Comments Add Comment

वीरगञ्जमा १ अर्ब लगानीमा चार तारे होटल खुल्दै

२५ मंसिर, वीरगञ्ज । व्यवसायी सनील कुमार खेतानको लगानीमा २८ वर्षदेखि हिमाल कपी उद्योग सञ्चालनमा छ ।

कागज उद्योग खोल्दै गर्दा उनले वीरगञ्जमा होटल खोल्ने सोच बनाइसकेका रहेछन् । कथमं कदाचित कागज उद्योग चलेन भने उद्योगको संरचनालाई होटल बनाउने उनको सोचाइ थियो ।

अहिले कागज उद्योग चलिरहेकै अवस्थामा उनको होटल सपनाले साकार रुप लिँदैछ । उनले एक अर्ब रुपैयाँको लगानीमा बहुअरीमा हिमाल वाटर पार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा ल्याउँदैछन् । २ विघा क्षेत्रफलमा फैलने चारतारे स्तरको होटलको ६५ प्रतिशत काम सकिएको छ ।

२०७३ सालदेखि निर्माण थालिएको होटलका संरचनाहरु ९२ हजार वर्गफिटमा फैलिएको छ । भारतको चर्चित होटल ब्रान्ड क्र्लक्स ग्रुप अफ होटलले व्यवस्थापकीय जिम्मेवारी लिएको छ ।

यो समूहको भारतको जयपुर, लखनउ, आग्रालगायत भारतभर ३९ वटा होटल छन् । अन्तर्राष्ट्रिय स्तरमा भने हिमाल वाटर पार्क एण्ड भिलेज होटललाई नै पहिलो चेन होटलको रुपमा अघि बढाएको हो ।

होटलमा एक्जुकेटिभ स्वीट ४ वटा, एक्जुकेटिभ ८ वटा, स्वीट ८ वटा, किङ २४ वटा र ट्वीन १६ वटा गरी ६० वटा कोठा रहनेछन् । होटल तर्फको भवन बन्ने क्रममै छ ।

२ हजार जनासम्म अट्ने सभाहल, डेढ सयदेखि ३ सय जनासम्म अट्ने अन्य ४ वटा हल होटलमा बन्नेछन् । मंसिर १५ गतेदेखि नै कन्भेन्सन हल र रेस्टुराँ सञ्चालनमा छ ।

होटलमा क्यासिनो, इन हाउस बेकरी, स्वीमिङ पुल, सांगीतिक कार्यक्रम गर्न ओपन एयर थियटर, पार्क, ओपन एयर किचेन, बच्चाहरुका लागि रिक्रियसन रुम, बार, लंग, स्नुकर लगायत इन्डोर गेम खेल्ने ठाउँ र जीम क्लबको समेत सुविधा दिने तयारी छ ।

होटलमा अहिले १५ जना कर्मचारी कार्यरत छन् भने पूर्ण रुपमा सञ्चालनमा आइसकेपछि ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका सञ्चालक खेतान एक वर्षभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने बताउँछन् ।

‘भारतका विभिन्न सहरमा पुग्दा त्यहाँका जस्ता होटल वीरगञ्जमा पनि हुनुपर्छ भन्ने लाग्थ्यो । यता ठूला घरका केटाकेटी वीरगञ्जमा केही छैन भनेर अन्य शहरमा गइरहेको पनि देख्थें’ उनले होट खोल्नुको कारण खुलाउँदै भने, ‘वीरगञ्ज अब म्यारिज हब बनिसकेको छ । राम्रो होटलको अभावमा पोखरा, सौराहातिर विवाहका लागि गएको देखेको छु ।’

होटल परिसरमा अर्गानिक खेतीसँगै गाई पालन गर्ने सोच पनि व्यवसायी खेतानको छ ।

प्रोजेक्ट म्यानेजर रवीन्द्र रैनाले वीरगञ्जका अन्य होटल अरु भन्दा पृथक बनाउने सोचले काम गरिएको बताए । ‘वीरगञ्ज सहर र औद्योगिक क्षेत्रको मध्य भागमा होटल छ ।दुवैतिरबाट मानिसहरु आएर सेवा लिन पायक पर्छ’ उनले भने, ‘सँगसँगै बिहारको विवाहलाई पनि तान्न सकिन्छ ।’

वीरगञ्जमा दियालो लर्डस् प्लाजापछि यो होटल दोस्रो अन्र्तराष्ट्रिय चेन होटल बनेको छ । दियालो लड्समा उद्योगी एवं पूर्व सांसद अनिल रुगंटासमेतको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment