमा १२, कात्तिकमा नौ र मंसिर १९ गतेसम्म चार बहुविवाहका जाहेरी प्रहरीमा आइपुगेका छन् । चालु आर्थिक वर्षमा हालसम्म कैलालीमा १६, कञ्चनपुरमा १६, डोटीमा तीन, अछाममा चार, बाजुरामा पाँच र बझाङमा चार बहुविवाहका जाहेरी दर्ता भएका छन् । आर्थिक वर्षको पाँच महिना पनि पूरा नहुँदै ४८ जाहेरी आउनुले यस वर्ष गत वर्षको तुलनामा दोब्बर बहुविवाहका जाहेरी आउने अनुमान गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा देशभरी ६ सय दुई बहुविवाहका जाहेरी दर्ता भएका छन् । यस्तै आव ०७५/०७६ मा एक हजार एक र आव ०७६/०७७ मा सात सय ३४ जाहेरी दर्ता भएका छन् ।

किन बढ्दैछन् बहुविवाहका घटना ?

महिला अधिकारकर्मी देवकी बोहराका अनुसार कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण बहुविवाहको समस्या बढ्दै गएको छ । बहुविवाह गर्नेलाई राजनीतिक संरक्षण मिल्ने र कानून कार्यान्वयन गर्ने निकायले बिभिन्न दवावमा अरोपीलाई सजाय दिलाउन नसक्ने भएका कारण यो समस्या आएको उनको दाबी छ । देवकी थप्छिन्, ‘कतिपय घटनाहरु देखासिखीका कारण पनि हुने गरेका छन् ।’

प्रहरीसम्म आएका घटनाहरु प्रतिनिधि घटना मात्रै भएका र यस्ता बहुबिबाहका घटनाहरु समाजमा थुप्रै रहेका देवकीको दावी छ । ‘साधारण महिलाहरुले अहिले पनि प्रतिवाद गर्न सक्दैनन्, पुरुषले जे गरे पनि सहनुपर्छ भन्ने सोच्छन्,’ उनले भनिन्, ‘त्यसकारण पनि बहुविवाहलगायत महिला हिंसाका घटनाहरु बाहिर आउन सकेका छैनन् ।’ महिलाहरुले पुरुषप्रति निर्भर भएर बाँच्नु पर्ने भएका कारण पनि बहुविवाहका घटनामा उजुरी नगर्ने गरेको उनको अनुभव छ ।

बहुविवाहका घटनाहरु बढ्नुमा सामाजिक सञ्जाल पनि कारक रहेको बताउँछिन् नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष चाँदनी आचार्य । ‘सामाजिक सञ्जालमा सम्बन्ध हुन्छ, एक–अर्काप्रति नजिक हुँदै जान्छन्, अन्ततः बिहे गर्छन्,’ गोरखापत्र दैनिकका लागि कैलाली सम्वाददातासमेत रहेकी चाँदनी भन्छिन्, ‘सामाजिक सञ्जालले बहुविवाहसँगसँगै सम्वन्ध विच्छेदका घटनाहरु पनि बढाएको छ ।’

बिहे गरेको लामो समयसम्म पनि छोराछोरी नहुनु, छोरी मात्रै जन्मिनु पनि बहुविवाहको कारण भएको चाँदनीको भनाइ छ । उनले थपिन्, ‘श्रीमान–श्रीमतीबीच मनमुटाव हुनु र बिस्तारै झगडा बढ्दै जानुले पनि पुरुषले बहुविवाह गर्ने मौका पाइरहेका छन् ।

मिलापत्रबाट बढेको मनोबल

बहुविवाहका घटनाहरु बढ्नुले अहिले पनि समाजमा महिलाहरुप्रति भइरहेको अन्याय झल्किएको बताउँछन् सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह ।

‘समाजमा दुई बिहे गर्नेलाई ठूलो मान्छे ठान्ने परम्पराले पनि बहुविवाहलाई प्रश्रय दिइरहेको छ,’ प्रहरी बरिष्ठ उपरीक्षक सिंहले भने, ‘बहुविवाहका घटनाहरुलाई कानूनी दायरामा आउन नदिई गाउँमै मिलाउने गरेका कारण बहुविवाह जस्तो अपराध गर्नेहरुको मनोबल बढेको देखिन्छ ।’ उनले थपे, ‘चेतना अभावको कारण महिलाहरु आफैं पनि खुलेर प्रतिवाद गर्न सक्ने अवस्थामा छैनन्, त्यसैले पुरुषहरुको मनोबल बढेको छ ।’

महिलामाथि हुने कुनै प्रकारका हिंसाका घटनामा मिलापत्र गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउनु पर्ने सिंहको धारणा छ । उनले भने, ‘यसका लागि सचेतीकरण अभियान सञ्चालन गर्न पनि जरुरी छ ।’

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । साथै बहुविवाह स्वतः बदर हुने समेत उक्त दफामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment