Comments Add Comment

बासमती धानमा एकाधिकारको प्रयासविरुद्ध नेपालले दाबी-विरोध गर्ने

२४ मंसिर, काठमाडौं । बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै भारतले युरोपियन युनियनमा दिएको आवेदनविरुद्ध नेपालले आफ्नो दाबी विरोध पेश गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको मंगलबार बसेको बैठकले नेपालकोतर्फबाट दाबी विरोध पेश गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरोकारवाला निकायका पदाधिकारीहरूको बैठकले नेपालले दाबी विरोध पेश गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रायका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

‘बासमती धान परापूर्वककालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले बासमतीमा नेपालको हक स्थापित हुनुपर्ने भन्दै नेपालले दाबी-विरोध गर्न लागेको हो’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मंगलबार साँझसम्म दाबी विरोध पठाई सक्नेगरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

भारतले बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै युरोपियन युनियन -ईयू) मा दिएको आवेदन ११ सेप्टेम्बर २०२० मा जर्नलको रुपमा प्रकाशित भएको थियो ।

उक्त निवेदनविरुद्ध दाबी विरोध नपरेको खण्डमा उक्त उत्पादनको उत्पादन, बिक्री र ट्रेडमार्क अधिकार भारतको मात्रै एकलौटी हुने थियो । ईयू जर्नलमा प्रकाशित भएको मितिले तीन महिना भित्रै दाबी बिराध गर्नुपर्ने मान्यताअनुसार दावी विरोधको तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment