Comments Add Comment

भोलिदेखि भर्चुअल ‘किम्फ’, १५ मुलुकका १८ चलचित्र

भोलि बिहिबारदेखि काठमाडौंमा किम्फ (काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल) सुरु हुँदैछ । चारदिनसम्म जारी रहने किम्फको यो अठारौं संस्करण हो । कोभिडको कारण यसपालि यो चलचित्र मेला भर्चुअल हुने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र www.kimff.org मार्फत् हेर्न सकिन्छ । यसवर्ष विभिन्न १५ मुलुकका फिल्मकर्मीहरुले यसमा सहभागिता जनाएका छन् । यसमा १८ वटा चलचित्र प्रदर्शन गरिनेछ । यसैगरी नेपाल पानोरमा अन्र्तगत कथानक र वृत्तचित्र गरी १२ वटा चलचित्र देखाइनेछ । अन्तर्राष्ट्रिय चलचित्रमा पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली नेपाली फिल्मकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ ।

किम्फको उद्घाटन भुटानी फिल्म निर्देशक खिन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’को प्रदर्शनसँगै हुनेछ । यस चलचित्रको छायाङ्कन नेपालमा भएको थियो । सोही मेसोमा रिम्पोचेले भर्चुअल प्रवचन दिने कार्यक्रम छ ।

के छन् आकर्षण ?

हिमाली जनजीवनसँग सम्बन्धित चलचित्र एवं वृत्तचित्रहरु हेर्न पाइनेछ । विभिन्न मुलुकका फिल्ममेकरहरुले बनाएका चलचित्र घरमै बसीबसी हेर्ने सुविधा छ । यसै मेसोमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मीबीच भर्चुअल छलफल समेत हुने आयोजकको भनाइ छ ।

दिवंगत लेखक पिटर जे कार्थको ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन हुनेछ । कोभिड १९ र लकडाउनबारे बनानइएका विशेष वृत्तचित्र प्रदर्शन हुनेछ । त्यसैगरी प्रदर्शनपछि उक्त वृत्तचित्रका पात्र र कोभिड विशेषज्ञबीच छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय र नेपाली पानोरमा अन्र्तगत् छुट्टाछुट्टै चलचित्रबीच प्रतिस्पर्धा गराइनेछ । अन्तर्राष्ट्रिय चलचित्रमा पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः दुई लाख,  एक लाख पचास हजार र एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

उत्कृष्ट नेपाली कथानक चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई क्रमशः एक लाख, ७५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नाम विश्व संस्थाको सक्रिय सदस्य रहेको छ । यस संस्थामा २० वटा मुलुकका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरु सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment