Comments Add Comment

सिमराको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्न माग

२६ मंसिर, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्न सरकारसँग माग गरिएको छ । जीतपुर सिमरा सार्वजनिक सरोकार समितिले स्वास्थ्य केन्द्रलाई २५ शैय्याको अस्पतालमा स्तरोन्नती गर्न माग गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका मार्फत सरोकार समितिले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई माग पत्र समेत बुझाएको छ । उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरीलाई मागपत्र बुझाइएको थियो ।

एक लाख भन्दा बढी जनसंख्यासहित आर्थिक नगरीको रूपमा विकास भइरहेको सिमरामा प्राथमिक स्वास्थ्य केन्द्र समेत प्रभावकारी रुपमा सञ्चालन हुन सकिरहेको छैन । औद्योगिक क्षेत्रमा हुने घटनाहरू र राजमार्गमा हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न समेत समस्या हुने गरेको छ । कतिपय बिरामीहरुलाई उपचारका लागि वीरगञ्ज, हेटौंडा तथा चितवनतर्फ लैजाने क्रममा बाटोमै ज्यान समेत जाने गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा वर्थिङ सेन्टर समेत राम्रोसँग सञ्चालन हुन नसकेकोले गर्भवती महिलाको जाँच र सुत्केरी गराउन निजी अस्पताल वा वीरगञ्ज लगायत अन्य सहरमा जानुपर्ने बाध्यता छ । राज्य पुर्नसंरचना गर्दा उपमहानगरपालिकामा अनिवार्य २०० शैय्याको अस्पताल हुनुपर्ने भनिएपनि जीतपुर सिमरामा सरकारी अस्पताल नै छैन ।

सिमरामा २४ सैघण्टा आकस्मिक सेवा दिन सक्ने विशेषज्ञ चिकित्सक सहितको सेवा दिन सक्ने २५ शैय्याको सरकारी अस्पताल सञ्चालनमा ल्याउनु आवश्यक देखिएको सरोकार समितिका संयोजक मनोज पौडेलले जानकारी दिए ।

‘सिमरामा सरकारी अस्पताल नभएकै कारण सामान्य स्वास्थ्य समस्याका लागि पनि वीरगञ्ज वा अन्यत्र जानुपर्ने बाध्यता छ । वर्थिङ सेन्टर समेत सञ्चालन हुन नसेकेको अवस्था छ,’ उनले भने, ‘ स्वास्थ्य क्षेत्रमा देखिएको यो दुरावस्थाको अन्त्यका लागि प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्न माग गरेका हौं ।’

मागपत्र बुझ्दै उपमहानगरपालिकाकी उपप्रमुख चौधरीले आगामी कार्यपालिकाको बैठकमा अस्पतालको विषय लैजाने प्रतिबद्धता जनाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment