
११ असोज, टोकियो । जापानको राजधानी टोकियोमा महँगीको मार यथावत् रहेको सरकारी तथ्याङ्कले देखाएको छ। विशेषगरी खाद्यान्नको मूल्य निरन्तर आकासिएको छ, जसले आम उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पारेको छ।
शुक्रबार आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क अगस्ट महिनामा गत वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले बढेको छ। सन् २०२० लाई आधार वर्ष मानेर तयार गरिएको यो सूचकाङ्क यस पटक ११०.० मा पुगेको छ।
महँगीको यो वृद्धिमा खाद्यान्नको मूल्यले महत्त्वपूर्ण भूमिका खेलेको छ। ताजा वस्तुहरूबाहेक प्रशोधित खाद्य वस्तुहरूको मूल्य औसत ६.९ प्रतिशतले वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुहरूमा भएको अप्रत्याशित वृद्धिले नागरिकहरूलाई थप चिन्तित बनाएको छ ।
समाचार एजेन्सीका अनुसार, चामलमा ४६.८ प्रतिशतले मूल्य वृद्धि भएको छ । चकलेटको मूल्यमा ५३.८ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको छ ।
बाल स्याहार शुल्कमा कटौती
स्थानीय सञ्चार माध्यमहरूका अनुसार, टोकियो महानगरपालिकाले महँगीको मारमा परेका परिवारहरूलाई केही हदसम्म सन्तुलनमा राख्न प्रयास गरेको छ।
सेप्टेम्बर १७ देखि बालबालिका स्याहार शुल्क माफ गर्ने कार्यक्रम विस्तार गरिएपछि यस सेवाको शुल्कमा उल्लेख्य ६०.४ प्रतिशतको कमी आएको छ। यसले कामकाजी अभिभावकहरूलाई केही वित्तीय राहत दिएको छ।
टोकियोको उपभोक्ता मूल्य सूचकाङ्कलाई सम्पूर्ण जापानको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतकको रूपमा हेरिन्छ। जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क आगामी अक्टोबर २४ गते सार्वजनिक हुनेछ।
प्रतिक्रिया 4