
२६ मंसिर, काठमाडौं । मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरका आकांक्षीहरुले शक्तिकेन्द्र रिझाउने कसरत बढाएका छन् । पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिदैछ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाटै २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । अहिले राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । यीमध्ये पनि नेकपा नेतृत्वको सरकार र नेताहरु निकट रहेका ६ जना कार्यकारी निर्देशक डेपुटी गभर्नरका प्रतिस्पर्धी छन् ।
नेकपामा पनि प्रधानमन्त्री केपी शर्मा ओली वा अर्थमन्त्री विष्णुप्रसाद पौडेल निकटमध्ये दुईजनाले डेपुटी गभर्नर पद पाउनेछन् । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा झापाका सिवाकोटीले अवसर पाएका थिए ।
त्यसबेला नेपाली कांग्रेस निकट डा. चिरञ्जीबि नेपाल गभर्नर रहेकाले भागबण्डामा तत्कालीन एमालेबाट सिवाकोटी र कांग्रेसबाट श्रेष्ठ डेपुटी गभर्नर नियुक्त भएका थिए । यसपटक नेकपाको एकलौटी सरकार रहेकाले अरुले भाग नपाउने सम्भावना छ ।
अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठदेखि छोटो समयमा नै राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेका बमबहादुर मिश्रसम्म डेपुटी गभर्नरका आकांक्षी छन् । अर्थमन्त्रीका सल्लाहकार श्रेष्ठ पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।
लघुवित्त सुपरीवेक्षण विभाग प्रमुख श्रेष्ठलाई पौडेल अर्थमन्त्री भएपछि आर्थिक सल्लाहकार नियुक्त गरिएको हो । राष्ट्र बैंकको निर्देशक हुँदा लुम्बिनी प्रदेशको योजना आयोग उपाध्यक्ष रहेका उनी कार्यकारी निर्देशकमा बढुवा भएपछि राजीनामा दिएर आयोगबाट राष्ट्र बैंक फर्किएका थिए ।
अर्थमन्त्री पौडेलका विश्वासपात्र भएकाले श्रेष्ठको सम्भावना प्रवल रहेको बताइन्छ । उनी पछि अर्का बलिया दावेदार देवकुमार ढकाल हुन् ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका उनको सम्भावना पनि बलियो रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी निलम ढुंगाना डेपुटी गभर्नरका अर्की आकांक्षी हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिन्छ ।
आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट डेपुटी गभर्नरका अर्का आकांक्षी हुन् । राष्ट्र बैंकको प्रवक्तासमेत रहेका उनी सबैसँग मिल्ने, अध्ययनशील र अनुसन्धानमा अब्बल मानिन्छन् । नियुक्तिको यो ‘हाई टाइम’मा भने डा. भट्ट पितृशोकमा छन् ।
विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक बमबहादुर मिश्र र भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल पनि डेपुटी गभर्नरको आकांक्षी हुन् ।
प्रतिक्रिया 4