Comments Add Comment

समर्थन मूल्यमै धान बिक्री गर्न पाउँदा किसान हर्षित

सुरु भयो बिचौलियाको चलखेल

२३ मंसिर, वीरगञ्ज । पर्सामा सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री हुने थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्जस्थित कार्यालयले सरकारी समर्थन मूल्यमा किसानको धान खरिद गर्न थालेको हो ।

कम्पनीले धान किन्न थालेपछि किसानले धमाधम बिक्रीका लागि धान ल्याउन थालेका छन् । व्यापारीले दिनेभन्दा महँगो दाममा कम्पनीलाई धान बिक्री गर्न पाउँदा किसान खुसी छन् । सरकारले तोकेका समर्थन मूल्यमा धान बिक्री गर्दा लगानी अनुसार उचित मूल्य पाएको किसानको प्रतिक्रिया छ ।

भिश्वाका किसान सलमान मियाँ व्यापार कम्पनीलाई धान बेच्न सहज भएको बताउँछन् । ‘धान ल्याइदिन्छौं, काँटा गरेर राख्छन् । पैसा पनि राम्रो पाइन्छ,’ उनले भने, ‘त्यसैले व्यापार कम्पनीलाई नै धान बेच्ने गरेको छु ।’

किसानले गाउँघरमा व्यापारीलाई बिक्री गर्दा सरकारले तोकेको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ६/७ सय रुपैयाँ कम पाउँछन् । जगरनाथपुरका कृष्ण चौरसिया गाउँमा धान २ हजार २ सय रुपैयाँ प्रतिक्विन्टलमा धान बिक्री भइरहेको सुनाउँछन् । बाध्यतामा परेर व्यापारीलाई धान बेच्नुपर्ने अवस्था किसानको छ ।

सरकारी समर्थन मूल्यमै व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि किसानले ट्याक्टर, अटो वा साना गाडीमा हालेर धान वीरगञ्ज ल्याइरहेका छन् ।

कम्पनीले सोना मन्सुली धान समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँमा खरिद गरिरहेको छ । ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो चामल खरिद गर्ने लक्ष्य उसको छ ।

प्रतिक्विन्टल २ हजार ९ सय रुपैयाँमा जिरा मसिनो धान कम्पनीले खरिद गर्ने भए पनि वीरगञ्जस्थित कार्यालयमा किसानले जिरा मसिनो धान ल्याएका छैनन् ।

कम्पनीले धान खरिद गर्न थालेको ११ दिनमा ४ हजार ५ सय क्विन्टल सोना मन्सुली खरिद गरिसकेको छ । मौसमले साथ दिएको हुनाले धानको सुख्खापन राम्रो रहेको कम्पनीका कर्मचारीहरुले बताएका छन् । कम्पनीसँग ६० हजार क्विन्टल धान भण्डारण गर्न सक्ने क्षमताको गोदाम छन् ।

बिचौलियाको चलखेल सुरु

नेपाल सरकारले तोकेको समर्थन मूल्यमा पर्सा र बाराका किसानको धान कम्पनीले खरिद गरिरहेको छ । एएकजना किसानले ६० क्विन्टलसम्म धान कम्पनीलाई बिक्री गर्न सक्छन् ।

तर यसमा धान व्यापारी र विचौलियाहरुले चलखेल सुुरु गरेको गुनासो किसानले गरेका छन् । किसानसँग सस्तोमा धान खरिद गरेर कतिपयले किसानमार्फत नै महँगोमा व्यापार कम्पनीलाई बिक्री गरिरहेका छन् ।

त्यसका लागि उनीहरुले नक्कली किसान वा धान खरिद गरेकै किसानलाई मोहरा बनाउने गरेका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक किसानले बिचौलिया र व्यापारीहरुले किसानलाई नै प्रयोग गरेर फाइदा लिने योजना बनाएर काम गरिरहेको बताए ।

कम्पनी शाखा कार्यालय प्रमुख विकास कटुवाल को किसान ? को व्यापारी ? भनेर चिन्ने आधार नभएको बताउँछन् । तर पनि कार्यालयले अनिवार्य नेपाली नागरिक हुनुपर्ने, गाउँपालिकाको सिफारिस लिने र आवश्यकता अनुसार लालपुर्जाको फोटोकपीसमेत लिएर धान खरिद गरिरहेको उनी बताउँछन् ।

‘वास्ताविक किसानको मात्रै धान खरिद गर्न सकियोस भनेर स्थानीय तहसँग सहकार्य गरिरहेका छौं, किसानभन्दा अरुलाई सिफारिस नै नदिन भनेका छौं । स्थानीय तहको सिफारिस नै ल्याईसकेपछि हामीले केही गर्न सक्दैनौं,’ उनले भने, ‘त्यसबाहेक कम धान ल्याउने किसानलाई प्राथमिकता दिइएको, एउटा किसानले ६० क्विन्टल बिक्री गर्न पाउने नियम बनाइको छ ।’

धान व्यापार गर्न भनी आएका ७ जना शंकास्पद व्यक्तिलाई फिर्ता पठाइएको उनले बताए ।

‘व्यापारी स्वयं आएका हुँदैनन, स्थानीय तहले किसान नै हो भनेर सिफारिस पठाएको पाइयो, शंका लागेको ७ जना व्यक्तिले अब आइन्दा त्यसो नगर्ने सर्तमा फिर्ता पठाएका छौं,’ उनले भने, ‘उनीहरुले गल्ती भयो एक पटकलाई माफी दिनुस भनेपछि छोडेका हौं । त्यसपछि किसानहरु स्वयं नै सचेत भएको पनि पाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment