Comments Add Comment

मध्यभोटेकोसी आयोजनाका सीईओलाई २ करोड ‘प्रस्ताव’ गरेको अडियो सार्वजनिक

२४ मंसिर, काठमाडौं । चिलिमे जलविद्युत कम्पनी अन्तरगत सिन्धुपाल्चोकमा बनिरहेको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम अहिले ठप्पजस्तै छ । यही बेला आयोजनाको ठेकेदार पक्षले र व्यवस्थपन पक्षलाई घुस दिन प्रस्ताव गरेको सम्वादको अडियो सार्वजनिक भएको छ ।

ठेकदार चीनको ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीका दोभाषे गोबिन्द पौडेलले आयोजनाको गुणस्तर घटाउन सहमत भए २ करोड घुस दिन कम्पनी तयार रहेको भन्दै मध्यभोटेकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणिकुमार काफ्लेलाई प्रस्ताव गरेको टेलिफोन अडियो बाहिरिएको हो । तर, सो टेपमा काफ्लेले त्यसबारे प्रतिक्रिया जनाएका छैनन् ।

केही दिनअघि नै स्थानीयले यो टेप सार्वजनिक गरेका थिए । यसबारे अख्तियार दुरुपयोग अनसन्धान आयोजनमा स्थानीय सरोकार समितिले पनि उजुरी दिएको छ ।

त्यसैकारण प्राधिकरणले आयोजनाको व्यवस्थापनमा हेरफेर गरेको छ । सीईओ काफ्ले पदमुक्त भएका छन् भने आयोजना प्रमुख सुनिल लामालाई काठमाडौं तानिएको छ । काफ्ले र लामाबीच आयोजनाको विभिन्न पक्षमा मतभेद रहँदै आएको थियो ।

काफ्ले यसअघि प्राधिकरणकै कर्मचारीका रुपमा कम्पनीमा गएपनि पछि प्राधिकरणले आयोजना हेर्ने गरी उनलाई सीईओ नियुक्त गरेको थियो । उनले अडियो टेप बाहिरिएपछि सीईओ पदबाट राजीनामा पनि दिइसकेका छन् ।

चिलिमे हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाष मिश्र आयोजना समस्यामा रुमल्लिएकाले त्यसलाई निकास दिने गरी प्रयास सुरु गरेको दावी गर्छन् । अडियो प्रकरणपछि मध्यभोटेकोसी हाइड्रोपावर कम्पनीकाको सञ्चालक समेत रहेका मिश्रलाई नै आयोजना हेर्ने जिम्मा दिइएको छ । यसबारे प्राधिकरणले अझै छानविन थालेको छैन ।

सन् २०१७मा नै सक्नुपर्ने यो आयोजनाको निर्माण कहिले सकिन्छ भन्ने पनि अनिश्चित छ । भूकम्प, नाकाबन्दी र भोटेकोसी बाढीको कारण देखाउँदै म्याद थप भएको यो आयोजनामा फेरि कोरोना महाामारी अर्को बाहाना बनेको छ ।

आयोजनामा इलेक्ट्रोमेकानिकलतर्फ अष्ट्रियन कम्पनी एन्डिज हाइड्रोले अझै उपकरण जडान थालेको छैन ।

बितेको वर्षामा आयोजनाको पावरहाउसमा पहिरो गएपछि भरिएको माटो निकाल्ने काम सकिएको छैन । आयोजनामा अहिले काम लगभग ठप्पजस्तै छ ।

अहिलेसम्म ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सुरुङ खन्ने काम पनि सकिएको छैन । साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोसी र चाकु नदीको पानी ७ दशमलव २ किलोमिटर सुरुङ बनाउनुपर्नेमा अझै ४ सय मिटर सुरुङ खन्न बाँकी छ ।

यो आयोजनाको मुख्य सुरुङसहित पावर हाउस, बाँध र हाइड्रोमेकानिकल निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले आयोजनामा चरम लापरवाही र ढिलासुस्ती गर्दै आएको छ । यही क्रममा अहिले आयोजनामा भ्रष्टाचारको प्रकरण बाहिरएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment